शिक्षा बालबालिकाका लागि मानसिक र शारीरिक बोझ बन्दै, शिक्षाका नाममा निजी विद्यालयको कमाउधन्दा

प्रकाश सिग्देल

शुक्रबार, ३१ जेठ २०७६, १७ : २८
शिक्षा बालबालिकाका लागि मानसिक र शारीरिक बोझ बन्दै, शिक्षाका नाममा निजी विद्यालयको कमाउधन्दा

फाईल फोटो

चितवन । आजभोलि विद्यालय शिक्षा बालबालिकाका लागि मानसिक र शारीरिक बोझ बन्दै गएको छ । आज भोलिका बालबालिकाहरुलाई  शिक्षाका नाममा निजी विद्यालयहरुले पिडा बोक्न बाध्य पारिरहेका छन् । बालबालिकालाई घरमा हेर्ने अभिभावक नहुने र भएकाले पनि ३ वर्ष नपुग्दै विद्यालय पठाउन हतार गर्ने गरेकाले ती कलिला अबोध बालबालिकाले शिक्षाभन्दा बढि पिडा पाउने गरेको बालअधिकारकर्मीहरुले बताएका छन् ।  

बाल अधिकार कर्मी दिपक शर्माले विद्यालयको अहिलेको शिक्षण सिकाई क्रियाकलापले बालबालिकाको सामाजिकिकरणमा समस्या हुनाका साथै मनोसामाजिक र शारीरिक समस्या समेत सृजना हुने गरेको बताउनु भयो । यस्तो सिकाई क्रियाकलापले कालान्तरमा डिप्रेसन पैदा भइ त्यसले निकै ठूलो समस्या सृजना गर्ने उहाँ बताउनु हुन्छ ।   
राम्रोसँग हिड्नै नसक्ने बालबालिकालाई आफूभन्दा ठूलो झोला बोकाएर स्कुल पठाएर उनीहरुको  घरमै खेल्दै रमाउँदै सामाज बुझन पाउने अधिकारमाथि हनन भएको उहाँको तर्क छ । सानैमा विद्यालय पठाएर स्कुलका शिक्षक शिक्षिका र अरु साथीहरुको व्यवहार र सिकाइले उत्पन्न हुने मानसिक पिडासँगै झोलाको भारले शारीरिक पीडासमेत बोक्न बाध्य बनाइएको उहाँ बताउनुहुन्छ ।  
अहिलेका विद्यार्थीले बोक्ने पुस्तकका भारले तन्किएर झोलाले भुइँ छुन थालेको देखिन्छ । निजी स्कुलमा विवेकभन्दा पनि विजनेस हावी भएकै कारणले विद्यार्थीहरुले आफ्नो आधा तौल बराबर पुस्तक बोकेर विद्यालय जानु परेको तर्क धेरैको छ ।  
‘संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्र्देशिका, २०६९’ ले कक्षा एकदेखि पाँचसम्म विद्यार्थीको झोलाको तौल चार किलोभन्दा बढि हुन नहुने भनेको छ । एक कक्षाभन्दा तलका बच्चालाई त झोला बोकाउन निरुत्साहित नै गरिएको छ । तर, सानासाना बालबालिकालाई उनीहरुको क्षमताभन्दा पनि बढि पुस्तक बोकाएर शारीरिक र मानसिक तनाव विद्यालयले थपिरहेको छ । विद्यालयले अत्याधिक धेरै किताव कापी बोकाउने गरेको गैंडाकोटका एक अभिभावकले बताउनु भयो । किताव कापी र झोलाको बोझले आफ्नो ७ वर्षकी  छोरीले कहिले काहीँ ढाड र घाँटि दुख्यो भनेर भन्ने गरेको समेत उहाँ बताउनु हुन्छ ।

विद्यार्थीलाई बोझ बनाइनुको पछाडि पाठ्यक्रम निर्माण कम्पनि अर्थात पव्लिकेशनको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । पव्लिकेशन वालाले निजी विद्यालय एशोसियशन र विद्यालयलाई केही पैसा दिएर आफ्नो पुस्तक लगाउन बाध्य पार्ने र त्यही कमिसनको लोभमा परेर विद्यालयले पनि त्यस्ता पुस्तक कोर्षका रुपमा समावेश गराउने र त्यसले गर्दा विद्यार्थीलाई पुस्तकको भार बढ्ने गरेको पुस्तक व्यवसायीहरुले नाम नबताउने सर्तमा जानकारी दिएका छन् ।  

अहिलेको शिक्षा नै प्रभावकारी नहुँदा सटिफिकेटको ए प्लसले पनि वेरोजगारी समस्या भोग्नु परेको शिक्षाविद रमाकान्त सापकोटा बताउनु हुन्छ । विद्यालयले चार वर्षको बच्चा पढ्ने एलकेजीमा ५–६ वटा किताब समावेश गराएका हुन्छन् । त्यहाँ विज्ञान, गणित, अंग्रेजी जस्ता विषय राखिएका छन् । यो विद्यार्थी माथिको हदैसम्मको अत्याचार भएको शिक्षाविद सापकोटा बताउनु हुन्छ । बालबालिकालाई बाहिरी समाज देखाएर समाजमा सिकेका कुरा गणित र विज्ञानसँग जोडेरमात्रै कितावको गणित र विज्ञान पढाउनु पर्ने उहाँको भनाइ छ । विदेशी मुलुकमा ६ वर्ष नपुगी विद्यालय भर्ना गर्न नपाइने तर्क गर्दै उहाँले नेपालमा शिक्षालाई कमाइ खाने माध्यम बनाउँदा समस्या भएको बताउनु भयो ।

हाम्रो पाठ्यक्रम अनावश्यक रूपमा धेरै, तर कम उपयोगी बनाइदिएर विद्यार्थीलाई बोझ थुपार्नेमात्र काम भएको कन्टिनेन्टल इङ्गलिस बोर्डिङ्गं स्कुल गैंडाकोटका पूर्व प्राचार्य तथा प्राध्यापक  गिरिराज उपाध्यायले बताउनु भयो । सानै उमेरमा विद्यालय भर्ना गर्ने धेरैभन्दा धेरै पुस्तक घोकाएर विद्यार्थीलाई मानसिक बोझ थुपार्ने काम भएको र यसले बाल मनोविज्ञानमा निकै ठूलो असर गर्ने गरेको उहाँको भनाइ छ । अहिले ड्रेस टाई लगायर विद्यालय जाने बेलामा विद्यार्थीले सजाय भोग्न गएजस्तो महसुस गर्न थालेको आफूले बुझेको उहाँको भनाइ छ । आफ्नो शिक्षण पेसाको २० वर्ष बढिको अनुभवले हरेक वर्ष बच्चाको स्तर खस्कँदै गएको देखाएको उहाँ बताउनु हुन्छ । विद्यार्थीलाई धेरै पुस्तकको बोझ बनाइनु पव्लिकेशनलाई कमाई गरिदिनेमात्रै बाटो बनेकोभन्दै उहाँले यस्तो प्रवृत्तिको अन्त्य गर्नु आवश्यक रहेको बताउनु भयो । कक्षा ३ सम्मका विद्यार्थीका लागि १ वटा पुस्तकमा सबै विषय समावेश गरेर डिजाइन गर्नुपर्ने र त्यसैलाई खेल्दै सिक्ने बिधिमार्फत पढाउनु पर्ने उहाँ बताउनु हुन्छ ।

बच्चालाई सिक्ने बाटो खोज्न सहजीकरण गर्ने, वातावरण बनाइदिने, जिज्ञासा जगाइदिने कामभन्दा पनि जसरी पनि रटाउनेतर्फ सिकाई केन्द्रित बनाउँदा बढि पुस्तकको भार विद्यार्थीले थेग्नु परेको उहाँको तर्क छ । आवश्यकअनुरूप मात्र पाठयक्रम तयार गरी उर्जाशिल र प्रयोगात्मक शिक्षण सिकाई हुन जरुरी रहेको उहाँ तर्क गर्नुहुन्छ । फिनल्यान्डलगायत मुलुकमा १५ वर्षको उमेरसम्म ३० मिनेटभन्दा बढिको गृहकार्य दिन नपाइने नियम रहेको बताइन्छ भने अमेरिका अनि वेलायतमा पनि एक पानाभन्दा बढि गृहकार्य दिन नपाइने नियम छ । तर यहाँ  गृहकार्य गराउन होम ट्युसन सञ्चालन हुन्छ । त्यसले पनि नभए विद्यालय आफैले पनि विद्यालयमै ट्युसन कक्षा सञ्चालन गर्छन् । अझै नपुगे गृहकार्य गर्न हाम्रा विद्यार्थी गृहकार्य दिने शिक्षकको घरमा ट्युसन जानुपर्ने सम्मको अवस्था छ । गृहकार्य कमाउधन्दा बनेको छ । एलकेजीको बच्चाको गृहकार्य दुई–तीन घण्टाको हुन्छ । तीनवर्षे बच्चालाई कराई–कराई पूरै परिवारले थर्काएर रुवाउँदै घिसार्दै गृहकार्य गराउँछन् । यस्तो खालको शिक्षा र सिकाईमा सुधार गर्नु आवश्यक रहेको शिक्षा विदहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस