दूधमा आत्मनिर्भर घोषणा प्रक्रिया सुरु

सफल खबर संवाददाता

बुधबार, ०८ जेठ २०७६, १६ : ५८
दूधमा आत्मनिर्भर घोषणा प्रक्रिया सुरु

चितवन । चितवन जिल्लालाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाइ घोषणा गर्ने प्रक्रिया सुरु भएको छ । 
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गर्ने प्रक्रियाअन्तर्गत आज दुग्ध सहकारी संघसँग छलफल गरेको छ । छलफलमा संघले विभिन्न कार्यक्रम गर्दै जेठ १८ गते चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गर्ने जनाएको छ । 
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष रत्नमणि न्यौपानेले स्थानीय सरकार विज्ञ केन्द्र, जिल्ला समन्वय समिति, चितवनका दुग्ध सहकारी, व्यावसायिक फर्म, सरोकारवाला निकाय सम्पूर्णको सहभागितामा चितवन जिल्लालाई दूध र दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाइने बताउनुभयो । 

उहाँका अनुसार अहिले संघले चितवन जिल्लाको दूध र दुग्धजन्य पदार्थको विभिन्न तथ्यांक लिने काम गरिरहेको छ । संघका सचिव किशोर बगालेले सबै तथ्यांक अब एक दुई दिनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘चितवन जिल्लामा झन्डै ६ लाख जनसंख्या छ, यति जनसंख्यालाई झन्डै डेढ लाख लिटर दूध चाहिन्छ, चितवनमा यो भन्दा बढी दूध उत्पादन भइरहेको छ ।’
छलफलमा केन्द्रीय दुग्ध उत्पादक संघका उपाध्यक्ष रामेश्वर पोखरेलले चितवनले गर्न लागेको दूधमा आत्मनिर्भर घोषणा कार्यक्रममा केन्द्रीय संघले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 
कार्यक्रममा अन्नपूर्ण दुग्ध उत्पादक सहकारी संघ गीतानगरका अध्यक्ष भगिरथ तिमिल्सिनाले चितवनलाई दूधमा आत्मनिर्भर घोषणा गर्ने कार्यक्रम स्वागतयोग्य भएको बताउनुभयो । 
कार्यक्रममा चितवनका ५० भन्दा बढी दुग्ध सहकारी संघका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिति थियो । चितवन जिल्लामा दैनिक ३ लाखको हाराहारीमा दूध उत्पादन भइरहेको अनुमान गरिएको छ । कार्यक्रममा दुग्ध किसानहरुले मिल्क एनलाइजर, दूधको मूल्य समायोजनलगायतका विषयमा गुनासो गरेका थिए । 

 
 
 

प्रतिक्रिया दिनुहोस