यसरी किनारा लाग्यो ‘गलबन्दी’ गीतको विवाद

अन्ततः राई र सपुतबीच चार बुँदे सहमति

सफल खबर संवाददाता

बुधबार, ११ असार २०७६, १६ : ०४
यसरी किनारा लाग्यो ‘गलबन्दी’ गीतको विवाद

 

काठमाडौं । ‘गलबन्दी’ गीतको विवाद किनारा लागेको छ  । गलबन्दी च्यातियो बोलको गीतका गायक प्रकाश सपुत र सोही गीतमा आफ्नो देउसीभैलो गीतको लय मिसिएको भन्दै आएका शम्भु राईबीच ४ बुँदे सहमति भएको छ ।

प्रतिलिपि अधिकार रजिस्टारको कार्यलयममा भएको छलफलले दुई जनाबीचको सहमति भएको हो । सहमतिसँगै गलबन्दी गीतको विवादले किनारा पाएको छ । 

राई र सपुतवीच ४ बुँदे सहमतिअनुसार अब युटुबमा ‘गलबन्दी’ बोलको गीतको संगीत सिर्जनामा शम्भु राईको नाम समावेश हुनेछ । पुनः संगीत सिर्जनामा प्रकाश सपुतको नाम पनि समावेश गरिनेछ । 

प्रकाशन गरिने क्षेत्रमा भने शम्भु राईको नाम समावेश गरी प्रकाशन गर्ने सहमति भएको छ । यस्तै, ‘गलबन्दी’ बोलको गीतको हालसम्मको तथा अब उप्रान्त कुनै पनि माध्यमबाट प्राप्त हुने आर्थिक अधिकार, प्रतिलिपि अधिकार, श्रष्टा, उत्पादक तथा प्रस्तोताले पाउने रोयल्टीमा प्रकाश सुपतकै अधिकार रहनेछ ।

‘गलबन्दी’ गीत सार्वजनिक भएसँगै गायक शम्भु राईले यसमा समावेश भाका आफ्नो आवाजमा समावेश ‘देउसी भैली’ गीतको लयसँग मिलेको भन्दै प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यलयमा उजुरी दर्ता गरेपछि दुई जनाबीच सहमति भएको हो ।

यसअघि दुवै जनाबीच मिडियामा आरोप्रत्यारोपसमेत चलेको थियो । लामो समयको छलफलपश्चात पनि सहमति हुन नसकेको भन्दै शम्भुले कानुनी ढोका ढक्ढकाएका थिए । सहमतिसँगै शम्भु राईले कानुनी उपचार खोज्दै प्रतिलिपि अधिकारको रजिस्टारको कार्यलयमा दिएको उजुरी फिर्ता लिने भएको छ । गलबन्दी गीतको विवाद संसदसम्म पुगेको थियो । 


 

प्रतिक्रिया दिनुहोस