गुठी विधेयक विवादबारे पूर्वराजा ज्ञानेन्द्रको चासो

सफल खबर संवाददाता

शनिबार, ३२ जेठ २०७६, १५ : ४२
गुठी विधेयक विवादबारे पूर्वराजा ज्ञानेन्द्रको चासो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गुठी विधेयक विवादबारे चासो व्यक्त गरेका छन् ।
स्रोतका अनुसार, पूर्वराजा ज्ञानेन्द्र शाहले गुठी विधयेकबाट मुलुकमा उत्पन्न परिस्थितिबारे गहिरो चासो र चिन्ता व्यक्त गरेका हुन् । हाल थाइल्याण्डको राजधानी बैंककमा रहेका पूर्वराजा शाहले शुक्रबार केही नेपालीहरूसँगको अनौपचारिक भेटघाटका क्रममा आफ्नो चासो र चिन्ता व्यक्त गरिएको बुझिएको छ ।

उक्त भेटघाटमा सहभागी तर नाम सार्वजनिक गर्न नचाहने एक व्यक्तिका अनुसार पूर्वराजाले मुलुकको संस्कृति, परम्परा, धर्म, रीतिरिवाज र तिनीहरूसँग जोडिएका संस्थाहरू सामाजिक सौहार्दता र राष्ट्रिय एकताका दरिलो आधार हुन्न भन्ने कुरालाई मनन गर्दै तिनीहरुलाई कुनै पनि रुपमा खल्बल्याउन नहुने विचार व्यक्त गरेका थिए ।

उनका अनुसार यस्तो संवेदनशील विषयमा आवश्यक सुधार र परिमार्जनको दायित्व पनि सम्बन्धित गुठीहरुकै भएको धारणा पनि पूर्वराजाले व्यक्त गरेका थिए ।

सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले गुठी परम्परा सामन्तवादको अवशेष रहेकोले यसलाई समाप्त गर्न सरकार दृढ रहेको बताएका छन् भने ८० भन्दा बढी गुठीरूले संयुक्त संघर्ष समिति गठन गरी विगत ६ दिनदेखि राजधानीमा विरोध प्रदर्शन गर्दै आएका छन् । विरोध प्रदर्शनले सरकारविरोधी रुप धारण गरेको छ । 

प्रतिक्रिया दिनुहोस