बाढी प्रभावितलाई पक्की घर

सावित्री बोटेलाई यसरी घर प्रवेश गराउनु भयो महानगर प्रमुख रेनु दाहालले

शनिबार, १३ माघ २०७४, १२ : ५२
सावित्री बोटेलाई यसरी घर प्रवेश गराउनु भयो महानगर प्रमुख रेनु दाहालले

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर २२ स्थित बोटेटोलमा माघ १३ गते शनिबार बिहान खुशीको वातावरण थियो । टिनको छानो भएका दुईकोठे पक्की घर लस्करै आधा दर्जन देखिन्थे । तिनै घरमध्ये एउटा घर थियो, सावित्री बोटेको । त्यही घरको बरण्डामा खम्बामा बाँधिएको रातो रिबन काटेर महानगर प्रमुख रेनु दाहालले बाढी प्रभावित परिवारकी सावित्री बोटेलाई घर प्रवेश गराउनु भयो ।

बाटेटोलमा गत साउन महिनामा आएको बाढीले डुबानमा परेका ६ घरपरिवारलाई भरतपुर महानगरपालिका, लायन्स क्लब अफ बागेश्वरी, नेपाल रेडक्रस सोसाइटी र स्थानीयवासीको सहयोगमा प्रतिघर दुई लाख रुपैयाँ खर्च गरेर ६ वटा नयाँ पक्की घर हस्तान्तरण गरिएको हो । घर प्राप्त गर्नेहरुमा बाढी प्रभावित परिवारका सावित्री बोटे, रतिया बोटे, ठगुवा बोटे, राजेन्द्र बोटे लगायत रहेका छन् ।

नवनिर्मित घरको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले गरीब, सुकुम्बासी, दलित, आदिवासी, जनजाति र असहायहरूको घर निर्माणमा निरन्तर सहयोग गर्दै जाने बताउनु भयो । महानगरको सम्भावनाको केन्द्र जगतपुर, मेघौली करिडोरको एकीकृत विकास गरेर अगाडि बढिरहेको उहाँले बताउनु भयो ।

कार्यक्रममा बोल्दै भरतपुर महानगरपालिका वडा नम्बर दुईका अध्यक्ष तथा लायन्स क्लब अफ बागेश्वरीका पूर्वअध्यक्ष पूर्णबहादुर श्रेष्ठले बोटे बस्तीमा घर निर्माणका लागि सहयोग गर्न पाउँदा खुसी लागेको बताउनु भयो । बाढी प्रभावितको घर प्रवेशको अवसरमा भरतपुर महानगरपालिका वडा नम्बर २२ का अध्यक्ष विष्णुप्रसाद महतोले वडाका समस्याहरू महानगर प्रमुख दाहाललाई अगवत गराउँदै बोटेटोलका बाढी प्रभावितहरूको बाँकी घर र खानेपानीको ब्यवस्था मिलाउन आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस