काठमाडौँ । नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री गोपालमान श्रेष्ठले महामन्त्री गगन थापाको साहस र भिजनले पार्टीलाई थप सुदृढ बनाएको बताएका छन् । हालै सम्पन्न संघीय संसद् निर्वाचनको परिणामपछि महामन्त्री थापालाई एक पत्र लेख्दै नेता श्रेष्ठले वर्तमान चुनौतीपूर्ण अवस्थामा उनको नेतृत्वको प्रशंसा गरेका हुन् ।
निर्वाचन परिणाम अपेक्षाअनुसार नआए पनि लोकतन्त्रको रक्षा र विधिको शासन सुदृढीकरण नै मुख्य उपलब्धि रहेको श्रेष्ठको ठहर छ । ‘निर्वाचनको नतिजाभन्दा पनि हाम्रा लागि लोकतन्त्रको रक्षा र राजनीतिक अस्थिरताको अन्त्य महत्त्वपूर्ण हो,’ श्रेष्ठले पत्रमा उल्लेख गरेका छन्, ‘देश फेरि लयमा फर्कन थालेको छ र यस यात्रामा तपाईंको नेतृत्वले हामीलाई आशा र दिशानिर्देश दिएको छ ।’
पार्टीभित्र राजीनामाको चर्चा चलिरहेका बेला श्रेष्ठले अहिलेको घडीमा राजीनामा दिनु पार्टी र देश कसैको हितमा नहुने स्पष्ट पारेका छन् । उनले यसलाई नेतृत्वको असफलताभन्दा पनि जनताको परिवर्तनको चाहनाअनुरूप कांग्रेसलाई पूर्ण रूपान्तरण गर्न नसकिएको चेतावनीका रूपमा बुझ्नुपर्ने बताएका छन् ।
‘गगन बाबु, तपाईंले देखाएको साहस र युवाहरूलाई प्रेरित गर्ने क्षमताले हामीलाई अझ दृढ बनाएको छ,’ श्रेष्ठले लेखेका छन्, ‘यस कठिन घडीमा तपाईंलाई सबै कांग्रेसीजनले एकढिक्का भएर साथ दिनु आवश्यक छ ।’
उनले वडा तहदेखि केन्द्रसम्मै संगठन सुदृढीकरणका लागि संकल्पका साथ अघि बढ्न अपरिहार्य रहेको बताउँदै महामन्त्री थापाको नेतृत्वमा नयाँ ऊर्जा र रूपान्तरणको बाटो देखिएको विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेसलाई समयसापेक्ष बनाउँदै युवाहरूको आकांक्षा आत्मसात् गर्नुपर्ने सन्देश यो निर्वाचनले दिएको समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, ०७ : २९
लेखकबाट थप