आलोपालो सरकारबारे ओली र दाहालले के भने ?

पत्रपत्रिकाबाट

आइतबार, १९ जेठ २०७६, ०७ : ४८
आलोपालो सरकारबारे ओली र दाहालले के भने ?

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक प्रवृक्ति बढदै गएकामा दुःख व्यत्त गरेका छन् । पोखरामा शनिबार नेपाल स्काउटको राष्ट्रिय युवा सम्मेलन उद्घाटन गर्दै उनले पार्टीभित्र दुई अध्यक्षको सत्ता साझेदारीबारेको बहसतिर संकेत गर्दै भने, ‘एकता हुन नदिने, एकता भएकालाई पनि फुटाउन खोज्ने र पार्टीका शीर्ष नेतामा फाटो ल्याउन खोज्ने प्रवृत्ति बढदै गएको छ ।’ 
प्रधानमन्त्रीले राष्ट्रिय भावनाभन्दा क्षेत्रीय, जातीय तथा अनेक प्रकारका संकीर्ण भावना बढेकोमा पनि चिन्ता जनाए ।

यसैबीच मोरङ संवाददाताका अनुसार नेकपाका अर्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले पार्टीको निर्णय र देशको परिस्थिति अनुकूल रहे एक वर्षपछि आफू प्रधानमन्त्री बन्ने बताएका छन् । उनले शनिबार विराटनगरमा पत्रकारहरूसँग भने, ‘एक वर्षपछि प्रधानमन्त्री बन्ने विषय पार्टीले सहमति र निर्णय गर्ने हो । तर परिस्थिति कस्तो विकास हुँदै जान्छ, त्यसमा पनि निर्भर हुन्छ ।’

पार्टी एकताका बेला ‘ऐतिहासिक रूपमा गरिएको सहमतिलाई इमानदारीसाथ’ कार्यान्वयन गर्ने पनि उनले बताए ।
आलोपालो सरकार चलाउने विषयलाई लिएर शुक्रबार पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दिल्लीमा आफ्नो प्रधानमन्त्री पद ‘४र५ दिन मात्रै बाँकी रहेको’ भन्दै व्यंग्यात्मक शैलीमा दिएको प्रतिक्रिया प्रतीकात्मक भएको दाहालले बताए ।

दाहालले एक अन्तर्वार्तामा ‘पार्टीका दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने सहमति भएको’ विषयलाई उठाएपछि केही दिनयता यो विषयले नेकपाभित्रसमेत तरंग ल्याएको छ । पार्टीका अन्य नेताले समेत यो विषय खुलारूपमा उठाउन थालेका छन् ।
‘अन्तर्वार्तामा पार्टी एकताका बेला हामीबीच भएका सहमतिको कुरा स्मरण मात्रै गरेको हुँ,’ उनले भने, ‘बाहिर प्रचार र होहल्ला गर्नुपर्ने नयाँ विषय बोलेकै छैन । प्रधानमन्त्रीले त्यो कुरा राम्ररी बुझ्नुभएको छ ।’

अध्यक्ष दाहालले आलोपालो सरकारको नेतृत्व गर्ने विषयमा पत्रकारलाई नलेख्न आग्रह गरे । ‘हामीले पार्टी एकताका बेला जे सैद्धान्तिक र व्यावहारिक सहमति गरेका छौं, त्यही लाइनमा अघि बढदै र पार्टीलाई सुदृढ गर्दै जान्छौं,’ उनले भने ।

त्यसैगरी काठमाडौंमा नेकपाका नेता हरिबोल गजुरेलले अब अध्यक्ष दाहाल आलोपालोमा प्रधानमन्त्री बन्ने बताएका छन् । ‘यो कुरा त पहिलेदेखि मिडियामा आइरहेकै कुरा हो, उहाँहरू दुवैले मिलेर पार्टी र सरकार चलाउनु हुन्छ, आलोपालोमा सहमति भइसकेको छ ।’
दुई पार्टीबीच एकता गराउन दुवै अध्यक्षको भूमिका अहम् रहेको उल्लेख गर्दै उनले एउटा सार्वजनिक कार्यक्रममा भने, ‘अब पार्टीभित्र कार्यविभाजन पनि छिट्टै टुंगो लाग्छ, हामीलाई दुवै अध्यक्षमाथि विश्वास छ ।’ यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस