पिताबारे के भन्छन् बलिउड कलाकार?

शुक्रबार, १३ असार २०७६, २१ : ४३
पिताबारे के भन्छन् बलिउड कलाकार?

सलमान खान
मेरा बाबा सलिम खानको ‘सेन्स अफ ह्युमर’ गजब छ। उहाँ हसाइराख्नुहुन्छ। यो उमेरमा पनि उहाँ फिट हुनुहुन्छ। मैले उहाँबाट फिटनेससम्बन्धी धेरै कुरा सिकेको छु। उहाँ समयको हेक्का राख्नुहुन्छ। मैले उहाँबाट यो गुण चाहिँ सिक्न सकिनँ।  

बाल्यकालमा म साह्रै चकचके थिएँ। आफ्ना भाइबहिनीमध्ये सबैभन्दा धेरै कुटाइ मैले खाएको छु। किशोरावस्थामा कैयौँ पटक पापालाई सोध्दै नसोधी उहाँको कार लिएर गएको छु। बाबाबाट धेरै हप्काइ खाएको छु। 

मैले बुबाबाट धेरै कुरा सिकेको छु। कुनै बेला उहाँको हातमा कुनै फिल्म थिएन। हाम्रो परिवार चार–पाँच वर्ष असाध्यै कठिन ढंगले बाँचेको थियो। अभाव थियो। त्यतिबेला मैले पापाबाट अभावमा कसरी बाँच्नुपर्छ, सिकेको थिएँ। 

शाहरुख खान 
मेरा पिता ताज मोहम्मद खान मुखको क्यान्सरबाट ग्रस्त हुनुहुन्थ्यो। उहाँ राम्ररी बोल्न सक्नुहुन्थ्यो। उहाँको साथमा हमेशा एउटा डायरी हुन्थ्यो। त्यसैमा लेखेर हामीसँग कुराकानी गर्नुहुन्थ्यो। 

बाबाको डायरी मैले सम्हालेर राखेको छु। त्यो हामी बाउ–छोराको सम्बन्धको महत्त्वपूर्ण कडी हो। उहाँ सन् १९८१ मा बित्नुभयो। तर, उहाँको डायरीले मलाई आजसम्म उहाँको उपस्थितिको बोध गराइरहेको छ। 

शाहिद कपुर 
म दुई सन्तानको बाबु हुँ। एक छोरी र एक छोराले मलाई पिता हुनुको अर्थ बुझाएका छन्। म बच्चाहरूसँग समय बिताउँदा साह्रै खुशी हुन्छु। उनीहरूसँग मेरा पिता पंकज कपुरले खेलेको देख्दा झन् खुशी हुन्छु। 

बुबासँग मेरो धेरै गफगाफ हुँदैन। तर, हामीबीच एउटा अलग खालको ‘बन्डिङ’ छ। उहाँलाई जब मेरो कामबारे कुरा गर्ने मन हुन्छ, हामी बाहिर कफी खान जान्छौँ। त्यहाँ उहाँ मलाई मेरा खुबी र कमजोरीबारे बताउनुहुन्छ। अभिनेताका रूपमा उहाँले सँगालेको लामो अनुभवबाट मैले धेरै कुरा सिक्ने मौका पाएको छु। 

कट्रिना कैफ
बुबा बित्नुभएको धेरै भयो। म उहाँलाई जिन्दगीभर मिस गरिरहनेछु। छोरीको जीवनमा बाबुको स्थान महत्त्वपूर्ण हुन्छ। त्यो स्थान अरू कसैले लिन सक्दैन, भर्न सक्दैन। 

कहिलेकाहीँ मसँग भन्नका लागि धेरै कुरा हुन्छन्। कसलाई भनुँ भनेर उकुसमुकुस हुन्छ। सोच्छु– बुबा भएको भए म उहाँसँग कति कुरा सेयर गर्थें होला। 

मलाई लाग्छ– छोरीहरू बाबुसँग बढी ‘अट्याच्ड’ हुन्छन्। बाउ–छोरीको सम्बन्ध खास र फरक हुन्छ। बुबा बितेपछि मैले त्यो खास सम्बन्धको मिठास गुमाएकी छु। परिवारको कुरा चल्नेबित्तिकै मलाई बुबाको अनुपस्थितिको एक खालको रित्तोपनले छोप्ने गर्छ। 

मिजान जाफरी 
मेरो बुबा जावेद जाफरीलाई संसारले हास्य कलाकारका रूपमा चिन्छ। तर, उहाँ वास्तविक जीवनमा एकदमै गम्भीर खालको मान्छे हुनुहुन्छ। उहाँ मेरो पढाइलाई लिएर धेरै चिन्तित हुनुहुन्छ। मैले उहाँलाई पढाइ छोडेर फिल्ममेकिङमा लाग्न चाहन्छु भनेको थिएँ। उहाँ रिसाउनुभयो। फिल्म निर्माणको अनुभव लिन म फिल्म ‘पद्मावत’को टिमसँग जोडिएँ। मेरो कदमले उहाँलाई खुशी बनाएन। मैले अभिनयमा करिअर बनाउन चाहेको बताएपछि उहाँको एउटै सल्लाह थियो– ‘कहिल्यै आफ्नो जरा नभुल्नू !’ सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस