यी हुन् आनन्दित रहने जीवनकला

बुधबार, ११ असार २०७६, ०९ : ०६
यी हुन् आनन्दित रहने जीवनकला

काठमाडौं । भनिन्छ, हरेक मानिसले आफूभित्र आनन्दको फूल लिएर जन्मेको हुन्छ । हामी देख्न सक्छौँ, बालबालिकालाई कसले के भन्दै छ, के गर्दै छ, कुनै मतलब हुँदैन । उनीहरू हरेक वस्तु र अवस्थाको मज्जा आफ्नै धुनमा लिइरहेका हुन्छन् । यसबाट बुझ्न सकिन्छ, आनन्दित अवस्थामा रहनु मानिसको मौलिकता हो । तर, वयस्क भएपछि लाखौँ मानिसमध्ये केहीले मात्र आनन्दको अनुभूति गर्छन् । कारण, हामी वयस्क हुँदै जाँदा आफ्नो अस्तित्व भौतिक चिजसँग लगेर जोड्छौँ । सारा कुरा मैले भनेजस्तो र सोचेजस्तो हुनुपर्छ भन्ने हामी सोच्छौँ । जसले हामीलाई आनन्दित रहने मौलिकताको नजिक आउन दिँदैन । जन्मिँदै ल्याएको र बालापनमा अनुभवसमेत गरेको, तर वयस्क हुँदै जाँदा हराएको आनन्द पुनः प्राप्त गर्न चाहनेले निम्न जीवनकला अपनाउन जरुरी छ । 

जीवन बुझ्नुहोस्,  आफैँसँग नाता जोड्नुहोस्  
उमेरका हिसाबले परिपक्व भइसकेका मानिस पनि जीवन वास्तवमा के हो ? भन्ने प्रश्नमै अल्मलिएका हुन्छन् ।  जीवन न त जन्म र मृत्युबीचको अवधि हो न त अनुभवको पोको ।  जीवन सम्बन्ध, करिअर, जागिर, पैसा वा भौतिक चिजको प्राप्ति पनि होइन । आज र अहिले तपाईं अतित्वमा हुनुहुन्छ, यही हो जीवन । महसुस गर्न सक्यो भने पलपलमा जीवन छ । त्यसैले जो जीवित छ, त्यो चलायमान छ । सबैभन्दा महत्वपूर्ण बाँच्नु हो । अन्य सबै भौतिक वस्तु जीवन सहज बनाउन गरिएका आयोजना मात्र । आयोजनाका लागि जीवनसँग सम्झौता गर्नुहुँदैन । यस्तो सम्झौताले हामीलाई जीवनबाट पर–पर लैजान्छ ।

जीवनसँग जति दूरी बढ्यो त्यति अस्थिर हुन्छौँ, हामी । अस्थिरता नै पीडाको कारण हो । त्यस्तै, हामीलाई अरूसँग कसरी सम्बन्ध गाँस्ने सिकाइएको छ, तर आफैँसँग अपरिचित रहन्छौँ, हामी । आफैँसँग नाता गाँस्न के गर्ने त ? जब हामी बाहिरी संसारबाट ध्यान हटाई भित्र केन्द्रित हुन्छौँ, तब आफ्नो सम्पर्कमा आउछौँ । यसका लागि मौन बस्ने, ध्यान गर्नेजस्ता अभ्यास निकै फलदायी हुन्छन् । आफैसँग नाता जोडिएपछि अनावश्यक कुराले बिस्तारै हाम्रो जीवनबाट बिदा लिन थाल्छ । किनकि, आनन्द बाहिर होइन, भित्र छ । त्यसैले, बाहिरी संसारबाट ध्यान हटाएर भित्री बोधका साथ जोडिन कोसिस गर्नुपर्छ । जीवन हामीभित्रै छ, मात्र महसुस गर्नुहोस् । 

आज बाँच्नुहोस्
आज र अहिले बाँच्नुहोस्, जीवन जिउने सर्वोत्तम तरिका यही हो । हिजो जे भयो मृत्यु भइसकेको छ, त्यसबाट प्राप्त हुने शिक्षा मात्र हो । भोलि कस्तो हुनेछ, त्यसको टुंगो छैन । तर, भोलिको त्रासबाट मुक्त हुनुहोस् । किनकि, हिजोको कर्मले आजको निर्माण गरेजस्तै आजको कर्मले नै भोलि तयार गर्ने हो । कर्म बन्धनबाट मुक्त भएको कर्मशीलताले आजले मात्र सुनौलो भोलिको निर्माण गर्छ । तसर्थ, आफ्नो पूरा ध्यान आजमा लगाउनुहोस् । आजमा बाँच्नु भनेकोे विगतमा घटेका नमीठा घटनाक्रमको तिक्ततालाई बिर्सनु मात्र होइन । योभन्दा अघि कुनै व्यक्ति या वस्तुप्रति बनाएको दृष्टिकोण र भविष्यको भयबाट पूर्ण मुक्त हुनुपर्छ । त्यसपछि हरेक क्षण व्यक्ति, परिस्थिति वा वस्तुसँग ताजा सम्बन्ध बनाउनु हो । यसो गर्न सक्यो भने हरेक चिज र परिस्थिति नौलो हुन्छ । नौलो चिजले जीवनमा आनन्द दिन्छन् ।
 
आवश्यक कर्ममा  मात्र सक्रिय हुनुहोस्
हामीले भोग्नुपरेका अधिकांश तनाव गर्नुपर्ने काम नगरेरभन्दा नगर्नुपर्ने काम गरेर, बोल्नुपर्ने कुरा नबोलेरभन्दा नबोल्नुपर्ने कुरा बोलेर सिर्जना भएका हुन्छन् । त्यसैले, कुनै पनि काम गर्नु र केही बोल्नुअघि यो आवश्यक छ/छैन आफैँसँग प्रश्न गर्नुहोस् । र, आवश्यक भए मात्र काममा सक्रिय हुनुहोस् । अनावश्यक कृत्यले नचाहिने तनाव सिर्जना गर्छ । तनावमा हुनु भनेको अस्थिर हुनु हो र अस्थिरताले मानिसलाई आनन्दको अनुभुतिबाट टाढा लैजान्छ । 

सधैँ स्वीकार भाव राख्नुहोस् 
जे भइरहेछ वा भयो, सोप्रति कुनै गुनासो मनमा नरहनु पूर्ण स्वीकार भाव हो । अर्को शब्दमा स्वीकार भाव भनेको यो हुनुपर्ने भएन या यो नहुनुपर्ने भयो भनेर अड्केर नबसी, अघि बढ्नु हो । हामीलाई कसैले अन्याय ग(यो भन्ने लाग्यो, तर मनमा त्यो व्यक्तिप्रति प्रतिशोधको भाव आउँदैन भने त्यो साँचो स्वीकार भाव हो । जीवनमा केही घटना अनुकूल हुन्छन् त कतिपय प्रतिकूल पनि हुन्छन् । अनुकूल भएको घटनालाई धन्यवाद दिएर, प्रतिकूल भएको घटनाबाट शिक्षा लिएर  अघि बढ्नुहोस् ।

कुनै कुरा पनि शाश्वत छैन भन्ने मनन गर्नुहोस् 
तपाईं अहिले जीवित हुनुहन्छ, सबैभन्दा महत्वपूर्ण कुरा यही हो । अनि तपाईं  सधैँ जीवित रहनुहुने छैन, सबैभन्दा ठूलो सत्य पनि यही हो । त्यस्तै, तपाईं  अहिले कठिनाइमा हुनुहुन्छ भने कठिनाइ सधैँ रहने छैन । तपाईं सुखसयलमा हुनुहुन्छ भने पनि यो सधैँ  रहने छैन । यस संसारमा केही पनि शाश्वत छैन, न तपाईं , न घटनाक्रम । सबैभन्दा ठूलो होस यही हो । त्यसैले शाश्वत नभएको चिजको पछि लागेर व्यर्थ चिन्ता नगर्नुहोस्, समय बदलिन्छ । –नया पत्रिकाबाट
 

प्रतिक्रिया दिनुहोस