सामान्य होइन टिटानस

शनिबार, १८ जेठ २०७६, ०७ : ३९
सामान्य होइन टिटानस

काठमाडौँ । धनुष्टंकार रोगलाई अंग्रेजीमा टिटानस भनिन्छ । यो ‘क्लोस्ट्रिडियम टिटानी’ नामक ब्याक्टेरियाको संक्रमणबाट हुने गम्भीर रोग हो । संक्रमण भएको १२ देखि १४ दिनभित्रमा यो रोग देखिने गर्छ । ब्याक्टेरियाले हाम्रो शरीरमा टक्सिननामक विषाक्त पदार्थ सार्छ । जसले गर्दा स्नायु प्रणाली र मांसपेशीमा असर गर्छ । ब्याक्टेरिया विशेषगरी धुलो माटो तथा पशु मलमा पाइन्छ । 

प्रकार
टिटानस विभिन्न प्रकारका हुन्छन् । स्थानीय टिटानस, जसको संक्रमणबाट घाउ वरिपरिको मांसपेशीमा पीडा महसुस हुन्छ । त्यस्तै, टाउको वा कानको चोटपटकबाट तीव्र गतिमा मस्तिष्कमा फैलने टिटानस, जसलाई मस्तिष्क टिटानस भनिन्छ । यसले अनुहार, गिजालगायत मांसपेशीमा असर पु(याउँछ । 
नवजात शिशुमा हुने नवजात टिटानस हो । बच्चाको नाइटो 
काट्दा हुने संक्रमणबाट यो हुने गर्छ । अर्को छ साधारण टिटानस, यो धेरैलाई देखिने टिटानस हो । यो टाउकोबाट सुरु भएर सम्पूर्ण शरीरमा फैलने गर्छ । साधारण टिटानस हुँदा गम्भीर समस्या देखा
पर्छन् । यो टिटानस नवजात शिशु, बालबालिकासँगै वयस्कमा पनि हुन सक्छ ।   

लक्षण
विषाक्त पदार्थ फैलँदै गएपछि शरीर अररिने, जगडिनेजस्ता गम्भीर समस्या देखा पर्छन् । 
चिउँडो र पेटको मांसपेशी बाँउडिने वा दुख्ने, खाना खान गाह्रो हुने, ज्वरो आउने, पसिना बग्ने, रक्तचापमा तथा मुटुको चालमा गडबडी आउने हुन्छ ।
टिटानसको ब्याक्टेरिया छालाबाट सजिलै छिरेर शरीरमा संक्रमण गर्ने भएकाले घाउ तथा चोटपटक लागेको ठाउँमा छिटो संक्रमण हुन्छ । 

रोकथाम तथा उपचार
बच्चाहरूमा अनिवार्य रूपमा टिटानसविरुद्धको खोप लगाउनुपर्छ ।  
घाउ,चोटपटक लागेमा गोबर र धुलो माटोको सम्पर्कबाट टाढा बस्नुपर्छ । घाउ, चोटपटक लागेमा सधैँ सफा राख्नुपर्छ । 
ढाड धनुष आकारमा पछाडि फर्कने । बंगाराका हड्डी टुट्ने सम्भावना अधिक हुन्छ । त्यस्तै, बच्चाहरूमा मस्तिष्कमा क्षति पुग्ने तथा विकलांग हुने समस्या देखिन्छ । त्यसैले, बिरामीको समयमै उपचार गर्नुपर्छ । नत्र मृत्युसमेत हुन सक्छ । 
संक्रमण भइसकेपछि टिटानस इम्युन ग्लोब्लिन सुई लगाउन सकिन्छ । जसले गर्दा शरीरमा विषाक्त वस्तु फैलन पाउँदैन ।बिरामीको फोक्सोमा रगत जम्मा हुने तथा हड्डी भाँच्चिने सम्भावनासमेत रहने भएकाले आइसियूमा राखेर उपचार गर्नुपर्ने हुन्छ । –नया पत्रिकाबाट
 

प्रतिक्रिया दिनुहोस