नेपाल यूएईसँग एक रनले पराजित

सफल खबर संवाददाता

शनिबार, ३० चैत्र २०७५, १८ : ३५
नेपाल यूएईसँग एक रनले पराजित

काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत एसिया क्षेत्रको दोस्रो खेलमा नेपाल यूएईसँग एक रनले पराजित भएको छ । वर्षा भएर खेल बिथोलिएपछि नेपाल डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको हो ।

हरि चौहानको अविजित ६७ रनको मद्दतमा नेपालले यूएईलाई २४८ रनको लक्ष्य दिएको थियो । नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै २४७ रन बनाएको थियो । नेपालका लागि भिम सार्कीले ५३, रित गौतमले ४४, आशिफ शेखले २७ र कप्तान रोहित पौडेलले १८ रनको योगदान गरे । पवन सर्राफ १२, सन्दीप जोरा ४, कृष्णसिंह ऐरी २, सागर ढकाल २ तथा कुशल मल्ल र रसिद खान १/१ रनमा आउट भए । 
यूएईका लागि रिसर्फ मुखर्जीले सर्वाधिक ४ विकेट लिए । यस्तै मोहम्मद अराजद्दिनले ३, आरोन बेन्जामिन, अलिसन सराख्फु र पलानीपन मैयाप्पनले १/१ विकेट लिए । 

२४८ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको यूएईले २० ओभरमा ३ विकेट गुमाएर १२२ रन बनाउदा खेल अवरुद्ध भयो । पानी परेपछि रोकिएको खेलमा यूएई डक वर्थ लेविसका आधारमा १ रनले विजयी भयो । 

यस अघि आफ्नो पहिलो खेलमा नेपालले सिंगापुरलाई २१७ रनको फराकिलो अन्तरले हराएको थियो । ६ राष्ट्र सहभागी प्रतियोगितामा २ खेलपछि नेपाल तेस्रो स्थानमा छ । प्रतियोगिताको विजयी टोलीले यू–१९ विश्वकपमा सहभागिता जनाउन पाउनेछ । 

प्रतिक्रिया दिनुहोस