अनुदानको मलमा सहकारीको रजाईं, कृषकका नाममा लगेको मल एग्रोभेटहरुलाई विक्री

प्रकाश सिग्देल

मंगलबार, ०३ असार २०७६, १९ : २४
अनुदानको मलमा सहकारीको रजाईं, कृषकका नाममा लगेको मल एग्रोभेटहरुलाई विक्री

 – प्रकाश सिग्देल
चितवन । सहकारीले विक्री गर्ने मलको मूल्य निर्धारण गर्नु आवश्यक देखिएको किसानहरुले बताएका छन् । साल्ट ट्रेडिङ्ग कर्पोरेसन र कृषि सामाग्री कम्पनी लिमिटेडबाट अनुदानमा लगिएको मल सहकारीले ब्यापारीले जस्तै गरी बढी मुनाफा खाएर विक्री गर्ने गरेको गुनासाहरु किसानबाट ब्यापक आउन थालेको छ । किसानलाई सहजताका लागि राज्यले अनुदानमा दिएको मलमा पनि सहकारीवालाहरुले ब्यापारीले जस्तै गरी धेरै मुनाफा राखेर विक्री गरी किसानलाई ठग्ने काम गरेको गुनासाहरु आफूसम्म पनि आइपुगेको साल्ट ट्रेडिङ्गं कर्पोरेसन लिमिटेड चितवनका प्रमुख बुद्धि बिनोद दाहालले बताउनुभयो । राज्यले किसानका लागि भनेर अनुदान दिने तर सहकारी सञ्चालकले प्रतिकिलो ५ रुपैयाँ बढीसम्म फाइदा खाएर मल विक्री गर्ने गरेकाले त्यसले किसानका लागि हितभन्दा पनि समस्यामा परेको बताउँदै उहाँले मलको मूल्य निर्धारण गर्नुपर्ने आवश्कता देखिएको प्रतिक्रिया दिनुभयो । सबै सहकारीमा त्यस्तो समस्या नभए पनि केही सहकारीले मनलाग्दी मूल्य निर्धारण गर्ने र किसानलाई समस्यामा पार्ने अवस्था सृजना हुँदै गएकोले अन्तिम बिन्दु तोकिनु पर्ने उहाँ बताउनु हुन्छ । आफ्नोबाट खरिद गर्दा युरिया मल प्रतिकेजी १५ रुपैयाँ ५ पैसा पर्ने र सहकारीले खुद्रामा प्रतिकेजी १९ देखि २५ रुपैयाँसम्म लिएर मल विक्री गरेको आफूलाई गुनासा आएको बताउँदै उहाँले सहकारीले कमाउनेभन्दा पनि किसानलाई सेवा प्रवाह गर्ने कुरामा ध्यान दिनुपर्ने तर्क गर्नुभयो ।  डिएपी मल आफूले विक्री गर्दा ४४ रुपैयाँ ३३ पैसा पर्ने तर सहकारीले ४९ रुपैयाँमा विक्री गर्ने गरेको उहाँको भनाइ छ ।  सहकारीले यति धेरै नाफा लिन आवश्यक नभएको उहाँको तर्क छ ।

त्यस्तै एस एस पिमा प्रतिवोरा ३० रुपैयाँ कमिसन सहकारीलाई दिने गरेको बताउँदै उहाँले  त्यसमा ढुवानी भाडामात्रै जोडेर मल विक्री गर्न आग्रह गर्नुभयो । चितवनमा धान सिजन सुरु भएकाले आवश्यकभन्दा बढी मल खरिद गरी मलको अभाव सृजना नगर्न र बढी मूल्य नलिइ उचित मूल्यमा मल विक्री गर्न सहकारीलाई उहाँको आग्रह छ । चितवनमा यो सिजनमा मलको अभाव हुन सक्ने संकेत गर्दै उहाँले मल प्रयोगमा ध्यान दिन आग्रह समेत गर्नु्भयो । धानबालीको सिजनमा अत्याधिक प्रयोग हुने डिएपी मल चाइनाबाट खरिद भएर असार २० सम्म आउने र युरिया पनि आउने क्रममा रहेको उहाँले बताउनुभयो । असार २० सम्मको समयलाई ब्यवस्थापन गर्न एस एस पि मल कार्यालयले स्टक राखेको र त्यही मल विक्री गर्दै आएको उहाँको भनाइ छ ।

चितवनमा केही सहकारीले कृषकका नाममा लगेको मल एग्रोभेटहरुलाई समेत विक्री गर्ने गरेको किसानहरुले बताएका छन । सहकारीका व्यवस्थापकहरुले बढी कमिसन पाउने भएपछि गलत कामतर्फ लागेको किसानहरुको गुनासो छ । चितवनमा बार्षिक रुपमा युरीया डिएपी पोटास गरी १८ हजार मेट्रिक टन मल चाहिने कार्यालयका प्रमुख दाहालले बताउनुभयो । आफूहरुले ३ हजार  ५ सय मेट्रिक टन, कृषि सामाग्री कम्पनि लिमिटेडले ९ देखि १० हजार मेट्रिक टन मल विक्री गर्ने र बाँकी गैह्र अनुदानित मलबाट पूर्ति भइरहेको उहाँको भनाइ छ । साल्ट टे«डिङ्ग कर्पोरेसनले जम्मा आयातको ३० प्रतिशतमात्रै मल पाउने गरेको भन्दै उहाँले त्यसको परिमाण बढाउन आग्रह गर्नुभयो ।
 

प्रतिक्रिया दिनुहोस