एक पलको त्यो निर्णय

कथा

मंगलबार, २६ चैत्र २०७५, १२ : ४९
एक पलको त्यो निर्णय

- वसन्त चौधरी
बाई बाई नानी ! (हजुरआमा) शीतलले मृदुल आवाज निकाली र स्कुलको सानो ब्याग बोक्ने कोसिस गरी। एकैछिनमा ऊ मतिर दौडेर आई र अँगालो हाल्दै भनी नाना म चाँडै स्कुलबाट आउँछु हजुर कतै नजानु है फेरि म रिसाउँछु उसको बोलीको मिठासको वर्णन नै छैन। मैले अँगालोमा उठाएर भने मेरो ज्ञानी नानी राम्ररी पढेर आऊ है म पर्खिरहन्छु। उसले हस् भनी काखबाट ओर्लँदै स्कुलको बस आएतिर दौडी। यत्तिकैमा देवकी आएर स्कुल ब्याग उठाउँदै मतिर फर्केर भनी पापा म शीतललाई स्कुल छोडेर उतैबाट अफिस जान्छु  हजुर पनि अफिस आउनु। तिमी जाऊ म बिस्तारै आउँछु, तिम्रो ममीलाई मन्दिर पनि छोड्नु छ उत्तर दिएँ। हस भन्दै देवकी हाँस्दै हाँस्दै ढोका बाहिर निस्की म भने देवकीको बचपनमा हराउन लागेँ।

देवकी र शीतलमा केही फरक नै छैन बाल्यकालमा देवकी शीतल जस्तै चञ्चल थिई। अहिले आहानासँग हुँदा देवकीकै बचपन दोहोरिएजस्तो लाग्छ र आफू त्यही भाग्यमानी पिता हुँ भनी गर्व गर्न मन लाग्छ। नातिनी हाँस्दै हाँस्दै स्कुल गएको देख्दा देवकीका स्कुले दिनहरु धेरै याद आउँछन्। कति कुराले अहिले पनि मुटु चिमोटिइरहन्छ, कतिले आह्लाद पार्छन्। प्रायः यौटा निर्णय म सम्झिरहन्छु जबजब स्कुल, बच्चा र पढाइको कुरा हुन्छ। 

देवकी ११ वर्षकी हुुँदी हो हामी दुई पतिपत्नीले उसको पढाइको बारेमा छलफल गर्दा। राम्रो शिक्षादीक्षा सबै बा–आमाको सपना हुन्छ र हाम्रो पनि थियो। छोरीको उचित शिक्षाका लागि हामीले छलफलपश्चात् छोरीलाई भारतको देहरादुनमा रहेको स्कुलमा राखेर पढाउने निष्कर्ष निकाल्यौँ। त्यो स्कुल हाम्रो परिवारका लागि परिचित थियो किनकि त्यहाँ हाम्रा आफन्तहरुका छोराहरु पढ्दै थिए। छोरीलाई यति टाढा छोडेर आउनु हामी लाई सजिलो थिएन तर छोरीको सुनौलो भविष्यका लागि हामी कठोर बन्दै थियौँ।

धेरै कुराको मन्थन गरेपछि हामीले छोरीलाई स्कुल पु¥याउने निष्कर्ष निकाल्यौँ र त्यसको तयारीमा जुट्यौँ। हाम्रो हृदयमा एक खालको तहसनहस उठिरहेको थियो। भित्रभित्र मन कामिरहेको थियो। यसै यसै नजानिँदो डर र पिरमा हामी घोरिइरहेका थियौँ। देवकी देख्यो कि यसै यसै मुटु भक्कानिए जस्तो हुन्थ्यो। तर पनि कठोर बन्दै थियौँ छोरीको भविष्यका लागि । आखिर त्यो दिन आएरै छाड्यो।

आवश्यक सामानका झोलाहरु घरबाट निकालिए। एक खालको हतार एक खालको छटपटि थियो हामीलाई। बिहानीपख आँगनमा घामको कलिलो किरण सुनौलो रङमा पोखिएको थियो तर रात बाँकी भएको आभास हामीलाई भैरहन्थ्यो। छेउको बगैँचामा विभिन्न रङका गुलाब सुन्दर मुस्कानका साथ ढकमक्क फुलेका थिए तर हामीलाई लाग्थ्यो तिनीहरू झर्नलाई ओइलाउँदै छन्। लहरे पीपलका हाँगामा झुरुप्प बसेका चराहरू चिरबिराइरहेका थिए, कुनै प्रातः गानको लयमा तर हामीले सुन्थ्यौँ आवाजमा बिदाइ गान। हाम्रो मनभित्रको आकाशमा एक किसिमको उदास बादल मडारिइरहेको थियो र बर्सिन खोज्दै थिए आँसुका बरसातहरु बेमौसमै।

हामी पति–पत्नी ११ वर्षकी छोरी देवकीलाई बीचमा राखेर डो¥याउँदै गाडीतिर बढ्यौँ। हामीलाई आभाष हुँदै थियो, हाम्रा पाइतालामुनिको जमिन बिस्तारै भासिँदै छ। हामीबाट केही छुट्दैछ र एक्लोपनको उराठमा हाम्रा दिन बढ्दैछन्। हामी छोरीलाई देहरादुनको एउटा स्कुलमा भर्ना गर्न घरबाट निस्किँदै थियौँ र छोडेर आउनलाई हिम्मत पनि बनाएका थियौँ। ऊ हाम्रो सर्वस्व थिई र दुःखसुखको यौटै मात्र भर।

हो, यो निर्णय हामीले धेरै सोचेर, छलफल गरेर लिएका थियौँ। उसका भतिजहरु उतै देहरादुनमै पढिरहेका थिए। उनीहरू त्यहाँ सहजतापूर्वक रमाएका पनि थिए। घर परिवारको नियास्रो नलिई पढिरहेका भएर पनि हामी पतिपत्नीले राम्ररी सोच्यौँ राम्रो स्कुलमा पढ्न पाउने अवसरबाट देवकीलाई मात्र किन वञ्चित राख्ने? पछि ठूली भएर ‘दाइहरूलाई महँगो स्कुलमा पढाउनुभयो, छोरी भनेर मलाई यहीँको स्कुलमा पढाउनुभयो? किन? मलाई किन भेदभाव गर्नुभयो भन्दा त्यसबेला हामीले के जवाफदिने भन्ने छोरीबाट भविष्यमा सोधिन सक्ने सम्भावित अनेकौँ प्रश्नहरूको उत्तर खोज्न  र उचित पठनपाठन र सुनौलो भविष्यका लागि पनि उसलाई उतै पढाउने निर्णय गरेका थियौँ। यो निर्णय मुटुमाथि ढुंगा राखेर गरिएको थियो भने त्यो निर्णयमा सुनौलो भविष्यको सुखद् आशा पनि थियो।

हामी त्रिभुवन विमानस्थलबाट विमान चढेर दिल्ली ओर्लियौँ। दिल्ली विमानस्थलमा लगेज लिन अघि बढ्दै गर्दा दुर्गाको हात समाएर छोरीले सोधी– “ममी हामी घुम्न जान लागेका हौँ है!” देवकीको प्रश्न सुनेर दुर्गाले एकपटक मतिर फुलुक्क हेरी र भनी– “हो बा, हामीतिमीलाई घुमाउन जान लागेका।” उसले फेरि अर्को प्रश्न गरी– “कहाँ जाने ममी, यहीँ हो!” “होइन छोरी, यहाँबाट पनि अझ पर एउटा सुन्दर पहाड छ, हो त्यहीँ जान लागेको।” “काठमाडौंमा जस्तै पहाड!” निस्फिक्री र निर्दोष उसका बालप्रश्नले दुर्गा निरुत्तरजस्तै भइरहेकी थिई। ऊ मतिर फर्किई र हेरी ‘अबको उत्तर तिमी देऊ’ भन्ने भावमा। “हो त्यस्तै सुन्दर पहाडमा जान लागेको बेटा!” मैले भनेँ। सायद उसले आफ्ना प्रश्नहरूको चित्त बुझ्दो जवाफ पाइसकेकी थिई उसलाई केही कुराको शंका, भ्रम वा अविश्वास हुने कुरा पनि भएन किनकि ऊ आफ्ना बा–आमासँगै हिँडेकी थिई पहिले पहिले जस्तै अहिले पनि। हामी दिल्ली विमानस्थलबाट निस्केपछि एउटा गाडी भाडामा लिएर देहरादुनतर्फ लाग्यौँ।

बाटो पनि खासै लामो थिएन, त्यस्तै छ–सात घण्टाको। तर हामीलाई, छोरीलाई छोड्न जाँदैछौँ र भोलिदेखि ऊ हामीसँग हुँदिन भन्ने कुराले भित्रभित्रै पोलिरहेको थियो। वात्सल्यका अनगिन्ती रागले मुटु रेटिइरहेको थियो। हामीलाई त्यो यात्रा वर्षाैँ हिँडेजस्तो लामो लागिरहेको थियो। छोरी सानै थिई, ऊ नयाँ ठाउँ हेर्न, घुम्न पाउने खुसीमा उज्याली देखिन्थी र फुरुङ्ग परेकी देखिन्थी। उसको निर्दोष र निर्मल बालापनको हाउभाउले हामीलाई भक्कानो छुटाउँथ्यो अनि आँखा रसाउँथ्यो। हामी पतिपत्नीमा सात घण्टे लामो यात्राभरि कुनै संवाद भएन। मौनव्रतमा निस्केका तीर्थयात्रीको जस्तो अवस्था थियो हाम्रो। सायद हामीसँग भएका शब्दहरू नै रित्तिएका थिए। हामी एकअर्काका अनुहारमा प्रतिविम्बित भावलाई पढ्न बेलाबेलामा आँखा जुधाउँथ्यौँ तर आँखामा भदौ उर्लेको हुन्थ्यो। कहाँ पढ्न सक्थ्यौँ र भावनालाई। सारा दृश्य लेन्स नमिलाई खिचिएका तस्बिरजस्ता धमिला धमिला मात्र देखिन्थे।

जब हामी देवकीलाई स्कुलमा भर्ना ग¥यायौँ र उसको होस्टेल बार्डेनलाई जिम्मा लगाएर हामी बाहिर निस्किन खोज्यौँ तब उसले च्याप्प मेरो हात समाई। अनि उसलाई पहिलोपटक मैले सम्झाउने ढङ्गले भनेँ– “छोरी आजदेखि तिमी यहीँ बस्ने र पढ्ने ल!” उसले सोधी– “तपाईंहरू चाहिँ कहाँ बस्ने त! यहाँ पनि हाम्रो घर छ हो!” यो प्रश्न अप्रत्याशित थिएन तर हामी पतिपत्नीका लागि यो अप्रत्याशित भइदियो। यसपालि दुर्गाले सम्झाउनखोजी– “तिमी यहाँ एक्लै बसेर पढ्ने हो।” अनि वार्डेनतिर देखाउँदै भनी– “आजदेखि तिम्रो सारा हेरविचार उहाँले नै गर्नुहुन्छ, मैलैजस्तै धेरै माया गर्नु हुन्छ। तिमी ज्ञानी छोरी भएर पढ्नू। हामी तिमीलाई भेट्न आइरहन्छौँ।” उसले बल्ल बुझी, अब यहाँ उसका आमा–बाबु हुँदैनन्, ऊ एक्लै बस्नुपर्छ। त्यसपछि ऊ यसरी कहालिई, मानौँ यसको छातीमै बज्रपात भयो। उसले दुर्गाको हात यति दह्रोसँग समाई कि यदि त्यो हात छोडी भने उसले फेरि हामीलाई भेट्ने छैन। हाम्रो मनमा पनि भावुकता मिश्रित स्नेहको भेल बगिरहेको थियो, तर आमा–बाबु न प¥यौँ। धैर्य गर्नु त थियो नै तर कति कठिन थियो।

त्यो पल सम्झँदा मुटु चिसो हुन्छ। दुर्गाले देवकीको हात जबरजस्ती छुटाइ र उसको हात बार्डेनको हातमा राखिदिई। त्यसपछि हामी पछाडि नफर्किई त्यहाँबाट निस्कियौँ। “ममीपापा म पनि तपाईंहरूसँगै जान्छु” भनेर रोएको देवकीको हिकहिकले हामीलाई परपरसम्म पछ्याइरह्यो। बिस्तारै त्यो रुवाइ हाम्रा कानबाट विलीन हुँदै गयो, स्कुल आँखाबाट ओझेल प¥यो। तर मनमा अन्तिम दृश्यसहितका आवाजले घोचिरह्यो।
भारी मन र खालीखाली आँखा लिएर हामी काठमाडौँ फर्कियौँ। घरको जुन जस्केलो नाघेर हामी छोरीलाई छोड्न विमानस्थल गएका थियौँ, त्यही जस्केलो टेकेर घरभित्र पस्यौँ। साँझ पर्न लागेको थियो। घाम डाँडामा बसेर मानौँ ‘फेरि भोलि भेट्ने है’ भनेर बिदाइको हात हल्लाइरहेको थियो। घामका रक्तिम किरण त्यसरी नै आँगनमा पोखिएका थिए तर त्यो रङमा कुनै सौन्दर्य थिएन। फूलहरू उसरी नै ढकमक्क फुलिरहेका थिए तर तिनमा कुनै सुवास र आकर्षण थिएन। त्यही लहरेपीपलमा बसेर चराहरू चिरबिराइरहेका थिए तर हामीलाई लाग्यो तिनीहरू कुनै शोकगान गाइरहेछन्। पूर्णिमाको जून त्यसरी नै आकाशमा आयो तर हामीले महसुस ग-यौँ, त्यसमा कुनै चहक छैन। हामीलाई खानाखाने इच्छा पनि भएन। सुनसान घरका सुनसान कोठाले देवकी खै भनेर प्रश्न गरेझैँ लाग्यो। उसको बोलीको मिठासले गुञ्जायमान कोठा, चोटा, आँगन र हाम्रो जीवनशून्यताको नैराश्यताकोे झझल्को बनेर तड्पाइरहे। गफ गर्ने विषय पनि आएन, बोलि निस्केन, एक–एक गिलास पानी पिएर हामी चुपचाप ओछ्यानमा पल्टियौँ। निद्रा त कोशौँ पर छटपटीमा अनेकौँ कोल्टे फेर्दै निदाउने कोसिस ग¥यौँ यद्यपि न म निदाउन सकेँ, न त दुर्गा नै।

हिजोसम्म देवकीको हाँसोको खित्काले गुञ्जायमान घर शून्य बनेको थियो। उसका बालापनका अनेक हाउभाउले सरस, सामीप्यताले जिवन्त र उपस्थितिले गतिमय हाम्रो जीवन शून्यमा आएर गतिहीन भएर उभिएको थियो हामीसामु। न निद्रा न भोकको स्थितिमा हामी दुई पतिपत्नीको अवस्था कारुणिक बन्यो। भोलिपल्ट मैले देवकीको स्कुलमा सम्पर्क गर्न खोजेँ। फोन पनि लाग्यो तर उताबाट विनम्र उत्तर आयो– “तपाईं छोरीसँग कुरा गर्न सक्नुहुन्न। यो हाम्रो स्कुलको नियम हो।” मैले ऊसँग अनुनय गरेँ– “मात्र एकपटक मलाई छोरीको स्वर सुन्न मन छ, कृपया फोनमा बोलाइदिनूस् न !” अब उताको आवाजमा पहिलाको जस्तो नरमपना थिएन। उसले कड्केर भन्यो– “तपाईं आफ्नी छोरीलाई यहाँ एक दिन पनि छोड्न सक्नु हुँदैनथ्यो त किन भर्ना गर्न ल्याउनुभयो? हामीले तपाईंलाई पहिल्यै पनि भनिसकेका थियौँ यो कुरा त” उसले ढ्याक्क फोन राखिदियो।

उसले भनेको कुरा ठीक थियो।  तर हामी बा–आमा शरीर थियौँ ऊ धड्कन थिई, धड्कनविना शरीरको के अस्तित्व, शरीरले धड्कन नै खोजिरहेको थियो। हुन त सबै स्कुल कलेजका आ–आफ्नै नियमकानुन हुन्छन्, तिनीहरुलाई उल्लंघन गर्न मिल्दैन र सकिन्न पनि। उसका कुराले मेरो छातीमा पहिरो गयो। मनमा सुनामी उर्लियो। पटक–पटक फोन गर्ने हिम्मत पनि भएन। हामी धेरै बेरसम्म अमुक फोनलाई नियाल्दै त्यही कोठामा बसेर रोइरह्यौँ। दुर्गालाई झनै गाह्रो भएको थियो ऊ त आमा थिई। एकछिन पनि छोरीलाई एक्लै छोडेकी थिइन उसले। उसलाई भएको गाह्रो र छटपटि म महसुस गर्न सक्थेँ।  छोरीसँग बोल्न पाएको भए धेरै सहज हुन्थ्यो होला या त छोरीले हाँस्दै हाँस्दै बिदा दिएर आउँदै गर्नु है भनेको भए पनि सहज नै हुन्थ्यो होला तर यी को विकल्प थिएन। दुवैजनाको व्यथा एकै थियो, हामी एकअर्कालाई अँगालो हालेर धेरै बेरसम्म रोइरह्यौँ। रुनु शिवाय हामीसँग अर्को उपाय पनि त थिएन । उसकै अनुनय र आँसु नयनभरि दिमागभरि घुमिरहन्थ्यो।

छटपटि शून्यपन र छोरीकै झझल्कोमा एक हप्ता बित्यो। एक दिन अपराह्न फोनको घन्टी बज्यो। मैले फोन उठाएँ। देहरादुनबाट रहेछ। उताबाट कुनै महिला हिन्दीमा बोलिरहेकी थिइन्। उनले भनिन्– “तपाईंकी छोरी साह्रै निस्ताएकी छे, केही खान्न, खालि रोइरहन्छे मात्र। उनको बोली नसकिँदै “कृपया मलाई ऊसँग कुरा गराउन सक्नुहुन्छ मैले अनुरोध गरेँ ?”

स्कुलले हप्ताको एकपटक छात्राहरूलाई त्यहीँ वरिपरिको बजारमा घुमाउन लैजाँदोरहेछ। त्यहीबेला देवकीकी साथीकी आमाले उनको घरको फोनबाट हामीसँग कुरा गरेकी रहिछन्। उताबाट ती महिलाले भनिन्– “देवकी यहीँ छे मसँगैे, मेरो लुगाको फेरो समाएर रोइरहेकी छे, ल कुरा गर्नुस्!” उनले त्यति भनेपछि मैले समाइरहेको रिसिभर एकतमासले काम्यो। “पापा ! मलाई चाँडै लिन आउनूस्, म यहाँ बस्दिनँ।” मैले हेलो पनि भन्नै नपाई देवकी उताबाट घुँकघुँकाई। उसको आवाजमा मैले पहिलोचोटि यति करुणापूर्ण पुकार सुनेँ। मेरो मनमा भैँचालो गयो। मुटु चोइटिएर टुक्राटुक्रा भएजस्तो भयो। सम्हालिन असाध्यै कठिन भयो तर म त बाबु थिएँ। मनमा जति नै वेदनाका भेल उर्लिएको भए पनि मैले छोरीलाई यो देखाउन चाहिन र संयमित भएर उसलाई सम्झाउँदै भनेँ– “मेरी ज्ञानी छोरी, बुनु ! यसरी रुनु हुँदैन।  तिमी त बहादुर छोरी हौ।” मेरो कुरा उसले सुन्नै मानिनँ उसको सन्तापको वेग  रोकिनेवाला थिएन। अभिभावकको न्यानो काखबाट एकैपटक हुत्तिएर नवीन परिवेशमा मिसाइएकी  ऊभित्र अभिभावकविनाको एक्लो अनुभूतिमा गडगडाएको पीडाको बाढी धैर्यको सारा किनारा भत्काएर हुनहुनाइरहेको थियो।

“पापा म यहाँ एकछिन पनि बस्न सक्तिनँ, मलाई आएर लैजानूस्।” उसका अनुनयका आवाजले मेरो जमिन हल्लाएको थियो आकाश खस्दै थियो। ती महिलाले सायद उसको हातको फोन जबरजस्ती खोसिन् र भनिन्– “देवकीका पापा! तपाईंकी छोरीको एक हप्तादेखि यही ‘हालत’ छ। आजको घुमाउने समय सकियो। हामी स्कुल फर्किनुपर्छ। सक्नुहुन्छ भने चाँडै आएर आफूसँगै लैजानूस् !”

दुर्गा मेरै छेउमा बसेर फोनवार्ता सुनिरहेकी थिई। उसले छोरीको आवाज त सुन्न पाइनँ तर अवस्था बुझिसकेकी थिई।  मैले फोन राख्नासाथ ऊ भक्कानिएर रुन थाली।  मसँग उसलाई सम्झाउने सामथ्र्य र उपाय पनि थिएन। मैले पनि आफूलाई सम्हाल्न नसक्दा उसको काँधमा टाउको अड्याएर रुन थालेँ। हामी त्यस दिन धेरै बेरसम्म रोइरह्यौँ। दिनभरि रोइ मात्र रह्यौँ। हामीले आभाष ग-र्यौँ हामीले हाम्री छोरी होइन, हाम्रो मुटुलाई नै पो त्यहाँ छोडेर फर्किएका रहेछौँ।

हामीलाई अहिल्यै छोरी लिन हिँडिहालौँ जस्तो लाग्यो। पलपल देवकीको कारुणिक पुकार कानमा गुञ्जिरहन्थ्यो। संयमले काम गर्ने निर्णयसँगै फेरि पनि हामीले उसैगरी टाउको जोडेर निष्कर्ष निकाल्यौँ छोरीलाई पढ्न दिनुपर्छ। भावावेशमा छोरीलाई फर्काएर ल्याउने निर्णय गर्नु हुँदैन। आखिर हामीले छोरीकै भविष्यका लागि यसो गरेका हौँ। आशा गरौँ केही दिनमा सबै अप्ठ्यारा साम्य हुनेछन् र ऊ आफ्ना भतिजहरूजस्तै त्यहीँ रमाउन थाल्नेछे। यसरी फेरि एक हप्ता बित्यो। फेरि उनीहरूलाई बाहिर घुमाउने दिन आएछ। ती महिलाले फेरि फोन गरिन् र फेरि तिनै शब्द दोहो-याइन्– “देवकी एकदमै उदास भएकी छे। खाँदिन पनि। बोल्दिन पनि। खालि रोइ मात्र रहन्छे। सक्नुहुन्छ भने फर्काएर लैजानूस्।” देवकीको चिन्ताजनक अवस्थाले गर्दा होला उनले हामीलाई छोरी फिर्ता लाने सल्लाह दिन्थिन्।

फेरि अर्को हप्ताबित्यो। देवकीको व्यवहारमा कुनै परिवर्तन नआएको जानकारी पायौँ। यी तीन हप्ता हामी बाबु–आमाका लागि पीडा र बहका उक्लिनै नसक्ने पहाड भएर बिते भने कहिले काहीँ देवकीलाई पर्ने सकारात्मक बानीको आशाले मन उज्यालिएको पनि थियो। तर, तटस्थ देवकीको व्यवहारले हाम्रो भोक र निद्रा हराएको थियो मानौँ यी तीन हप्तामा हामीसँग पहिले कहिल्यै भोक निद्रा थिएन जस्तो अनुभव भयो। सुनेका थियौं– वेदना पनि रुँदारुँदा आफैँ सकिन्छन्। तर हाम्रा वेदना, हामी जति रुन्थ्यौँ, त्यति त्यति थपिँदै मात्र थिए। तर्नै नसक्ने जँघारजस्तो, उक्लिनै नसक्ने भीरजस्तो– मानौँ हाम्रो जीवन हिउँ भएर कठाङ्ग्रिएको थियो, जमेको थियो। उमङ्गहरू निख्रिएका थिए, उत्साहहरू भत्किएका थिए र दिनचर्या तलाउ जस्तै गतिहीन भएका थिए।

हामीलाई सहन असाध्यै कठिन भएपछि र देवकीको व्यवहारमा कुनै सुधार नआएपछि हामीले हाम्रो निर्णय बदल्यौँ। देवकीलाई छोडेको चौथौँ हप्ता फेरि विमानस्थल हुँदै क्रमशः देहरादुन पुग्यौँ। त्यहाँ हामीले जे देख्यौँ, त्यो दृश्यले हाम्रो हृदय छियाछिया भयो र आफैँले गरेको सुनौलो भविष्यको निर्णयसँग धिक्कार लाग्यो। हाम्रा आँखामा सम्पूर्ण बागमती समेटिएर भलभली पोखिएजस्तो भयो। देवकीलाई हामी आउने खबर दिइसकिएको रहेछ। ऊ आफ्ना कलिला दुई हातहरूले मूलगेटको खाँबो समाएर हामी आउने बाटोतिर निर्निमेष हेरिरहेकी थिई। उसका आँखाबाट मोतीका दाना तपतपी बर्सिएर भुइँमा खसिरहेका थिए। दुब्लाएकी, बिरामीजस्ती उदास देवकी हामीलाई देख्नासाथ दौडिँदै आएर दुर्गालाई छाँद हालेर कहाल्लिई। “ममी मलाई यहाँ एक्लै नछोड्नूस्। म तपाईंहरूसँगै जान्छु। तपाईंहरूलाई कहिल्यै पिर्दिन पनि। बिन्तीममी! मलाई तपाईंहरूसँगै लैजानूस्!” तब छोरीको अनुनय सुन्ने आँट पनि हराए जस्तो भयो।

त्यस घडी हामी यति द्रविभूत भयौँ, यति निस्सहायजस्ता भयौँ– “यसको बयान शब्दमा सम्भव नै छैन। मैले भक्कानिएर सुम्सुम्याउँदै, उसका बलिन्द्र धारा आँसु पुछ्दै तिमीलाई लिन नै आएका हौँ भनी विश्वस्त पारेँ। तिम्रा सामान लिएर आऊ, हामी यहीँ पर्खिरहन्छौँ।” भनेपछि उसले आँसुसँगै मुस्कान पोखी र हामीसँगै आउन हतार गरी। ऊ मुस्कुराउँदा बरसातमा भिजेको चन्द्रमा जस्तै आभा आयो हाम्रो हृदय शीतल भयो। आमाको छातीमा टाँसिएरै देवकी काठमाडौँ आइपुगी।  काठमाडौँकै एउटा स्कुलमा भर्ना भई। उसले कुनै नाम चलेका स्कुलमा भन्दा पनि राम्ररी पढी र राम्रो अङ्क ल्याएर एसएलसी उत्तीर्ण गरी। ऊविनाका दिन र हप्ताहरु सजायभन्दा कम थिएनन् हाम्रा लागि। त्यो सजाय काट्दाको पीडा अहिले पनि आभाष हुन्छ।  

अहिले ऊ हाम्री छोरी मात्र होइन, एक सक्षम सल्लाहकार भएकी छे। हाम्रो घर–व्यवहारदेखि व्यापार–व्यवसायसम्म सम्हालेकी छे। अहिले यस मोडमा आएर हामी पतिपत्नी सोच्छौँ– देवकी हाम्री छोरी मात्र होइन रहिछ। ऊ त हाम्रो मुटुलाई स्पन्दित गर्ने पेसमेकर पो रहिछ। कहिलेकाहीँ जीवनमा गरिएका निर्णयहरु गलत पनि हुँदा रहेछन्। छोरी हेर्छु र नातिनी हेर्छु बचपनका संघारमा केही फरक नै छैन। म नातिनीको  सुन्दर भविष्यका लागि हामीबाट टाढा पठाउन मन्जुर हुन सक्दिन कदापि सक्दिन तर विगतको आफ्नै निर्णयसँग भने पटक–पटक झस्कि रहन्छु र कहिलेकाहीँ यसै दुखी भइरहन्छु तीता सम्झनाहरुसँग र आफैँसँग रिसाउँछु पनि कस्तो पीडादायक थियो एक पलको त्यो निर्णय। कथा 

- नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस