अण्डा उत्पादक किसान लगातार आन्दोलनमा, मूल्य बढाउन दबाब

मूल्य बढोस् भन्ने संघको पनि चाहना : अध्यक्ष कँडेल

सफल खबर संवाददाता

आइतबार, १५ बैशाख २०७६, १६ : ४०
अण्डा उत्पादक किसान लगातार आन्दोलनमा, मूल्य बढाउन दबाब

चितवन । अण्डा उत्पादक किसानहरु लगातार आन्दोलनमा होमिएका छन् । अण्डाको मूल्यवृद्धिलगायतका १० बुँदे माग राखेर अण्डा उत्पादक किसानहरु लगातार आन्दोलनमा होमिएका हुन् । आज अण्डा उत्पादक किसानहरुले अण्डा उत्पादक संघको केन्द्रीय कार्यालयमा धर्ना दिएका छन् । अण्डाको मूल्य वृद्धिको माग राख्दै किसानहरुले ३ घण्टा धर्ना दिएका हुन् । 
‘वैशाख २ गतेबाट अण्डाको मूल्यवृद्धिलगायतका माग राखेर आन्दोलनमा निस्किएका छौँ’ पश्चिम चितवन अण्डा उत्पादक कृषक समूहका सदस्य गोविन्द शर्माले भन्नुभयो, ‘विरोध र धर्नाका कार्यक्रम जारी रहेको छ ।’
पश्चिम चितवन अण्डा उत्पादक कृषक समूहले किसानहरुको आन्दोलनको नेतृत्व गरेको उहाँले बताउनुभयो । उहाँले अण्डा उत्पादक संघ केन्द्रीय कार्यालयले नै सप्लायर्सहरुसँग मिलेर अण्डाको मूल्य घटाएको आरोप लगाउनुभयो । 
पश्चिम चितवन अण्डा उत्पादक कृषक समूहले यसअघि संघको केन्द्रीय कार्यालय कमलनगर नारायणगढमा ताला लगाएको छ । यसअघिको विरोध प्रदर्शनमा कृषक समूहले संघका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेल बस्ने कुर्चीसमेत तोडफोड गरेका थिए । 
‘संघका अध्यक्ष नैतिकताको आधारमा पनि त्यो कुर्चीमा बस्ने अधिकार नभएको भन्दै अण्डा उत्पादक किसानहरुले ताला लगाउनुका साथै कुर्ची तोडफोड गरेका हुन्’ शर्माले भने । उहाँका अनुसार अण्डा उत्पादक किसानहरुले अण्डा संघ केन्द्रीय समितिको राजिनामा समेत मागेका छन् । 

अण्डा उत्पादक कृषक समूहले चरणबद्ध आन्दोलन थालेका छन् । समूहले पहिलो चरणमा अण्डाको मूल्य वृद्धिको माग राख्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, जिल्ला प्रशासन कार्यालय, भरतपुर महानगर, अण्डा उत्पादक संघ केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए । 
‘पहिलो चरणको आन्दोलनको माग सुनुवाई नभएपछि दोस्रो चरणको आन्दोलनअन्तर्गत कार्यालयमा ताला लगाउने, विरोध प्रदर्शन गर्ने, धर्ना दिनेलगायतका कार्यक्रम भइरहेको छ’ सदस्य गोविन्द शर्माले भन्नुभयो । उहाँका अनुसार प्रति क्रेट ३०० रुपैयाँमा विक्री भइरहेको प्रतिक्रेट ठूलो अण्डा घटेर २०० रुपैयाँमा झरेको हो । 
उहाँले भन्नुभयो, ‘अहिले किसानलाई प्रति अण्डा चार रुपैयाँ घाटा छ, एउटा अण्डा उत्पादन गर्न ११ रुपैयाँ लागत पर्छ, ६ रुपैयाँ ६६ पैसामा बेच्नुपरेको छ । किसान कहिलेसम्म मर्ने, कहिलेसम्म मारिरहने ?’ अण्डाको मूल्य वृद्धि, दानाको मूल्य समायोजन, भारतबाट आयातीत कृषिजन्य पदार्थमा लागेको भन्सार छुट नभएसम्म किसानहरु आन्दोलित हुने उहाँको भनाइ थियो । देशभरका किसानहरुको भेला गरेर अन्दोलनलाई अझ उचाइमा लैजाने उहाँले बताउनुभयो । 
यसअघि फागुनमा पनि किसान र अण्डा उत्पादक संघ र सप्लायर्सबीच भएको वार्ताले घटेको अण्डाको मूल्य वृद्धि भएको थियो । त्यतिबेला ठूलो अण्डा क्रेटको २३० बाट बढेर २९० पुगेको थियो । अहिले अण्डाको मूल्य घटेर क्रेटको २०० रुपैयाँ कायम भएको छ । 
अण्डा उत्पादक संघ केन्द्रीय समितिका अध्यक्ष त्रिलोचन कँडेलले अण्डाको माग नभएकाले मूल्य घटेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अण्डाका मूल्य घट्दा हामीलाई पनि घाटा छ, मूल्य बढोस् भन्ने हाम्रो पनि चाहना हो, तर बजारमा माग छैन के गर्ने ? घटाएर बेच्न बाध्य भएका हौँ, यो रहर होइन ? बाध्यता हो ।’
उहाँले सस्तोमा दिँदासमेत अण्डा विक्री नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सस्तो अण्डा दिँदासमेत विक्री भएको छैन, कुहिएर गएको छ, अब के गर्न सकिन्छ, नबेची फाल्ने कि सस्तोमा दिने ?’ उहाँले संघले घटाएर घट्ने र बढाएर बढ्ने अवस्था नरहेको र बजारको मागले मूल्य निर्धारण गर्ने बताउनुभयो । उहाँका अनुसार बजारलाई हेर्दा तत्काल अण्डाको मूल्य बढ्न सक्ने देखिदैन । उहाँले भन्नुभयो, ‘अण्डाको मूल्य बढाउन आन्दोलनमा जाने, कहाँ हो मूल्य वृद्धि हुने विकल्प दिनु पर्छ नि, खै विकल्प ? समस्या खडा गर्नेले समाधान नदिने ? 
उहाँले चिन्ता आन्दोलन गर्नेलाई भन्दा हामीलाई बढी भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी पनि किसान हो नि, हामीलाई चिन्ता छैन ?’ उहाँले ताला लगाएर कुर्ची तोडफोड गरेर समस्या समाधान नहुने बताउनुभयो । नेपालमा दैनिक ५० लाख अण्डा उत्पादन भइरहेको छ । 


 

प्रतिक्रिया दिनुहोस