यसरी गर्ने परीक्षाको तयारी, विद्यार्थीले जान्नै पर्ने कुरा

बुधबार, ०४ असार २०७६, ०८ : ४४
यसरी गर्ने परीक्षाको तयारी, विद्यार्थीले जान्नै पर्ने कुरा

- महेश पौड्याल, उपप्राध्यापक त्रिभुवन विश्वविद्यालय, अंग्रेजी विभाग
काठमाडौँ । अहिले परीक्षाको मौसम छ । विद्यार्थीको ध्यान कसरी राम्रो नतिजा ल्याउने भन्नेमै केन्द्रित छ । तर, परीक्षाको समय अधिकांश विद्यार्थीका लागि तनावपूर्ण हुने गर्छ । जुनसुकै तहको परीक्षाको तयारी गरिरहेका विद्यार्थीले पनि केही सजगता अपनाउनुपर्छ । अब जानौँ, केही टिप्स । 

प्रशस्त समय लिने
अधिकांश विद्यार्थीमा परीक्षा नजिकिँदै गर्दा मात्र पढ्ने प्रवृत्ति छ । जसले गर्दा उनीहरूले छोटो समयमा धेरै पढ्नुपर्ने भएकाले भार महसुस हुन्छ । छोटो समयमा परीक्षाको तयारी गर्दा स्मरण गर्न पनि गाह्रो हुने भएकाले परीक्षामा सोचेजस्तो रिजल्ट आउन मुस्किल हुन्छ । तसर्थ पहिलेदेखि नै पढ्ने बानी बसाल्नुपर्छ । 

पाठ्यपुस्तक पढ्ने
परीक्षामा पास हुनु मात्रै पूर्ण सफलता भएको मानिँदैन, तर परीक्षा उत्तीर्ण गर्नु नै पहिलो खुड्किलो हो । पाठ्यपुस्तकभन्दा बाहिर पुस्तकमा बढी भर पर्नुहँुदैन । तोकेको पाठ्यपुस्तक राम्ररी अध्ययन गर्ने हो भने परीक्षामा सफल हुन सकिन्छ । तर, हामीमाझ गाइड, गेसपेपरजस्ता अन्य सामग्रीमा बढी भर पर्ने बानीले आत्मविश्वास घटाउँदै लगेको पाइन्छ । तसर्थ पाठ्यपुस्तकको पूर्ण अध्ययन गर्नुहोस् । परीक्षा सजिलै पास गर्न सकिन्छ ।

लेखेर अध्ययन गर्ने
विषयवस्तु  कण्ठ गर्ने वा पाठ वाचन गर्ने शैली स्मरणका लागि प्रभावकारी हुँदैन । लामो समयसम्म स्मरण गर्न लेखेर पढ्ने विधि उपयुक्त हुन्छ । परीक्षाको शैलीमा लेख्ने गर्दा अभ्यास हुनुका साथै आत्मविश्वास पनि बढ्छ । 

आराम गर्ने
परीक्षाको अगाडिको दिन आराम गर्नुपर्छ । त्यो समयमा बिर्सिएका कुरा पुनः स्मरणका लागि हल्का पढ्न सकिन्छ । तर, त्यो समयमा तनाव लिने, धेरै पढ्ने, नसुतेर रातभर पढ्नेजस्ता क्रियाकलाप भने गर्नुहुँदैन । यसरी पढेका सामग्री छिटो बिर्सने र चाप लिएर पढ्दा आत्मविश्वास पनि घटेर जान्छ । तसर्थ परीक्षाको समयमा फ्रेस महसुस गर्नुपर्छ, दिमागलाई शान्त राख्नुपर्छ ।

स्पष्ट लेख्ने
परीक्षाको प्रस्तुति राम्रो हुन जरुरी छ । लेखाइले अर्काको मन जित्न सक्नुपर्छ । अर्थात् परीक्षाको कपी स्पस्ट लेख्ने, अनुच्छेद मिलाएर लेख्ने, धेरै लामो वा धेरै छोटो उत्तर नदिने गर्नुपर्छ । परीक्षामा दिइने प्रस्तुतिले रिजल्टमा धेरै फरक पार्ने भएकाले लेखाई सँगै प्रस्तुतिमा एकदमै ध्यान दिनुपर्छ । विद्यार्थीको ज्ञान कुनै लेखाइ र विषयवस्तुको निश्चित उत्तरमा मात्र सीमित हुँदैन । यसमा विद्यार्थीको लेख्ने शैलीले पनि निकै प्रभाव पार्छ । 

निर्देशनलाई ध्यान दिने
प्रश्नपत्रमा दिइएका निर्देशनमा ध्यान दिनुपर्छ । यदि कुनै प्रश्न १० पूर्णांकको छ भने उक्त प्रश्नको उत्तर कुनै १० विषयमा वर्णन गर्नुपर्ने हो भन्ने कुरा बुझ्न जरुरी छ । लामो उत्तर लेख्दा मात्र बढी नम्बर आउने होइन । तसर्थ प्रश्नले मागेका आधारमा उत्तर दिनुपर्छ । जसले गर्दा उत्तर स्पस्ट हुने भएकाले नम्बर संख्या पनि बढेर जान्छ । –नया पत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस