सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएपछि...

सोमबार, ०६ जेठ २०७६, १३ : २६
सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएपछि...

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटस्थित एक खाजा पसलमा आइतबार ससको बोतलभित्र अखाद्य वस्तु भेटिएको छ । सिल नतोडेको ससको बोतलभित्र सुर्तीको खोल भेटिएको हो । खाजा खान गएका ग्राहकलाई पसल सञ्चालकले सस निकाल्ने क्रममा सुर्तीको खोलको टुक्रा भेटिएको हो । 

अखाद्य वस्तु भेटिएपछि ससको बोतल बरामद गरिएको गाउँपालिकाका नायब सुब्बा दयाराम पौडेलले जानकारी दिनुभयो । तिरुपती फुड्स एण्ड वेभरेजले २०१८ नोभेम्बर २६ मा उत्पादन गरेको उक्त ससको बोतलमा उपभोग्य समयअवधि उल्लेख छैन । ७०० मिलिलिटरको बोतलभित्र ससमाथि तैरिएको अवस्थामा सुर्तीको खोल प्रष्टसँग देखिएको छ । 

म्याग्दीका ग्रामिण बजार क्षेत्रमा म्याद नाघेका र अखाद्य वस्तुको बिक्री हुने गरेको गुनासो बढेको छ । सदरमुकाममा केन्द्रित रहँदै आएको बजार अनुगमनलाई विभिन्न कार्यालयको संयोजनमा स्थानीय तहसँग समन्वय गरेर ग्रामीण बजारमा गरिने प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताउनुभयो । उहाँका अनुसार प्रत्येक महीनाको पहिलो सोमबारका दिन स्थानीय तहका ग्रामीण बजारमा संयुक्त बजार अनुगमन गरिने भएको छ । (रासस)
    

प्रतिक्रिया दिनुहोस