खरको छानो विस्थापित गर्दै भरतपुर महानगर

सफल खबर संवाददाता

आइतबार, ०८ असार २०७६, १७ : ४०
खरको छानो विस्थापित गर्दै भरतपुर महानगर

चितवन । भरतपुर महानगरपालिकाले खरको छानो भएको घरलाई विस्थापित गर्ने भएको छ । यही चालु आर्थिक वर्ष भरतपुर महानगरपालिकाले २०० खरको छानो भएका घरलाई विस्थापित गर्ने भएको छ । ती घरहरुमा खरको छानो हटाएर जस्ता पाताको प्रयोग गरिने भएको छ ।  

महानगरपालिका प्रमुख रेनु दाहालले यही वर्ष २०० खरको छानो भएको घरलाई जस्ता दिने तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘भरतपुर महानगरपालिकामा रहेका खरको छानो भएका सबै घरलाई विस्थापित गर्ने योजना छ, तर यो वर्ष सबै घरलाई सकिँदैन ।’ महानगर प्रमुख दाहालले क्रमशः सबै घरको छानोलाई विस्थापित गरी जस्ता पाताको प्रयोग गरिने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘यो वर्ष २०० घरलाई जस्ता पाता दिन्छौँ, बाँकीलाई क्रमशः दिँदै महानगरलाई खरको छानोबाट मुक्त पार्नेछौँ ।’ भरतपुर महानगरपालिकाले महानगरभित्रका सबै वडामा १ हजार ४१ वटा खरको छानो रहेको जानकारी दिएको छ । 

महानगर विपद् शाखा प्रमुख झलककुमार श्रेष्ठले चालु आर्थिक वर्ष वडा नं २० देखि २९ सम्मका वडामा रहेका २०० खरका छाना भएका घरधनीहरुलाई सहरी विकास मन्त्रालयबाट आउने सहयोगले जस्ता उपलव्ध गराइने बताउनुभयो । उहाँले भन्नुभयो, ‘असार २९ गतेसम्म २०० घरलाई जस्ता दिने योजना बनाएका छौँ, असार २० गतेबाट जस्तापाता दिन थालिनेछ ।’

महानगरले जस्तापाता उपलव्ध गराए पनि घरमा जडान खर्च व्यक्ति आफैँले गर्नुपर्ने जनाएको छ । महानगरमा रहेका सबै खरको छानो भएकाहरुले जस्तापाताको लागि आवेदन हालेका थिए ।  प्रमुख श्रेष्ठले भने, ‘यो वर्ष २०० घरले जस्ता पाता पाउँछन्, बाँकी खरको छानो भएका घरहरुलाई आगामी वर्षहरुमा जस्तापाता उपलव्ध गराइनेछ ।

प्रतिक्रिया दिनुहोस