मैनदानी : अश्लीलता या कला ?

शनिबार, २१ असार २०७६, १७ : ०२
मैनदानी : अश्लीलता या कला ?

काठमाडौं । कलात्मक मूर्ति, चित्रमा कुँदिएका यौनका विभिन्न आकृति, जसलाई हरेक व्यक्तिले फरकफरक रूपमा बुझिरहेका हुन्छन् । यौन र कलाका विषयलाई समाजका केही पात्रले अश्लीलता तथा समाज बिगारेको आरोप लागाउँछन् । अर्कोतर्फ कलाका रूपमा पनि लिइरहेका छन् । कलाकारद्वारा सिर्जित नग्न कलात्मक मूर्तिलाई एकातिर कला र अर्कोतिर अश्लीलता मान्ने पक्षबीचको द्वन्द्व नाटक ‘मैनदानी ०.३’ मा उठाइएको छ । 

कथाका एक पात्र केशवले आफ्नी आमाको उपचार गरेबापत डाक्टरलाई दिने केही नभए पछि ‘मैनदानी’ (कलाकारद्वारा सिर्जित नग्न कलामाथि बनेको) दिन्छन् । डाक्टरको हातमा मैनदानी पर्नेबित्तिकै समाजले उनलाई अश्लील मूर्ति राखेको आरोप लगाउँछ । खराब व्यक्तिको संज्ञा दिन्छ । समाजका पात्रले गिज्याएकै कारण डाक्टरले सो मैनदानी राख्न मान्दैनन् । डाक्टरले साथी वकिललाई उपहारस्वरूप सो मैनदानी दिन्छन् । वकिलले घर, परिवार र समाजको डरले लिन मान्दैनन् । तर, बाध्य भएर मैनदानी राख्छ । वकिलकी साथी प्रियाले त्यस्तो मूर्तिले अश्लीलता झल्काउने र त्यस्तो मूर्ति राख्ने व्यक्तिलाई खराबको संज्ञा दिन्छिन् । अन्ततः र्‍यापर जोजोले वकिलबाट सो मैनदानी लैजान्छ । तर, पनि घुम्दै घुम्दै सो मैनदानी पुनः डाक्टरकै हातमा पुग्छ । 

चित्रकला र मुर्तिकलामा देखाइने यौनका विषयलाई कला मान्ने र अश्लीलता मान्ने पक्षबीचको द्वन्द्व नाटकको केन्द्रीय विषय बनाइएको छ । कलाकारले स्वतन्त्र कला, सिर्जनशीलता, क्षमता देखाउँदा समाजको एक पक्षले त्यसलाई अश्लीलताको नाम दिन्छ । समाजको त्यही संकुचित सोच र समाजले अश्लीलताको संज्ञा दिएका कारण महत्व बोकेका कलाकृति, मूर्ति, चित्रले महत्व पाइरहेका छैनन् । नाटकले समाजको यथार्थ चित्रण गर्छ ।

यससँगै पत्रकारिताभित्र देखिएको विकृत रूपसमेत नाटकमा देखाइएकाे छ । पछिल्लो समय बल्ग्रेती खुलेका न्यु मिडियाले आफू ट्रेन्डिङमा आउन सेलेब्रिटीको संवेदनाप्रति कसरी खेलिरहेका छन् भन्ने विषय नाटकमा उठान गरिएको छ । कसरी कलाकारको संघर्षलाई सतहमा पुर्‍याउने, कन्टेन्ट बिकाउन कस्ता स्क्यान्डल खोज्ने र भाइरल बनाउनेलगायत विषयमा मात्र अहिले मिडिया केन्द्रित रहेको नाटकमा उजागर गरिएको छ ।

सबैका दृष्टिकोण फरकफरक हुन्छ । समग्रमा नाटकले दर्शकलाई नै प्रश्न छाडेको छ, ‘मैनदानी’ : कला या अश्लीलता ?

नाटक ‘मैनदानी ०.३’ अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ । ५ साउनसम्म मञ्चन हुने नाटक रुसी साहित्यकार एन्टोन चेकोभको ‘द वर्क अफएन आर्ट’ बाट प्रभावित छ । नाटकमा कलाकार अंकित खड्का, आयान खड्का, रिजन परियार, जेनी सुनुवार, निकिता आचार्य, इंगिहोपो कोइँच सुनुवार, मिलन कार्की, देविशा लामिछाने, विकास पन्तलगातको अभिनय छ । नाटकमा  परिकल्पना र निर्देशन संयोग गुरागाईंको छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस