एसईई नतिजा : अन्तिम रुजु र क्रस चेकिङको काम

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, १७ : २८
एसईई नतिजा : अन्तिम रुजु र क्रस चेकिङको काम

काठमाडौँ । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशनको अन्तिम तयारीमा पुगेको छ ।  बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले भोलि बिहीबारसम्म नतिजा आउन सक्ने सम्भावना रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘अन्तिम रुजु र क्रस चेकिङको काम भइरहेको छ, सकिनासाथ नतिजा सार्वजनिक हुन्छ ।’

परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बस्नुपर्ने बताउनुभयो । उहाँले हालसम्म बोर्डको बैठक नबसेको जानकारी दिनुभयो । 

कर्मचारीहरुले नतिजा सार्वजनिकका लागि अन्तिम रुजु र क्रस चेकिङको काम गरिरहेका छन्। कुनै प्राविधिक समस्या उत्पन्न नभए भोलि बिहीबार रिजल्ट सार्वजनिक हुने सम्भावना बढी रहेको अधिकारीले जनाए। ‘कम्प्युटरमा प्रविधिकहरु डाटा इन्ट्रीसँगै रुजु गरिरहेका छन,’ उहाँले भन्नुभयो ।  

गतवर्ष नतिजा प्रकाशन गर्दा करिब ९ हजार विद्यार्थीको ग्रेडसिटमा समस्या देखिएकाले यसपाली रिजल्ट सार्वजनिकमा हतार नगर्ने मनस्थितिमा बोर्डका कर्मचारीहरु रहेका छन्।  गतवर्ष जस्तो त्रुटी नहोस् भनेर उच्च सर्तकता अपनाइएको बोर्डका सदस्यहरुले जानकारी दिए । 

मुलुकभरबाट ४ लाख ७५ हजार विद्यार्थी एसईई परीक्षामा सहभागी थिए। चैत १० गतेदेखि एक हजार ९ सय ६९ केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। गतवर्ष असार ९ गते रिजल्ट भएको थियो। यस वर्ष केही ढिला भइसकेको छ । 

प्रतिक्रिया दिनुहोस