मकैमा दाना लागेन, राहतको पर्खाइमा पीडित किसान

सफल खबर संवाददाता

सोमबार, ०९ असार २०७६, १६ : ५०
मकैमा दाना लागेन, राहतको पर्खाइमा पीडित किसान

चितवन । भरतपुर महानगरपालिका वडा नं ६ का किसानले लगाएको श्रेष्ठा जातको मकैमा दाना नै लागेन । तापक्रम नमिल्दा मकैमा दाना नै नलागेपछि किसानले मकैबारी जोताए । मकै गाईवस्तुलाई खुवाए । बर्खा सुरु भइसकेको हुनाले पीडित किसान यतिबेला दाना नलागेको मकै बारी जोतेर धान लगाउने तयारीमा जुटिरहेका छन् । 

मकैमा दाना नलागेर पीडित बनेका किसानमध्ये ऋषिराम चापागाईँ पनि एक हुन् । उनले ६ कठ्ठामा श्रेष्ठा जातको मकै लगाएका थिए । किसान चापागाईंले दाना नलागेपछि मकैको ढोड गाईवस्तुलाई खुवाएको र बारी अर्को खेती लगाउन जोतिसकेको बताउँछन् । उनी भन्छन्, ‘मेरो मात्र होइन, वडा नं ६ का २१ जना किसानले लगाएको श्रेष्ठा जातको मकैमा दाना लागेन, राहतको लागि दबाब दिएका छौँ ।’ उनले कृषि ज्ञान केन्द्रमा राहतको लागि निवेदन दिएको बताए । 

भाँच्ने बेलाको मकैका घोगामा दाना नदेखेपछि भरतपुर–६, केशरबागका अर्का किसान कृष्णप्रसाद तिमिल्सेनाले पनि बारी जोतेका छन् । उनी भन्छन्, ‘१६ कठ्ठा भाडामा लिएर झन्डै ५० हजार लागतमा श्रेष्ठा जातको मकै लगाएको दाना नै लागेन, राहत त मागिरहेका छौँ, तर पाएका छैनौँ ।’ १६ कठ्ठामा २ लाख ५० हजारको मकै बेच्ने सुरसारमा थिए उनी, तर उनको सपना सबै उडायो । उनी भन्छन्, ‘मकै बेचेर हुने फाइदा त गयो, लागत आउने गरी राहत पाउन पाए हुने थियो, कृषि ज्ञान केन्द्रमा निवेदन हालेका छौँ ।’
कृषि ज्ञान केन्द्र चितवनले झन्डै आठ कठ्ठामा लगाइएको श्रेष्ठा जातको मकैमा दाना नलागेको जानकारी दिएको छ । केन्द्रका अनुसार २१ जना किसान पीडित छन् । ज्ञान केन्द्रका बाली विकास अधिकृत माधव पौडेलले किसानले तापक्रम छल्न नसक्दा मकैमा दाना नलागेको बताए । उनले भने, ‘बीउ कम्पनीले पनि तापक्रम छलेर लगाउने सूचना किसानलाई दिएन, जसका कारण यो समस्या आएको हो ।’ 

किसानलाई राहतको लागि बीउ कम्पनीसँग कुरा भइरहेको उनको भनाइ थियो । अधिकृत पौडेलले भने, ‘किसान समस्यामा छन्, राहत पाउनुपर्छ, हामीले बीउ कम्पनीसँग कुरा गरिरहेका छौँ, राहत दिन सफल भइसकेका छैनौँ ।’ किसानका अनुसार मकै लगाउँदा एक कठ्ठामा ३१ सय रुपैयाँ लागत लागेको छ । 

‘श्रेष्ठा जातको हाइब्रिड मकै गएका वर्षहरुमा धेरै फलेको हुनाले किसानले यही मकै लगाए तर तापक्रम नमिल्दा दाना लागेन’ ज्ञान केन्द्रका बालि विकास अधिकृत पौडेलले भने, ‘किसानले फागुनमा यो मकै लगाएका हुन्, त्यही महिनाको १५ दिन अघि वा पछि यो जातको मकै लगाएको भए राम्रो हुने थियो ।’ उनले मकैको जातमा कुनै कमजोरी नरहेको खाली तापक्रम नमिल्दा यस्तो असर परेको बताए । उनले नेपालमै विकास गरेको मकैको जात लगाउन सुझाव दिए । श्रेष्ठा जातको हाइब्रिड मकै कम्पनी नुजिविड सिड्स लिमिटेड भारतले उत्पादन गरेको हो ।


 

प्रतिक्रिया दिनुहोस