सुवेदी स्मृति प्रतिष्ठानद्वारा मगर पुरस्कृत, कुँवर सम्मानित

उर्गेन तामाङ

बुधबार, २९ जेठ २०७६, १६ : ५६
सुवेदी स्मृति प्रतिष्ठानद्वारा मगर पुरस्कृत, कुँवर सम्मानित

चितवन । अच्युतराज स्मृति प्रतिष्ठानले बुधबार भरतपुरमा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 
अच्युत स्मृति राष्टिय प्रतिभा पुरस्कारबाट सशस्त्र प्रहरीका विपद व्यवस्थापन समितिमा कार्यरत गोताखोर ओम सलामी मगर पुरस्कृत भएका छन् । अच्युतराज सुवेदी स्मृति प्रतिष्ठानले मगरलाई नगद २५ हजार ५ सय ५५ रुपैयाँ र सम्मानपत्रले पुरस्कृत गरेको हो । उनलाई कार्यक्रमका प्रमुख अतिथि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार प्रदान गरेका थिए । 
२०६३ सालमा सशस्त्र प्रहरी सेवामा प्रवेश गरेका मगरले २०६७ सालदेखि विपद व्यवस्थापन समितिमा रहेर पानीमा डुबेका तथा हराएकाहरुको खोजी कार्यमा संलग्न हँुदै आएका छन् । हाल उनी विपद व्यवस्थापन समिति कुरिनटार चितवनमा रहेर सेवा प्रदान गरिरहेका छन् । यो पुरस्कार हरेक वर्ष विपद व्यवस्थापनको क्षेत्रमा काम गर्ने देशैभरबाट एक जनालाई छनोट गरी प्रदान गरिँदै आएको प्रतिष्ठानका सचिव झलक गैरेले जानकारी दिए । 
प्रतिष्ठानले आशा अस्पताल भरतपुरकी डा. शारदा रानाभाट कँुवरलाई सम्मान गरेको छ । डा. कुँवरलाई प्रमुख अतिथि प्रचण्डले सम्मानपत्रले सम्मान गरेका थिए । प्रतिष्ठानले हरेक वर्ष सामाजिक सेवामा व्यस्त एक जनालाई सम्मान गर्दै आएको छ । 
सञ्चार उद्यमी अच्युतराज सुवेदीको २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्पमा निधन भएको थियो । उनी दैनिक नेपालगञ्जका तत्कालीन प्रबन्ध निर्देशक थिए । दैनिक नेपालगञ्ज र परिवारले उनको नाममा प्रतिष्ठान स्थापना गरी मिडिया र विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गरेर विपद व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको प्रतिष्ठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस