त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह

मंगलबार, ३१ बैशाख २०७६, १४ : ११
त्रिपोलीमा जारी सङ्घर्ष रोक्न राष्ट्रसङ्घको आग्रह

राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घले घाइते र बिरामीको उद्धारका लागि लिबियाको राजधानी त्रिपोलीमा जारी सशस्त्र सङ्घर्ष तत्काल रोक्न युद्धरत पक्षहरुलाई आग्रह गरेको छ । 

राष्ट्रसङ्घका महासचिवका उपप्रवक्ता फरहान हकले जारी लडाइँका कारण मानवीय सङ्कट चरम अवस्थामा पुग्न लागेको भन्दै चिन्ता व्यक्त गर्नुभएको छ ।

गत अप्रिलयता दुई हजारभन्दा बढी मानिस घाइते भएका छन् भने सयौंको ज्यान गइसकेको छ । लिबियामा हाल राष्ट्रसङ्घ समर्थित लिबियाली सरकार र पूर्वी क्षेत्रमा सक्रिय जनरल खलिफा हफ्तार निकट सैनिकबीच त्रिपोलीलाई नियन्त्रण गर्ने नाममा भिडन्त जारी छ ।

गत सातादेखि दुबै पक्षबीचको लडाइँ अझ व्यापक भएको राष्ट्रसङ्घको भनाई छ । हकका अनुसार करिब तीन हजार २०० शरणार्थी र आप्रवासीहरु बन्दी अवस्थामा रहन बाध्य छन् । उनीहरुलाई खाना, पानी र स्वास्थ्यसेवाको चरम अभाव छ ।

राष्ट्रसङ्घीय आप्रवासन एजेन्सीका अनुसार करिब ६७ हजार मानिस आफ्ना घर छाडेर भागेका छन् भने करिब एक लाख मानिस जोखिममा परेका छन् ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस