मेरो टोपी अब बिर्के !

विहीबार, ०५ असार २०७६, १३ : ४५
मेरो टोपी अब बिर्के !

तनहुँ । तनहुँ भानु नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले अब अनिवार्य रुपमा बिर्के टोपी लगाउनुपर्ने भएको छ । 
आदिकवि भानुभक्त आचार्यको नामबाट नगरपालिकाको नाम राखेको तनहुँको भानु नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीलाई बिर्के टोपी अनिवार्य लगाउनुपर्ने नियम बनाएको छ । यो नियमसँगै नगरपालिकाका कर्मचारीदेखि जनप्रतिनिधिको शिरमा बिर्के टोपी सजिएको छ । 

असार १ गतेदेखि जनप्रतिनिधि, कर्मचारीले भानुभक्तले लगाएका बिर्के टोपी लगाउन थालेका छन् । आदिकवि भानुभक्तको पहिचान, प्रचारप्रसार र उनको सम्मानका लागि बिर्के टोपी लगाउने नियम ल्याएको मेयर उदयराज गौलीले जानकारी दिनुभयो । 

‘जनप्रतिनिधिले मात्र होइन नगरपालिकाभित्र र वडाभित्र रहेका कर्मचारी ६५ जनाले भानुभक्तको जस्तै बिर्के टोपी लगाएर कार्यालय आएका छन् । दमौलीस्थित निखिल ढाकाटोपी उद्योगले बिर्के टोपीको उत्पादन गर्छ, जनप्रतिनिधिहरु तथा कर्मचारीले सोही उद्योगमा गएर बिर्के टोपी लगाएका हुन् । 

नगरपालिकाले सीपमूलक तालिम सञ्चालन गरी बिर्के टोपी उत्पादनको काम छिट्टै सुरू गर्ने योजना पनि बनाएको छ । नगरपालिका आएका पाहुनालाई समेत उपहारमा बिर्के टोपी दिने गरिएको छ । ‘बिर्के टोपीले आदिकविको पहिचानलाई जिवन्त राख्नेदेखि नगरभित्रको व्यवसायलाई पनि फाइदा पुर्‍याउँछ,’ मेयर गौलीले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस