चितवन दूधमा आत्मनिर्भर घोषणा

माछा, अण्डा र मासुमा पनि हुनुपर्छ : मन्त्री लामा

सफल खबर संवाददाता

बुधबार, २९ जेठ २०७६, १७ : २०
चितवन दूधमा आत्मनिर्भर घोषणा

चितवन । चितवन जिल्लालाई दूधमा आत्मनिर्भर भएको घोषणा गरिएको छ । प्रदेश नं ३ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले चितवन जिल्लालाई आत्मनिर्भर घोषणा गर्नुभएको हो ।

घोषणा कार्यक्रममा मन्त्री लामाले चितवनलाई दूधमा मात्र होइन, माछा, अण्डा र मासुमा पनि आत्मनिर्भर घोषणा गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज चितवन जिल्लाको उत्सवको दिन हो, आज दूधमा आत्मनिर्भर घोषणा गरिएको छ ।’

कार्यक्रममा उहाँले चाइनाबाट गाई ल्याउनको लागि एमओयू भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवनमा दूधको प्रशोधन केन्द्र खोल्ने तयारी भइरहेको छ, अब सडकमा दूध पोख्ने अवस्था आउँदैन, हामी पोख्न दिँदैनौँ ।’  कार्यक्रममा मन्त्री लामाले चितवनको राप्ती नगरपालिकामा दाना उद्योग खोल्ने योजना अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दूधको लागत उठ्दैन, दाना चोकर महँगो भयो भन्ने किसानको गुनासोलाई ध्यानमा राख्दै दाना उद्योग खोल्ने योजना प्रदेश सरकारले बनाएको छ, अब दाना चोकरमा किसान ठगिनुपर्ने अवस्था आउँदैन, सस्तो सहज तरिकाले दाना पाउनुहुन्छ ।’

कार्यक्रममा मन्त्री लामाले प्रदेश सरकारले दूधमा प्रतिलिटर एक रुपैयाँ दिने घोषणा गरे पनि बजेट अभावले एक रुपैयाँ दिन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिलिटर एक रुपैयाँ अनुदान दिने भनेर बजेट छुट्टाइएको हो, तर पछि अर्थमन्त्रालयले काटेर प्रतिलिटर ५१ पैसा दिने निर्णय गरेको हो ।’ उहाँले आगामी वर्ष एक रुपैयाँ अनुदान दिने प्रतिबद्धता जनाउनुभएको थियो ।  कार्यक्रममा मन्त्री लामाले तीन वटा दुग्ध सहकारीलाई अनुदानको चेक हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उहाँले चितवनमा भेटेरीनरी एम्बुलेन्स र विषादी मापन मेशिन छिटै ल्याउने बताउनुभयो । 

कार्यक्रममा प्रदेश सांसद घनश्याम दाहाल अविनाशले कृषिमा प्रदेश सरकारले प्राथमिकता दिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रदेश सरकार निर्वाहमुखी खेती प्रणालीबाट सामूहिक खेती प्रणालीको रुपमा गइरहेको छ । आज दूधमा आत्मनिर्भर भएजसरी अरुमा पनि आत्मनिर्भर हुँदै जानेछौँ ।’ 

कार्यक्रममा सांसद कञ्चन खनालले कृषिमा आधुनिकीकरण र यान्त्रीकीकरण गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘परम्परागत खेती प्रणालीलाई छोड्दै र आधुनिक खेती प्रणालीलाई अवलम्बन गर्दै जानुपर्छ ।’
घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले दूधमा आत्मनिर्भर ढिलो गरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आत्मनिर्भर घोषणासँगै किसानको अवस्थामा परिवर्तन आउनुपर्छ, किसानको माग संवोधन हुनुपर्छ ।’

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले किसानलाई थप उत्साहित गर्न घोषणा कार्यक्रमले बल पुग्ने बताउनुभयो । कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटा, राष्ट्रिय दुग्ध विकास बोर्डका प्रमुख बाबुकाजी पन्त, केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका उपाध्यक्ष रामेश्वर पोख्रेल, रत्ननगर उवासंघका अध्यक्ष राजाराम रेग्मी, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सहसचिव मणिप्रसाद खतिवडा, नेपाली कांग्रेसका जिल्ला सचिव राजिव न्यौपानेलगायतले मन्तव्य दिनुभएको थियो । 

भेटरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र भरतपुरका प्रमुख डा विजयकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला दुग्ध सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले स्वागत मन्तव्य दिनुभएको थियो । 

चितवनमा दैनिक दुई लाख ८९ हजार ३३९ लिटर दूध उत्पादन भएको र ४३ प्रतिशत दूध जिल्ला बाहिर निर्यात भएको जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेले बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवनलाई दैनिक जम्मा १ लाख ५६ हजार लिटर दूध भए पुग्छ ।’ घोषणा कार्यक्रममा भजनलगायतका प्रस्तुति पनि देखाइएको थियो । 

प्रतिक्रिया दिनुहोस