कांग्रेस र एमालेमा को बन्लान् दल नेता ?

सफल खबर संवाददाता

सोमबार, २५ फागुन २०८२, ०९ : २०
कांग्रेस र एमालेमा को बन्लान् दल नेता ?

काठमाडौं । प्रतिनिधिसभा चुनावले मरासन्न हुने गरी घाइते बनेका एमाले र कांग्रेसमा अब शीर्ष नेताहरु पार्टीको दल नेता बन्ने बाटो बन्द भएको छ ।

प्रत्यक्ष तर्फ चुनाव लडेका कांग्रेस र एमाले दुवै पार्टीका पदाधिकारी कोही पनि चुनाव जित्न सकेनन । जसकाकारण अब यी दुवै दलको संसदीय दलको नेता को बन्लान् ? अहिले चर्चा हुन थालेको छ । 

यो समाचार तयर पार्दासम्म कांग्रेस प्रत्यक्षमा १७ (थप १ स्थान इलाम १ मा अग्रता ) स्थानमा विजयी भएको छ । उसको अहिलेसम्म गणना भएको मतका आधारमा समानुपातिक मत १६ प्रतिशत प्राप्त भईरहेकोले समानुपातिकतर्फबाट सरदर १९/२० जना सांसद थप गरेर कुलमा ३७/३८ जना सांसदले संसदमा प्रतिनिधित्व गर्नेछन् । तर प्रत्यक्ष र समानुपातिक तर्फबाट गरेर पार्टी पदाधिकारी नरहेका माउ बिनाको चल्लाको अवस्थामा कांग्रेसका सांसदहरु संसदमा हुने देखिएको छ ।

उता नेकपा एमालेको हालत पनि उस्तै छ । एमालेको प्रत्यक्षमा ८ जित र एक स्थान संखुवासभामा अग्रता कायम रहेको अवस्था छ । समानुपातिक तर्फ सरदर १३ प्रतिशत मत नेकपा एमालेले पाईरहेको छ । यो आधारमा उसका समानुपातिक तर्फबाट १६/१७ जना सांसदहरु निर्वाचित हुने अवस्था देखिएको छ । दुवैतर्फ गरी एमालेको संसदमा कुल २५/२६ जना सांसद रहने देखिएको छ । एमालेको पनि प्रत्यक्ष तर्फ चुनाव लडेका १२ जना पदाधिकारी नै पराजित भएका छन् । यस हिसावले हेर्दा उसको अवस्था पनि संसदमा कांग्रेसको जस्तै चिल्लीविल्लीकै देखिन्छ । 

भलै सिट संख्यामा निक्कै खुम्चिएको नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड भने रुकुम पूर्वबाट प्रत्यक्षमा चुनाव जितेर आएका छन् । यस हिसावले नेकपाको दल नेता प्रचण्ड नै हुने निश्चित छ । झण्डै दुई तिहाई सांसद सहित संसदमा उपस्थित हुन लागेको राष्टिय स्वतन्त्र पार्टीले भावी प्रधानमन्त्रीका रुपमा बालेन शाहलाई प्रस्तावित गरेर चुनावमा गएकोले दल नेता बालेन हुने लगभग निश्चित छ । 

तर कांग्रेस र एमालेमा दल नेता को बन्लान् ? भन्ने बारेमा भने अनेक टिका टिप्पणी शुरु भएको छ । एमालेमा प्रत्यक्ष निर्वाचित सबै पुरुषहरु मात्रै छन् । एमालेको समानुपातिक सूचीमा आदीबासी जनजाति क्लष्टरमा महिलातर्फ पहिलो नम्बरमा भूमिका लिम्बु सुब्बाको नाम छ । आदिवासी जनजाति क्लस्टर अन्तर्गत पुरुषतर्फ पहिलो नम्बरमा रामबहादुर थापा मगरको नाम छ । खसआर्य महिलातर्फ महिलो नम्बरमा पद्मा कुमारी अर्याल, दोस्रोमा टुकाभद्रा हमालको नाम छ । खसआर्य पुरुषतर्फ पहिलो नम्बरमा गुरुप्रसाद बराल, दोस्रोमा पुष्पराज कँडेलको नाम छ । 

थारु कलस्टर अन्तर्गत महिलामा मञ्जुकुमारी चौधरीको नाम पहिलो नम्बरमा छ । दलिततर्फ महिलामा पहिलो नम्बरमा विष्णुमाया विकको नाम छ । दलित पुरुषतर्फ जितबहादुर दर्जी गौतमको नाम पहिलो नम्बरमा छ । मधेशी महिला कलस्टरमा पहिलो नम्बरमा रिंगला यादवको नाम छ । एमालेले समानुपातिक सूचीमा विभिन्न कक्लष्टरबाट यी नामहरुबाटै अब सांसद बनाउनुपर्ने अवस्था छ । 

यसरी हेर्दा रामबहादुर थापा बादल, पद्माकुमारी अर्याल, गुरु बराल, भूमिका लिम्बु, विष्णुमाया विक मञ्जुकुमारी चौधरी लगायतबाट नै एमालेले सांसद बनाउनुपर्ने हुन्छ । यस हिसाले हेर्दा बादल अहिले एमालेको अध्यक्ष ओलीपछिको दोस्रो बरियतामा रहेको उपाध्यक्ष समेत रहेकोले उनलाई दल नेता बन्ने अवसर पाउने सम्भाबना छ । 

संसदमा कांग्रेसले प्रमुख प्रतिपक्षी दलको नेताको भूमिका पाउने छ । सिट संख्याका आधारमा दोस्रो दल कांग्रेस भएकोले कांग्रेसमा दल नेता बन्न थप रस्साकस्सी हुने देखिन्छ । कांग्रेसमा आदीबासी जनजाति कोटमा भीष्मराज आङदाम्वे, महिलातर्फ गीताकुमारी सेन्दाङ, थारु पुरुषतर्फ मीनराज चौधरी, महिलातर्फ प्रमिला कुमारी गच्छेदार, पुरुषतर्फ जमिलअख्तयर मिया, महिलातर्फ शाहजान खातुन, मधेसी तर्फ चन्द्रमोहन यादव, निनुकुमारी कर्ण, दलिततर्फ मानवहादुर नेपाली, हरिनादेवी कामी, खसआर्य पुरुष अर्जुननरसिंह केसी, सुशिला ढकाल आचार्यलगायतको नाम छ ।

कांग्रेसमा सभापति गगन थापा आफै चुनावमा पराजित भएका कारण दल नेता को बन्छन् भन्नेमा चासो अलिक बढी छ । प्रमुख प्रतिपक्षी दलको नेताको सुविधा पाउने, संवैधानिक परिषद्को सदस्य समेत हुने भएकोले कांग्रेसमा दल नेता बन्न आकांक्षा नेताहरुको बढी हुनेछ । 

अर्जुननरसिंह केसी सभापति गगनका आफ्नै ससुरा हुन् । केसीलाई बनाउँदा गगनमाथी थप आरोप लाग्ने सम्भाबना पनि छ । तर केसीले अनुभवी र पाकाबाट नै दल नेता छान्नुपर्ने बताएर त्यो पद हत्याउनसक्ने सम्भाबना देखिएको छ ।

प्रतिक्रिया दिनुहोस