भरतपुर महानगरको घोषणा : एचआईभी संक्रमित बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा

सफल खबर संवाददाता

शुक्रबार, ०६ बैशाख २०७६, १३ : ३७
भरतपुर महानगरको घोषणा : एचआईभी संक्रमित बालबालिकाको निःशुल्क स्वास्थ्य बिमा

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एचआईभी संक्रमित बालबालिकाको निःशुल्क स्वास्थ्य बिमाको घोषणा गर्नुभएको छ ।
आज भरतपुरमा भएको नगर बाल भेलामा प्रमुख दाहालले महानगरका भएका १९ जना एचआईभी संक्रमित भएका बालबालिकाको स्वास्थ्य बिमाको घोषणा गर्नुभएको हो । कार्यक्रममा प्रमुख दाहालले भन्नुभयो, ‘एचआईभी संक्रमित बालबालिकाको स्वास्थ्य बिमाको सम्पूर्ण खर्च महानगरपालिकाले नै व्यहोर्नेछ ।’ 
कार्यक्रममा प्रमुख दाहालले आजका बालबालिका भोलिको कर्णधार भएका बताउँदै भन्नुभयो, ‘संविधानले ग्यारेन्टी गरेका बालबालिकाको हकअधिकार सुनिश्चित गर्न महानगर प्रतिबद्ध रहेको छ ।’ कार्यक्रममा उहाँले बालबालिकाको क्षमता विकासको लागि विभिन्न कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘महानगरले बालबालिकाको लागि छात्रवृत्ति दिइरहेको छ, क्षमता विकासको लागि सामाजिक शाखाबाट विभिन्न कार्यक्रमहरु भइरहेका छन् ।’ 
कार्यक्रममा महानगर प्रमुख दाहालले छिटै भरतपुर महानगरपालिकालाई बालश्रम मुक्त महानगर बनाउने प्रतिबद्धता गर्नुभएको थियो । उहाँले सीमित बजेटका बावजुद पनि महानगरपालिकाले बालबालिकाको क्षेत्रमा अनेकौँ कामहरु गरिरहेको बताउनुभयो । 

कार्यक्रममा उहाँले भन्नुभयो, ‘महानगरका केही वडाहरु, केही टोलहरु बालश्रम मुक्त भइरहेका छन्, छिटै सिङ्गो महानगरलाई बालश्रम मुक्त महानगर घोषणा गर्नेछौँ ।’
कार्यक्रममा राष्ट्रिय सभाका सदस्य राममणि बिडारीले बालबालिकालाई मकैको घोगो फलाउने र धानको बाला झुलाउने शिक्षा चाहिएको बताउनुभयो । कार्यक्रममा उहाँले भन्नुभयोे, ‘अब सैद्धान्तिक मात्र होइन, व्यवहारिक शिक्षा चाहिन्छ, त्यसकारणले भरतपुर महानगरले त्यस्तै खालको शिक्षा नीति ल्याउन जरुरी छ ।’ 
कार्यक्रममा उपप्रमुख पार्वती शाहले आजका बालबालिका भोलिका कर्णधार भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय निर्माणमा बालबालिकाको ठूलो भूमिका रहेका छ, यसकारण बालबालिकाको हकअधिकार सुनिश्चित गरिनुपर्छ र महानगरपालिकाले बालबालिकाको हकअधिकार सुनिश्चित गरिहेको छ ।’
कार्यक्रममा सामाजिक महाशाखा प्रमुख शान्ताकुमारी पौडेल, सामाजिक विकासका तुलसीप्रसाद श्रेष्ठललगायतले मन्तव्य दिएका थिए । बाल भेला नगर बाल सञ्जालकी अध्यक्ष खुसी नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । भेलामा भरतपुर महानगरका २९ वडाबाट बालबालिकाहरुको प्रतिनिधि उपस्थित भएका थिए । 

प्रतिक्रिया दिनुहोस