Safal Khabar - कम्युनिस्टसँग नझुक्ने कम्युनिस्ट मदन भण्डारी
बुधबार, ११ असार २०७६ (Wednesday, 26 June, 2019)
सन्दर्भ : मदन भण्डारी स्मृति दिवस

कम्युनिस्टसँग नझुक्ने कम्युनिस्ट मदन भण्डारी
शुक्रबार, ०३ जेठ २०७६, ०७ : १८
कम्युनिस्टसँग नझुक्ने कम्युनिस्ट मदन भण्डारी

- किशोर श्रेष्ठ

फरासिलो स्वभावका हुनुहुन्थ्यो, उत्तर कोरियाली राजदूत आन हुई जोङ । उहाँमार्फत नै अघि बढाइएको हो, कमरेड मदन भण्डारीको सुरक्षार्थ रूपनारायण श्रेष्ठसहित केही साथीलाई तीनमहिने कमान्डो ट्रेनिङका निम्ति प्योङयाङ पठाउने प्रस्ताव । अफसोच, उक्त प्रस्तावले मूर्तरूप लिन नपाउँदै जेठ ३ गतेको कालो छाया नेपाली आकाशमा मडारिन पुग्यो ।

तत्कालीन प्रधानसेनापति गडुल समशेरमार्फत दासढुंगा दुर्घटनाको अविश्वसनीय एवं अप्रत्यासित खबर प्राप्त हुनासाथ सोझै हान्निएँ म झम्सिखेलतिर काउन्सिलर किम वन गिलसमक्ष आक्रोश पोख्न । 'साम्राज्यवादीसँग लड्ने ठुल्ठूला कुरा गर्छौ तिमीहरू, तर आज यस्तो स्थिति व्यहोर्नुपर्‍यो हामीले । किन ढिला गर्‍यौ ? किन झुठा आश्वासन दियौ ?' आवेगमा नजाने मैले के-के भनेँ । उनी केही बोल्न सकेनन् । राजदूतलाई पनि पछुतो लाग्यो होला सायद, त्यसैले नेपाल राष्ट्रका आशालाग्दा नेता मदन-आस्रितप्रति अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न आर्यघाट आउने हिम्मत गरेनन् । उनको ठाउँमा प्योङयाङले व्यांककस्थित अर्का राजदूतलाई सोझै काठमाडौं पठायो ।

टण्टलापुर घाम । मञ्च दुलहीसरि सिंगारिएको थियो र उहाँ शान्त तलाउरूपी त्यो मानव लहरलाई सम्बोधन गर्दै हुनुहुन्थ्यो । केही दिनदेखि राम्ररी सुत्न नपाएकाले आँखा रातो थियो, दाह्री बढेको र दिउँसोको चर्को घामले अनुहार पनि कालै भइसकेको थियो । लुगा मैला थिए, त्यसमाथि अबिरको बर्षाले स्थिति झनै बिजोग थियो । एउटा महत्त्वपूर्ण काम सिध्याइएको खुसियालीमा कार्यकर्ता र नेताहरू दंगदास थिए तर उहाँको मनभित्र अर्कै कुरा खेलिरहेको थियो, जसलाई त्यतिबेलै सार्वजनिक गर्नु सायद उहाँलाई उचित लागेन ।

समारोह सकिएपछि हामी सँगै फर्कियौँ । बागबजारस्थित पार्टी अफिस जाने बाटैमा हाम्रो अफिस थियो, एक तलामाथि । उहाँ सरासर अग्निशिखा र मेरो साझा कुर्सीमा गएर बस्नुभयो र भन्नुभयो, 'साह्रै भोक लाग्यो, लौ खाजा मगाऊँ ।' उहाँलाई मनपर्ने खाजा मःमः । खाजा खाँदै कुरा सुरु गर्‍यौँ । त्यो ०४९ साल माघ २० गते, एमाले पाँचौँ महाधिवेशन समापनको दिन थियो ।

भोलिपल्टको 'दृष्टि' मा उहाँसँगको कुराकानी यसरी छापियो, 'टनकपुर मुद्दाका सम्बन्धमा नेपालका कम्युनिस्टले के गर्नुपर्छ र नेपालीहरूले के गर्नुपर्छ भन्ने सम्बन्धमा आफ्ना राय र विचार राख्न अरू साथी स्वतन्त्र छन् तर जसले जे भने पनि हामीले के गर्नुपर्छ, के गर्नुपर्दैन भन्ने कुराको फैसला गर्ने अधिकार भने हामीसँगै सुरक्षित छ ।' र, उहाँको यो भनाइ भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) का महासचिव हरिकिशनसिंह सुरजितप्रति लक्षित थियो । एमालेको महाधिवेशनमा आतिथ्य ग्रहण गर्न आउनुभएका सुरजितले अघिल्लो दिन सरकारी दैनिक 'गोरखापत्र'लाई अन्तर्वार्ता दिने क्रममा भन्नुभएको थियो, 'टनकपुर सम्झौता नेपालको हितमा छ र यो सम्झौतामा नेपालका कम्युनिस्टले नेपाल सरकार (गिरिजाप्रसाद) लाई सघाउनुपर्छ ।'

बनारसमा पढ्न बस्दा भारतीयले नेपालीमाथि थिचोमिचो गरेका घटनालाई आफ्नै आँखाले देखेकैले सायद उहाँको मनमा त्यो कुरा बिझेको थियो । त्यसैबेलादेखि नै हो उहाँले नेपाली जातिको स्वाभिमानको प्रतीक ढाका र भादगाउँले टोपी लगाउन थाल्नुभएको । त्यो बानीलाई अन्तिम घडीसम्म छाड्नुभएन र भारतीयले पनि उहाँलाई पटक-पटक अपमानित गर्न छाडेनन् । भारतीय शासकवर्ग मात्र होइन, त्यहाँका कम्युनिस्ट पनि सानो देश नेपाललाई, त्यो देशमा बस्ने स्वाभिमानी जनतालाई हेप्न, निर्देशनको शैलीमा कुरा गर्न र आफ्नो बडेभैयापन देखाउन पछि हट्दा रहेनछन् भन्ने कुराको ज्वलन्त उदाहरण हुनुहुन्थ्यो- सुरजित । र, 'उहाँ' निरन्तर यो प्रवृत्तिको खिलाफमा हुनुहुन्थ्यो ।

अर्को घटना, ०४९ बैशाख २२ गतेको हो । त्यसदिन मदन कमरेड र म नयाँ दिल्लीस्थित भाकपा (माक्र्सवादी) को केन्द्रीय कार्यालयमा थियौं । त्यहाँ पनि ती नेताले आधा घण्टासम्म मदन कमरेडलाई यसो गर्नू, उसो गर्नू भनेर कारिन्दालाई अह्राएजसरी कुरा गर्न थाले । मदनले मन पराउनुभएन । र, तत्काल प्रतिवाद गर्नुभयो । उनी तिनै भारतीय कम्युनिस्ट नेता हुन्, जसले माले-माक्र्सवादी एकीकरण हुनुअघि पोखरामा आयोजित माक्र्सवादीको राष्ट्रिय भेलामा यी दुई पार्टी मिलेर चुनाव लडे बढीमा चार सिटसम्म ल्याउने दाबी गरेका थिए । त्यो खबर सुनेर काठमाडौंमा मदन कमरेड मज्जाले हाँस्नुभएको थियो ।

अर्को घटना कोलकाताको हो । भाकपा (माले) को महाधिवेशनमा भाग लिने सिलसिलामा मदन कमरेड कोलकाता पुग्नुभएको थियो । ब्रिगेड मैदानमा आयोजित एउटा विशाल आमसभालाई सम्बोधन गर्नुभयो । १६ गते मुख्यमन्त्री ज्योति बसुसँग उहाँकै कार्यकक्षमा भेट्ने कार्यक्रम बन्यो । पूर्वनिर्धारित कार्यक्रमअनुसार, भेट्न जाँदा बसुले मदन कमरेडलाई 'बसौं' पनि भन्नुभएन । बरु पटक-पटक उठ्ने, बाहिर जान खोज्ने काममात्र गरिरहनुभयो । अन्ततः मदन कमरेड आफैं निस्कनुभयो ।

आफूसँग असहमत हुने, आफ्नो निर्देशन नमान्ने र राष्ट्रिय हितको मात्र कुरा गर्नेहरूप्रति आफूलाई वरिष्ठ कम्युनिस्ट नेता हौं भन्नेहरूको यो व्यवहार साँच्चै तीतो थियो । कम्युनिस्ट इन्टरनेसनलले अर्काको देशको वस्तुस्थिति नबुझी निर्देशन दिँदा कोरिया र चीनमा विदेशी नेताहरूले हार खानुपरेको थियो र अन्ततः यिनै सब कारणले गर्दा कम्युनिस्ट इन्टरनेशनल नै बन्द हुन पुगेको थियो । ०४६ सालअघिसम्म पनि नेपालका कैयौं कम्युनिस्ट पार्टी भारत, रुस र चीनको इशाराअनुसार चल्ने गर्थे । नेपालीहरूको त्यही दास मनोवृत्तिले गर्दा विदेशीहरू अरु बढी हौसिँदै जान्थे ।

दशकौंसम्म बि्रटिस उपनिवेशमा बाँच्नेहरूले अरूमाथि पनि उपनिवेश लाद्न खोज्नु स्वभाविक कुरा हो, तर, आफूमाथिको अपमान सही, राष्ट्र, राष्ट्रियतालाई अपमानित हुन नदिनुचाहिँ सबैभन्दा महत्त्वपूर्ण पक्ष हो । मदन भण्डारीले हामीलाई हरदम त्यो पाठ सिकाएर जानुभएको छ । प्रचण्ड कमरेडले मदनबाट यो पक्ष नसिकेको देख्दा उदेक लाग्छ ।

प्रतिक्रिया दिनुहोस