Safal Khabar - उपन्यास पढ्दा बुद्धिले छुट्टी पाओस
आइतबार, २९ भदौ २०७६ (Sunday, 15 September, 2019)
उपन्यास पढ्दा बुद्धिले छुट्टी पाओस
सोमबार, २३ बैशाख २०७६, १४ : १६
उपन्यास पढ्दा बुद्धिले छुट्टी पाओस

– सिके लाल
नेपाली साहित्य केलाई भन्ने ? अंग्रेजीमा लेखिएको नेपाली साहित्य हो कि होइन ? बहस धेरै भएको छ । त्यसको लागि पहिले अंग्रेजी भाषा, नेपाली भाषा हो कि होइन भन्ने बहसमा जानुपर्छ । नेपाली भाषा के—के हुन ? नेपालका मातृ भाषाहरु मात्रै नेपाली भाषा हुन् ? वा नेपालमा निरन्तर प्रयोग हुने अन्य भाषा पनि नेपाली भाषा हुन ? के सर्ट पाईन्ट नेपाली लुगा हो, या होइन ? 
केही कुराहरु यस्ता हुन्छन जुन निरन्तर प्रयोगपछि । निरन्तर उपयोगपछि त्यसले स्थानियता हाँसिल गर्छ र त्यसलाई स्थानिय मान्नुपर्छ । त्यसैले यदि अंग्रेजीमा नेपालको बारे लेखिन्छ, भने त्यसलाई नेपाली साहित्य मान्नमा कुनै अप्ठेरो छैन् । तर, यति भन्दा भन्दै पनि अंग्रेजीमा लेखिएको नेपाली साहित्यका पाठक स्वभावत ः केही सिमित हुन्छन् । किनभने अंग्रेजी भाषाको प्रचलन नेपालमा बढेको त्यति धेरै भएको छैन् । अंग्रेजको उपनिवेश रहेको देशहरुमा अंग्रेजी भाषा सरकारी भाषाको रुपमा विकसित भयो । तर, नेपालमा भने त्यसो हुन पाएन ।
नेपालमा अंग्रेजीको प्रयोग अन्तर्राष्ट्रिय सम्पर्क भाषाको रुपमा लाहुरेहरुले गर्दा भएको हो ।  त्यसपछि केही पादरीहरुले चलाएको स्कुलले गर्दा विकसित भएको हो । जति जति अन्तर्राष्ट्रिय समुदायको बलियो सदस्यको रुपमा नेपाल स्थापित हुँदै गयो त्यही रुपमा अंग्रेजीको प्रयोग र महत्व बढ्दै गएको हो ।
दुर्भाग्यवश अंग्रेजी भाषाको प्रयोगसँगै के आएको छ भने लामो टेक्स÷पाठ पढ्ने बानी घट्दै गएको छ । हाम्रो समयमाथि अरु मागहरु÷डिमान्डहरु धेरै बढेका छन् । जस्तो आज हामीसँग महाभारत वा रामायण पढ्ने फुर्सद छैन् । यस्ता लामा टेक्सट भएका पुस्तक पढ्ने हाम्रो क्षमता कम हुँदै गएको छ ।
अमेरिकाको एकजना प्रसिद्ध लेखक गौरबिदायल ले भनेका छन् । ‘उपन्यास बडा जटिल लेखन हो । उपन्यास लेख्न थालियो भने जीनवले कुन–कुन बाटो लिने हो थाह हुँदैन् । कुनै एक व्यक्तिको एक दिनको मन भित्रका सबै भावहरु र कामहरुको बारेमा मात्रै उपन्यास लेख्ने हो भने कति पेजको होला तपाई अन्दाज लगाउन सक्नुहुन्छ ?’ त्यही भएर कुनै बेला भनिएको थियो ‘नोभेल ईज द इपिक अफ ट्वान्टिथ सेन्चुरी ।’ यो भन्दा अगाडीको शताब्दीको महाकाव्य भनेको उपन्यास हो । 
महाकाव्य कुन अर्थमा भने, महाकाव्य लामो भएर होईन्, कविता धेरै भएर होइन । महाकाव्य भनेको सबै भावनाहरुलाई समेट्ने हो । र, ति सबै भावनालाई समेट्ने हो भने त्यो संभव हुँदैन् । त्यसकारण जति लामो उपन्यास लेखेपनि कता—कता, के—के नपुगेको जस्तो हुन्छ । उपन्यासकार साथिहरुलाई यस्ता कुरा अझ राम्रोसँग यस्ता कुरा थाह हुन्छ ।
हरेक उपन्यास लेखिसकेपछि त्यसमा केही न केही नपुगेकै हुन्छ । प्रत्येक उपन्यास र लेखकले अन्ततः कुन कुरामा सन्तुष्ट हुनुर्छ भने पाठकलाई उपन्यासले धेरै कुरा कल्पना गर्नका लागि ठाउँ छोडिएको छ कि छैन ? यदि यसो भयो भने मैले यति पाना लेखे उति पाना लेखे भनिराख्नु पर्दैन । त्यसपछि पाठकले ति खाली पानाहरु आफ्नो कल्पनाले भर्छ । 
त्यसैले उपन्यासको भाषा र उपन्यासकारको भाषा एउटै हुन जरुरी छ । त्यसपछि उपन्यासका पाठक, उपन्यास र उपन्यासकारको पहिलो भाषा एउटै भएन भने उपन्यास  बुझ्न जटिलता आउँछ । पाठक अथवा लेखको पहिलो भाषा उपन्यासमा नभएपछि कल्पना शत्तिले प्वाँख पाउँदैन् । कल्पनाशत्तिले प्वाँख पाएन भने कल्पना उड्न सक्दैन् । अनि त्यो उपन्यास सामान्य आख्यान, न्यारेटिभ मात्रै भएर बस्छ ।
त्यो नोभेल नयाँ हुन पाउँदैन् । त्यसैकारणले पनि अंग्रेजी उपन्यास नेपाली लेखकले लेख्न रुचाउँदैनन् । र विदेशी लेखकहरुले नेपालको बारेमा लेखेको अंग्रेजी उपन्यास पढ्दा हामीलाई असहज लाग्छ । किनभने पाठकको कल्पनाले उडान भर्न पाउँदैन् ।
गौरबिदालकै भाषामा भन्ने हो भने राम्रो कथा लेख्न गाहे छ । कहिलेकाही होला तर, धेरैजसो राम्रो कथा लेख्न गाहे छ । हामीले कोसिस गर्ने भनेको राम्रो वाक्य लेख्न मात्रै हो । राम्रा वाक्य लेख्न कविहरु पोख्त हुन्छन् । जतिसुकै राम्रो गद्य लेखिएपनि पद्य जति शत्तिशालि नुहुनुको कारण पनि यही हो । थोरै शब्दमा धेरै भाव गद्य लेख्नेहरुले व्यक्त गर्न सक्दैनन् । अनि गौरबिदाल के भन्छन भने हामीले आकांक्षा राख्ने भनेको ‘टु राइट अ पर्फेक्ट सेन्टेन्स, ह्विच उइ क्यान डु वान्स इन ह्वाईल ।’
एउटा राम्रो वाक्य अथवा शब्द लेखिदियो भने त्यो सँग सम्बन्धित हाम्रा कल्पनाहरु खुल्छन र पाठकलाई कल्पनाको उडान भर्न सहज हुन्छ । जस्तो पिटर जे कार्थकले उपन्यासमा प्रयोग गरेको शब्द ‘बुम बक्स’ । यो शब्द कहाँबाट आएको हो भने, अंगेजहरुको पालामा दिशा बस्ने ठाउँ त त्यति धेरै हुँदैन थियो भारतमा । त्यसको लागि टिनको बट्टा राखिन्थ्यो तल, अनि त्यो टिनको बट्टामा बुम–बुम आवाज आउँथ्यो । यही बाट त्यो बुम बक्स शब्द पैदा भएको हो । यो शब्द अहिले अंग्रेजीमा प्रचलित पनि छ ।
हरेक शब्दको आफ्नो एउटा संगित हुन्छ । जुनसुकै शब्दलाई पनि तपाई उच्चारण गर्नुहोस, त्यो उच्चरण शबैभन्दा उत्तम हो जुन उच्चरणलाई सुन्दाखेरि लागोस कि उच्चारण गरिएको शब्दको यो नै मौलिक संगित हो । त्यसैले धर्मको कुरा गर्नुभयो भने जहिले पनि कुरानको बारेमा के भन्ने गरिन्छ भने त्यो पाठ गर्नै पर्छ । गिता पनि पाठ नै गर्नुपर्छ । बाईबल पाठ नै गर्नुपर्छ । मन्त्रोच्चरण नै गर्नुपर्छ । यस्तो किन भनिएको हो भने प्रत्येक शब्दको संगित समात्नको लागि यो गरिएको हो । 
भाषाको अर्थ मात्रै होइन त्यसको परिप्रेक्ष्य पनि बुझ्नु लेखक र पाठक दुवैका लागि निकै ठूलो चुनौति हुन जान्छ । जब पाठक र  लेखक दुवैले भाषाको परिप्रेक्ष्य बुझ्छन तब उनिहरुले त्यो भाषालाई आफु अनुकुल नृत्य गराउन सक्छन् ।
साहित्य त पढ्दा ति शब्दको सुगन्ध नाकमा छाओस, कानमा शब्दको संगित गुञ्जियोस, आँखाले त्यो शब्दको सौन्दर्य देखोस, मस्तिष्कले अनुभव गरोस र हृदय त्यो शब्दको भावनासँग हाँसोस, रोओस त्यसपछि मात्रै साहित्य आपूmलाई प्रमाणित गर्छ । र यो आख्यान मात्रै भएर बस्नबाट जोगिन्छ । 
अर्को एउटा कुरा छ गौरबिदालको । उनले के भनेका छन् भने, साहित्य हामी दाहिने हातले लख्छौ र गैर साहित्य देव्रे हातले लेखिन्छ । अब उनले किन यसो भने त्यसको व्याख्या विभिन्न प्रकारले गर्न सकिन्छ । 
एउटा त के हो भने साहित्य लेख्ने लेखकले हो । उदाहरणको लागि कति साहित्यकारले भन्छन मैले लेखेको मात्रै हो । हात मेरो थियो तर कसै अरुले मलाई लेखाईरहेको थियो, यस्तो भन्ने मान्छे लेखक हो । 
यसको पुष्टिका लागि महाभारतको प्रसंग लिनुहोस, महाभारतमा पनि व्यासलाई महाभारत लेख्नुपर्ने हुन्छ । तर उनी लेखकको खोजिमा हुन्छन् । त्यही शिलशिलामा उनी गणेशकहाँ पुग्छन । तर, गणेशले भन्छन म लेख्न त लेख्छु एउटा शर्तमा । शर्त के थियो भने मेरो कलम रोेकिनु हुदैन । अर्थात व्यासले धाराप्रवाह महाभारतको कथा भन्नुपर्ने ताकी गणेशको कलम नरोकियोस् । यसलाई ‘स्पिड अफ थट’ भनिन्छ । यो एउटा मिथ हो । व्यासको मुखबाट र गणेशको कलमबाट नियतीले भन्न खोजेको कथा आएको हो । त्यो दाहिने हातको कथा हो । साहित्यकारको लेखकको कथा हो ।
भावनाको प्रवाह, पिडाहरु, सुखका कुराहरु, मातृत्वका कुराहरु, प्रेमका कुराहरु, दुःखका कुराहरु यी जे जति छन् यस्ता लेखनीहरु दाहिने हातबाट लेखिन्छन् ।
बायाँ, देव्रे हातबाट लेखिने विवरण हो । लेख हो । विद्धतपुर्ण पुस्तक हुन् । यो कस्तो हुन्छ भने निकै विचार गरेर, धेरै मेहनत गरेर लेखिन्छ । सामान्य व्यत्तिलाई बायाँ हातबाट लेख्न कठिन हुन्छ । प्रष्ट भन्दा यस्तो लेखनी लेख्नेलाई अथर भनिन्छ । अथर भनेको, हरेक कुरामा आफुले भन्ने वृतान्तमा एउटा अर्डर खोज्नु शिलशिलेवार हुनु । तर्कसंगत हुनु, एउटा बुँदा बाट अर्को बुँदामा पुग्नु । लेखनको सुरुवात, पेटबोली, उपसंहार हुनु त्यसका अन्य पाठहरु हुनु । यस्तो लेखनी बायाँहाते लेखन हो ।
लियो टल्सटायको मदर पनि साहित्य नै हो । दायाँ हाते लेखन नै हो । तर यो कथा देव्रे हतले लेखिएको हो । प्रेम चन्दका हिन्दीमा लेखिएका कथाहरु दायाँ हातले लेखिएका भए पनि बायाँ हातको प्रभाव परेका कथाहरु हुन् । दायाँ र बायाँ हातको मिश्रण भएको साहित्य अलिक जटिल हुन्छ । यस्तो भएमा लेखक पनि अलमलमा पर्छ । पाठक त पर्छ नै ।
दायाँ हातले लेख्दा सत्य लेख्ने हो । तर, बायाँ हातले लेख्दा तथ्य लेख्ने हो । साहित्यलाई तथ्यसँग खासै मतलव हुनुपर्दैन । तथ्य भनेको बिज मात्रै हो । बिजलाई एउटा बास्केटमा राखेर सर्भ गर्ने हो भने त्यो साहित्य हुँदैन । साहित्यमा त्यो बिजबाट पलाएको मुना हुन्छ, बोट हुन्छ, बोटमा लागेको किरा हुन्छ, फूल हुन्छ, झरेका फूल हुन्छन, टिपिएका फूल हुन्छन, काँडा हुन्छ, फल हुन्छ, अर्को बिज बन्ने प्रक्रिया हुन्छ, फूलमा भवँरा लागेको हुन्छ, बर्खामा पानीले सताएको कुरा हुन्छ, जाडोमा शितले सिञ्चत गरेको कुरा हुन्छ, गर्मिमा पात मौलाएको कुरा हुन्छ, पात हुन्छ । बिजको सन्तुलित प्रयोग भयो भने मात्रै राम्रो कलात्मक साहित्य आउँछ ।
टिमोथी गार्टेन एस ले एकठाउँमा प्रश्न गरेका छन् ‘साहित्यकारहरु किन यत्रो तथ्यमा अल्झिन्छन ?’ आखिर सत्रौँ शताब्दीसम्म फ्याक्टको परिभाषा के थियो भने, ‘इट्स अ क्रिमिनल एक्ट ।’ क्रिमिनल एक्टलाई फ्याक्ट भनिन्थ्यो । किनभने जब कुनै मुद्धा मुकदमाको अन्वेषण गर्दा फ्याक्ट खोजिन्थ्यो । यस्तो अवस्थामा मात्रै तथ्यको कुरा आउँथ्यो । 
अहिले कसैको सन्तान प्रमाणित गनुपरेमा पनि डिएनए टेस्ट गरिन्छ । यो तथ्य हो । तथ्य त्यहाँ मात्रै चाहिन्छ जहाँ डाउटेड क्रिमिनालाटि हुन्छ । धेरै लामो कालसम्म के थियो भने यो कसैको सन्तान  हो भन्नलाई सावित गरिरहनुपर्ने थिएन् । किनभने त्यो सत्य हो र सत्यलाई सावित गरिरहनुपर्दैन ।
साहित्य सत्यसँग धेरै जोडियो भने पठनियता धेरै बढ्छ । तर, आजभोली त अखबार पढेर मान्छेहरु पाठक भएका छन् यस्ता मान्छेलाई तथ्य मिसाईएको साहित्य मन पर्दो पनि हो । तर साहित्यको कोर हार्ट पाठकलाई भने तिनलाई सत्यमा धेरै फ्याक्ट राखेको दिमागको दाँतमा लाग्ने ढुँगा जस्तै बन्छ । 
तथ्यहरु के हुन त आखिर ? तथ्य भनेको हामी भन्दा पहिलेका शासकले तिनको गुनगान गाउनेहरुले स्थापित गरिदिएका कुराहरु न तथ्य हुन् । इतिहासको तथ्यको कुरा गर्ने हो भने त्यो पुर्ण रुपले एकपक्षिय भैदिन्छ । यस्ता तथ्य भनेका संभ्रान्तमुलक तथ्य हुन् । यी तथ्यहरु सधैँ सत्य हुन्छन भन्ने कुनै आधार पनि छैन् ।
जुनसुकै समाजमा पनि संभ्रान्त भनेको एउटै रहिरहन्छ । संभ्रान्त वर्ग खासै परिवर्तन हुँदैन । त्यसैले हाम्रा धेरैजसो कथाहरु संभ्रान्तको उत्पादन कसरी हुन्छ त्यो संग जोडिएको हुन्छ । जो संभ्रान्त छ, उ त्यो भन्दा तल आउन चाहाँदैन, जो मध्यव वर्गिय छ, त्यसलाई थाह हुन्छ संभ्रान्त हुन गाहे छ तर, पनि उ तल ओर्लिनु पर्ला कि भन्न डरमा रहन्छ । यता सर्वहाराको के हुन्छ भने गुमाउने कुरा केही हुँदैन, त्यसैले उसका महत्वकाक्षँहारु मध्यम वर्गिएमा सिमित हुँदैनन् । उ सोझै संभ्रान्त हुन चाहान्छ । यो संर्घषमा धेरै कथाहरु जन्मिन्छन् । 
पुराना संभ्रान्तहरु आफ्नो स्थिती कायम राख्न नयाँ नयाँ काम गरिरहन्छन् । यीनिहरुलाई ‘ईन टाईटल्ड संभ्रान्त’ भन्दा हुन्छ । अर्थाज जन्मैदेखि संभ्रान्त भएर जन्मिएका । 
अर्कोथरि छन् मध्यवर्ग, मेरिटोक्रेसिबाट ‘इर्मजेन्ट एलिट’ वर्ग । यस्तो वर्गका टेस्टहरु पूर्ण संभ्रान्तको जस्तो विकसित भईसकेका हुँदैनन्, परिष्कृत भईसकेका हुँदैन । तर, यस्तो वर्गसँग प्रसस्तै पैसा हुन्छ, हतमा शत्ति हुन्छ । र यस्तो वर्ग संभ्रान्त जस्तै हुन चाहान्छ । यो वर्गमा मूल्य र मान्यताहरु संभ्रान्तका जस्तो पुर्ण उपयोगितावादी हुँदैनन् । न सर्वहाराको जस्तो संघर्षमय हुन्छ । यस्तो वर्गले आफनै प्रकारको समाजको कल्पना गरेको हुन्छ । यो वर्गले आफ्नै प्रकारको मूल्य र मान्यता निर्माण गरको हुन्छ ।
अर्को हुन्छ ‘स्ट्रगलिगं एलिट’ । यो वर्गको प्रतिनिधित्व सामान्यतः अपराधीकरण गरेको पात्रलाई देखाईन्छ । (यहाँनिर राजनीति जोड्न चाहे, राजनीतिमा रुचि छैन भने उपन्यास लेख्न सकिदैन् । लेखकले जतिसुकै भनोस मेरो उपन्यासमा राजनीति छैन । त्यसमा राजनीति हुन्छ । र राजनीतिक मूल्य र मान्यता हाम्रा समयबाट लिईएका हुन्छन् । मेरो समय, पिटरको समय, किशोर नेपालको समय  हाम्रो समय आकांक्षा र आदर्श निकै ठूलो भएको समय  हो । हाम्रो योगदान र सहभागित सिमित थियो, हाम्रो जीवन पनि सिमित थियो । अपेक्षाहरु असिमित र अत्यन्त ठूला थिए ।) स्ट्रगलिगं एलिट अथवा आदिवासी समुदायको लागि अगाडी बढ्ने भनेको अपराध कर्मबाट मात्रै हो भन्ने मान्यता अझै पनि छ । 
उदाहरणका लागि मुलधारका हिन्दी चलचित्र, हलिउडका मुलधारका चलचित्र गौर हेर्नुहोस तपाई बुझ्नुहुन्छ । त्यहाँ जहिले पनि अपराधी देखाउँदा निम्न वर्गका पात्र देखाईन्छन् ।
मलाई लाग्छ हाम्रो समाजलाई एउटा नदिसँग तुलना गर्न सकिन्छ । जस्तो बगिरहेको नदिमा एउटै पानीलाई दुईपटक छुन सकिदैन् । उहि स्थानमा बसे उहि नदिमा एउटै पानीलाई दुईपटक छुन सकिदैन् । यो दर्शनको कुरा भयो । जसरी समय बग्छ त्यसैगरि समय पनि बग्छ । तर कतै कतै नदी पनि यस्तो स्थानमा पुग्छ जहाँ नदि ठोक्किन्छ, अथवा समुन्द्रमा गएर ठोकिन्छ । 
यस्तो अवस्थामा त्यो नदिका पानी न त ताजा रहन्छ, न नुनिलो नै बनिसकेको हुन्छ । यो रुपान्तरको अवस्थामा समाज पुगेको हुन्छ् । यस्तो रुपान्तरको समयमा समाजका सबै मूल्य र मान्यताहरु फ्ल्क्समा हुन्छन । निश्चित केही पनि हुँदन् । हरेक कुरा हावामा हुन्छ । कसले समात्ने हो, थाह हुँदैन ।
जानकारीको लागि उपन्यास वा कविता पढनु पर्यो भने समस्या हुन्छ । साहित्य पढ्ने भनेको अन्डरस्ट्यान्डीगंको लागि हो, इन्र्फमेसको लागि होइन् । उपन्यास पढ्दा म के चाहान्छु भने, बुद्धिले छुट्टी पाओस, मनले किताब पढोस् । अब यस्तो अवस्थामा पनि विकिपिडिया वा शब्दकोष पल्टाउनु पर्यो भने साहित्य के होला ?
(पिटर जे कार्थकको उपन्यास काठमान्डुइडसको  विमोचनमा सिके लालले व्यक्त गरेका विचारको सम्पादित अंश)

प्रतिक्रिया दिनुहोस