म भद्रगोलमा आउनुभन्दा अघि हेरेकै थिइनँ : रक्षा श्रेष्ठ

मंगलबार, १० असार २०७६, १६ : ५८
म भद्रगोलमा आउनुभन्दा अघि हेरेकै थिइनँ : रक्षा श्रेष्ठ

काठमाडाैं । अभिनय गर्छु भन्ने कहिल्यै थिएन । म संयोगले आएकी हुँ । भद्रगोलमा आउनुअघि विज्ञापनहरूमा काम गर्थें । करिब २० वटा विज्ञापनमा काम गरिसकेकी थिएँ । म सिक्किम जाने तयारीमा थिएँ । हाम्रो साथीहरूसँग सिटी सेन्टरमा मिटिङ थियो । भद्रगोलको टिम पनि त्यहीँ हुनुहुँदोरहेछ । संयोगवश उहाँहरूले मलाई अफर गर्नुभयो । तर, मैले भद्रगोलको नाम पनि सुनेकी थिइनँ । उहाँहरूले अफर गरेपछि राम्रै होला भन्ने लाग्यो । साथीभाइले पनि काम गर्ने सल्लाह दिए । अनि अडिसन दिएँ । त्यसपछि पक्का भयो । 

एक भाग खेलेपछि नै मलाई मान्छेले चिन्छन् भन्ने लागेको थिएन । तर, तुरुन्तै चिनिएँ । दर्शकको माया पाएँ । राम्रो प्रतिक्रिया आयो । त्यसपछि लगातार काम गरिरहेँ । म्युजिक भिडियोका लागि पनि अफर आए । धेरैमा काम पनि गरेँ ।

भद्रगोलमा जस्तो देखिन्छु, वास्तवमा त्यस्तो छैन । भद्रगोलमा त छुच्ची छु । कुमारलाई ‘खाली तिमीलाई गाली गर्नुपर्ने भूमिका मात्र दिन्छौ’ भनेर जिस्क्याउँछु पनि । वास्तवमा म रमाइलो गरिरहनुपर्ने खालकी छु । अहिले भद्रगोलमै रमाइरहेकी छु । कहिलेसम्म हुन्छु भन्न सक्दिनँ ।  - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस