समयमै चिनौँ मेनेन्जाइटिस

सोमबार, ०९ असार २०७६, १२ : ५४
समयमै चिनौँ मेनेन्जाइटिस

- डा. विक्रम गजुरेल, नसारोग विशेषज्ञ त्रिवि शिक्षण अस्पताल
काठमाडाैं । दिमागबाट आउने मुख्य नसा जसलाई स्पाइनल कर्ड भनिन्छ । स्पाइनल कर्डवरपर झिल्ली हुन्छन् । ती झिल्लीमा संक्रमण भएमा मेनेन्जाइटिस हुन्छ । नेपालमा मेन्जाइटिसको अवस्थाबारे खासै अध्ययन भएको छैन । त्रिवि शिक्षण अस्पतालको गत वर्षको तथ्यांकअनुसार न्युरोसम्बन्धी उपचाररत सात सय बिरामीमध्ये एक सयमा मेनेन्जाइटिस देखिएको थियो । 

रोग लाग्ने कारण 

- मेनेन्जाइटिस सामान्यतया भाइरल इन्फेक्सनको कारणले हुने गर्छ । यसबाहेक,  विभिन्न रोग, चोटपटक, क्यान्सर, निश्चित औषधि सेवन पनि यसका कारक हुन् । 
- सेप्सिस, दिमागमा हुने टिबी, एचआइभी एड्स, अंग प्रत्यारोपण गरेका व्यक्तिमा प्रयोग गरिने औषधि, ढुसी (फंगल) रोग र प्रतिरोधी क्षमता घटाउने रोगका कारण मेनेन्जाइटिस हुने गर्छ ।

लक्षण 

- मेनेन्जाइटिस भन्नेबितिकै मस्तिष्क ज्वरोसँग जोडिएर आँउछ । मेनेन्जाइटिस हुँदा अत्यधिक टाउको दुख्ने, लगातार बान्ता हुने, निहुरिन गाह्रो हुने अर्थात् चिउँडोले छाती छुन नसक्ने आदि हुन्छ । 
- सामान्यतया मस्तिष्कले शरीरलाई नियन्त्रण गर्ने भएकाले मेन्जाइटिस हुँदा बेहोस हुने, छारेरोगको लक्षण देखापर्ने आदिजस्ता समस्या देखिन्छन् । 

उपचार

- समयमै पत्ता लगाएर मेनेन्जाइटिसकोे उपचार गरेमा ८० प्रतिशतसम्म यो पूर्ण रूपमा सन्चो हुन सक्छ । 
- रोगको अवस्था वा प्रकार हेरेर यसको उपचार गरिन्छ । अधिकांशमा देखिने भनेको भाइरस मेनेन्जाइटिस हो । एचआइभी इन्फेक्सनबाहेक अन्य भाइरसका कारण भएको मेनेन्जाइटिस निको हुन्छ । उदाहरणका लागि, टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने खालका लक्षण भएको अवस्थामा सामान्य औषधि खाएर नै उपचार सम्भव छ । 
- ब्याक्टेरियल मेनेन्जाइटिस भएको अवस्थामा चिकित्सकको निगरानीमा एन्टिबायोटिक इन्जेक्सनबाट उपचार गरिन्छ । यसका लागि बिरामीको अवस्था हेरेर कम्तीमा १० दिनसमय अस्पताल बस्नुपर्ने हुन्छ । - नयाँ पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस