पशुमा कृत्रिम गर्भाधान : उन्नत जातको उत्पादन, ५० प्रतिशत सफल

सफल खबर संवाददाता

मंगलबार, १७ असार २०७६, १७ : ३०
पशुमा कृत्रिम गर्भाधान : उन्नत जातको उत्पादन, ५० प्रतिशत सफल

चितवन । गाईभैँसीमा हुँदै आएको कृत्रिम गर्भाधानबाट उन्नत जातको उत्पादन भइरहेको छ । कृत्रिम गर्भाधानका विज्ञहरुसँग भएको अन्तक्र्रियामा उन्नत जातको उत्पादनबाट दूध उत्पादनमा पनि वृद्धि भइरहेको बताइएको छ । 

प्रदेश ३ को भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरले गरेको इन्सेमिनेटर  (कृत्रिम गर्भाधान गर्ने प्राविधिक) र विज्ञहरुसँगको अन्तक्र्रियामा वक्ताहरुले कृत्रिम गर्भाधानलाई अझ विस्तार गर्नुपर्ने बताएका थिए । 

कृत्रिम गर्भाधान बढाउने उपायबारे प्राडा श्यामकिशोर शाहले कार्यपत्र प्रस्तुत गरेका थिए । उनले भने, ‘कृत्रिम गर्भाधान ५० प्रतिशतसम्म सफल भएको पाइन्छ ।’ डा शाहका अनुसार नेपालमा गरिएको अनुसन्धानले गाईमा ऋतुकाल सुरु भएको १२ देखि १५ घण्टामा कृत्रिम गर्भाधान गराउँदा गर्भ रहने दर ३१.५२ प्रतिशत र १६ देखि १९ घण्टामा गराउँदा गर्भ रहने दर ४८ प्रतिशत रहेको देखाएको छ । 

अन्तक्र्रियामा डा शाहले भने, ‘कृत्रिम गर्भाधानबाट पशुमा उन्नत जातको विकास भएको छ, गाईभैँसीबाट दूधको उत्पादन बढेको छ, यसलाई अझ फैलाउन आवश्क छ ।’ उनका अनुसार प्राकृतिक गर्भाधानभन्दा कृत्रिम गर्भाधान भरपर्दो, विश्वसनीय र गर्भ तुहिने डर पनि कम हुन्छ । 
कार्यपत्र प्रस्तुत गर्दै डा शाहले भने, ‘कृत्रिम गर्भाधान धेरै चिसो वा तातो समयमा हुन सक्दैन, वातावरणमा पनि भर पर्छ ।’ डा साहका अनुसार पशु व्याएको ४५ दिनभित्र कृत्रिम गर्भाधान गर्न सकिन्छ, तर पशु कराएको बेला हुनुपर्छ ।
पशु कराएको बेला पाठेघरको मुख खुला हुन्छ, त्यति नै बेला कृत्रिम गर्भाधान गराउन उनले सुझाव दिएका थिए ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका पशु चिकित्सक डा परशुराम फुँयालले रैथाने पशुहरु कम उत्पादनशील छन्, उनीहरुलाई कृत्रिम गर्भाधानबाट उन्नत जान बनाउन कृत्रिम गर्भाधान आवश्यक भएको बताए । 
उनले कृत्रिम गर्भाधान गर्नुअघि १५ मिनेट र पछि १५ मिनेट पशुलाई आराम गर्न दिनुपर्ने बताए । उनले भने, ‘गर्मी मौसममा कृत्रिम गर्भाधान गरेपछि चिसो पानीले नुहाइदिनुपर्छ ।’ भोलिसम्म चल्ने गोष्ठीमा चितवनका पशु चिकित्सक, विज्ञहरु, कृत्रिम गर्भाधान गराउने कर्ताहरुलगायत ४० जनाको सहभागी थियो । 

गत वर्ष  चितवन जिल्ला कृत्रिम गर्भाधानमा नेपालकै पहिलो भएको छ । पशु प्रजनन केन्द्र पोखराका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा कृत्रिम गर्भाधानमा चितवन जिल्ला पहिलो भएको हो ।
चितवन जिल्लामा गत आर्थिक वर्षमा ५१ हजार ४५५ वटा गाईभैँसीको कृत्रिम गर्भाधान भएको थियो । यसअघि आर्थिक वर्ष २०७३÷७४ मा ४६ हजार ८६८ वटा गाईभैँसीको कृत्रिम गर्भाधान भएको थियो ।

विज्ञ केन्द्रका प्राविधिक दीपचन्द्र घिमिरेले भने, ‘यस वर्षको तथ्यांक आइसकेको छैन, साउनमा आउँछ । यस वर्ष पनि चितवनमा कृत्रिम गर्भाधान बढिरहेको छ, सायद फेरि पनि चितवन पहिलो हुन सक्छ ।’ गत वर्ष कृत्रिम गर्भाधानमा दोस्रो नवलपरासी जिल्ला भएको थियो । 
 

प्रतिक्रिया दिनुहोस