घुस खाने ठाउँ नपाएर कांग्रेसी कर्मचारीहरुले भाँडभैलो मच्चाए : मन्त्री यादव

सफल खबर संवाददाता

बुधबार, ०१ जेठ २०७६, १८ : ४२
घुस खाने ठाउँ नपाएर कांग्रेसी कर्मचारीहरुले भाँडभैलो मच्चाए : मन्त्री यादव

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले नेपाली कांग्रेस पक्षधर कर्मचारी युनियनका नेताहरुले मन्त्रालयमा अनावश्यक भाँडभैलो मच्चाएको प्रतिक्रिया दिएका छन् ।

बुधबार दिउँसो मन्त्रालय कार्यकक्षमा हात हालाहाल भएको विषयलाई लिएर मन्त्रीे यादवसँग कुरा गर्दा उनले कर्मचारीको हक हितमा काम गरिरहेका बेला कांग्रेस पक्षधर कर्मचारीहरुले अनावश्यक बखेडा झिकेको अरोप लगाए ।

‘कांग्रेस पक्षधर कर्मचारीका नेताहरुलाई घुस खाने ठाउँ चाहिएको रैछ, त्यही विषयमा झगडा गरे’ मन्त्री यादवले भने । 
सचिवालयमा आएर अनेक बहाना झिक्दै बबाल मच्चाइरहेका कर्मचारी नेताहरुलाई यो नेतागिरी गर्ने ठाउँ होइन भनेर भन्न नपाउँदै उनीहरुले आफूमाथि जाइलाग्न खोजेको मन्त्री यादवको भनाइ छ ।

यसअघि (आजै) सरुवाको विषयलाई लिएर मन्त्रीमाथि हातपात भएको भन्दै प्रकाशन भएका समाचारका विषयमा मन्त्री यादवले केही डिजिटल पत्रिकाहरुले अतिरञ्जना फैलाउन खोजेपनि वास्तविकता त्यो तहको नभएको प्रतिक्रिया दिए ।

नेकपा निकट विनोद खड्कालाई उद्योग विभागमा घुस लिएर सरुवा गरेको आरोप लगाउँदै कांग्रेस निकट कर्मचारीहरु युनियनका नेताहरु मन्त्रीको कार्यकक्ष घेर्न पुगेपछि आज दिउँसो मन्त्रालय कार्यकक्षमै  झडपको स्थिति सिर्जना भएको थियो ।

यो पनि पढ्नुहोस्,

उद्योगमन्त्री यादव र कर्मचारीहरुबीच मन्त्रालयमा धकेला धकेल

प्रतिक्रिया दिनुहोस