विपद् व्यवस्थापनको बिजोग

टोर्नाडोको ताण्डवपछि राहतका नाममा कमाउ धन्दा

गृहमन्त्रीको खराब कार्यशैलीको आलोचना

सफल खबर संवाददाता

मंगलबार, २६ चैत्र २०७५, ११ : ५०
टोर्नाडोको ताण्डवपछि राहतका नाममा कमाउ धन्दा

काठमाडौँ । विदेशतिरमात्रै सुनिने र देखिने जस्तै चक्रवातका कारण तराईका नागरिकले ठूलो समस्या भोग्नुपरेको छ । गत आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा ताण्डव देखायो । सयौंका घरबार उजाडिए । २८ जनाको मृत्यु भयो । करिब एक हजार नागरिक घाइते भए । धेरैका थात थलो उठ्यो । खाने अन्नपात समेत माटोमा बिलिन भयो । तिनका पशु चौपाया मरे । तिनका भए भरका सम्पत्ति समेत क्षणभरमा स्वाहा भयो ।

राहतका नाममा अहिले प्राकृतिक संहारको फाइदा उठाउने गिरोह सक्रिय भएको छ । टोर्नाडो नाम दिइएको बारा र पर्साको हावाहुरीबाट पीडितको नाममा चन्दा उठाउने र व्यक्तिगत प्रयोजनमा खर्च गर्ने प्रवृत्ति हाबी भएको छ । विशेषगरी गैरसरकारी संस्था तथा केही स्वार्थी समूहले पीडितको नाममा चन्दा उठाउने, राहत सामग्री उठाउने र व्यक्तिगत प्रयोजनमा नै खर्च गर्ने गरी प्रक्रिया अगाडि बढाएको देखिएको छ ।

केही राजनीतिक दलका नेता तथा कार्यकर्ता पनि मौका यही हो भन्दै पीडितको नाममा कमाउ धन्दा चलाउन थालेका छन् । उनीहरुले मानवीय संवेदनासँग खेलेर सीमित स्वार्थको पछाडि दौडिने काम गरेका छन् । पीडितहरु राहत नपाएर खुला आकाशमुनि बस्न बाध्य छन् । उनीहरुलाई खाना, नाना र छानाको आवश्यकता छ । हुरी पीडितलाई तत्काल राहतको जरुरी छ । तर पीडितको नाममा राहत उठाएर कुनै पनि समस्या नै नपरेको क्षेत्रमा मेजमानी गर्ने र कमाउने अवसर छोप्नेलाई सरकारी निकायले थाहा पाएर पनि थाहा नपाएको जस्तै गरेर बसिरहेको छ ।

गृहमन्त्रीको खराब कार्यशैली
गृह प्रशासनको जिम्मेवारी पाएको गृह मन्त्रालय कुनै पनि काममा सबल देखिएको छैन । गृहमन्त्री रामबहादुर थापा के काम गर्छन् भन्ने आममानिसले थाहा पाउन सकेका छैनन् । गृहमन्त्रीको कार्यशैलीप्रति कोही कसैले पनि चित्त बुझाएका छैनन् । पद धरापमा परिसकेका गृहमन्त्री थापाले राजनीतिक रुपमा स्टन्ट गरेर मन्त्री पद जोगाएको चर्चा पनि बजारमा व्याप्त छ ।

आफूलाई क्रान्तिकारी तथा अग्रगामी बताउने गृहमन्त्री थापाले जनताको पक्षमा कुनै पनि काम गरेका छैनन् । उनी केवल शक्ति र स्वार्थका लागि मात्रै पदमा छन् । सबैभन्दा कमजोर गृह प्रशासन शक्ति बस्नेतको समयलाई लिइन्छ । बस्नेतको कार्यकाल भन्दा पनि कमजोर गृह प्रशासन यतिखेर रहेको छ । निर्मला पन्तको हत्यारा र बलात्कारी पत्ता लगाउन गृहमन्त्री थापाले कुनै चासो देखाएनन् । शान्ति सुरक्षाको स्थिति भयावह छ । जनता दिनदहाडै मरिरहेका छन् । तर उनलाई कुनै पनि प्रकारको मतलब छैन । उनी कुनै पनि प्रकारको आन्तरिक तयारी र छलफल समेत गर्दैनन् ।

गृह मन्त्रालयमा नियमित जसो पुग्ने राजनीतिक कार्यकर्ता तथा कर्मचारीहरुका अनुसार बादलले प्रशासन ध्वस्त पारे, भएको साख समेत गिराए । प्रहरी संगठनलाई काम गर्न दिएनन् । नबर्सने बादलको काम छैन भनेजस्तै भएको छ गृह प्रशासन । बारा र पर्सामा हुरीले तवाह मच्चायो । तर गृह प्रशासनलाई कुनै मतलब छैन । केही तालिममा हिँडेका छन् भने कोही विदेश शयरमा । गृहमन्त्रीका तर्फबाट गर्नुपर्ने तत्परता र दायित्वबोध उनीबाट हुन सकेन । सधैं चुपचाप बस्ने, कामको नाममा वरको सिन्को पर नसार्ने प्रवृत्ति र व्यवहार गृहमन्त्रीले देखाएको राजनीतिक तथा गृह प्रशासनका जानकारहरुको भनाइ छ ।

गृहमन्त्रीको चर्को आलोचना
गृह प्रशासनको महत्व र गरिमालाई ध्यान दिनेतर्फ कुनै पनि काम नगरेको भन्दै उनीहरुले गृहमन्त्रीको चर्को आलोचना गरेका छन् । मोहन वैद्यको पार्टीमा क्रान्ति गर्न गएका र मन्त्री पद पाउने निश्चित देखेपछि प्रचण्डको सहारा खोज्दै आएका थापालाई जसरी भए पनि मन्त्री बन्नु छ । जसरी भए पनि पदमा टिकिरहनु छ । त्यसकारण जे भए पनि जस्तो भए पनि चुपचाप मन्त्रीमात्रै भइरहने व्यवहार उनले देखाएको सिंहदरबारमा चर्चा हुने गरेको छ ।

केवल उनलाई मन्त्री पदमा कुनै घुनपुत्लो नलागोस् भन्ने मात्रै छ । उनलाई काम गरेर देखाउनु छैन । पछिल्लो पटक बारा र पर्सामा आएको हुरीबाट पीडित भएकालाई सहज रुपमा सेवा र राहत दिन गृह प्रशासन नै तत्पर हुनु पर्ने थियो, तर उनले कुनै पनि नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेका छैनन् । प्रधानमन्त्री केपी ओलीको स्वकीय सचिवको शैलीमा उनको पछिपछि मात्रै लागेर उनले कुनै जिम्मेवारी पूरा गरेको ठहरिँदैन । उनले जनता विपदमा परेको बेला क्रान्तिकारी नेता नै हो भने काम गर्ने तत्परता देखाउनु पर्दथ्यो । तर उनको भूमिकाले त्यसो भन्दैन ।

गृहमन्त्री बादलले आफ्नो टिममा जागिर खुवाएकाहरु विदेश घुम्न र रेस्टुरेन्टमा रमाइलो गर्नमा व्यस्त छन् । कोहीलाई कसरी सकिन्छ पैसा कमाउनु पर्छ भन्ने भूत सवार भएको छ । कोहीलाई शक्तिको दुरुपयोग गर्नु परेको छ । कोहीलाई प्रहरीको सिपाही हवल्दार सरुवा गराएर केही लाख पैसा जम्मा पार्ने सोख परेको छ । राजनीतिक रुपमा सकिएपछि बादलले यतिखेर ओली क्याम्पमा छिरेर प्रचण्डलाई पनि साइजमा ल्याउनु पर्छ भन्दै खुसामद गर्ने गरेको बताइन्छ ।

मलाई जनयुद्धकालमा समेत लिन प्याओवादी भनेर दुःख दिएका प्रचण्डलाई ठीक पार्ने बेला यही हो भन्दै बादल अहिले ओली क्याम्पमा प्रवेश गरेको बताइन्छ । ओलीले मन्त्री पद नै खोसिदिने अवस्था आएपछि बादलले गुट चेन्ज गरेको जानकारहरुको दाबी छ । शान्ति सुरक्षाको अवस्था भयावह हुँदा समेत कुनै कदम नचाल्ने र कुनै पनि काम नगर्ने प्रवृत्तिका कारण बादलको उचाई दिन प्रतिदिन खस्कदै गएको छ । गृहमन्त्री बोल्ड हुनु पर्ने, तत्काल निर्णय गर्नु पर्नेमा कर्मचारीलाई समेत काम गर्न नदिने प्रवृत्ति उनमा देखिएको छ ।

प्रधानमन्त्री ओलीको ज्यादती
प्रमुख राजनीतिक नियुक्तिमा पूर्वमाओवादी केन्द्रका नेतासँग कुनै पनि प्रकारको सल्लाह नै नगर्ने र आफूखुसी एकलौटी निर्णय गर्ने प्रधानमन्त्री ओलीको व्यवहारप्रति पनि धेरैले आपत्ति जनाएका छन् । पछिल्लो पटक निर्वाचन आयोगको प्रमुख आयुक्तमा सिफारिश गरिएका दिनेश थपलियादेखि सर्वोच्च अदालतमा न्यायाधीशका लागि सिफारिश भएकाहरुको व्यवहार र चरित्रले पनि प्रधानमन्त्री ओलीको ज्यादती प्रष्ट भएको छ ।

पूर्वमाओवादी केन्द्रका तर्फबाट सरकारको नेतृत्वमा रहेका बादलले नै साथ नदिएपछि अरु मन्त्रीको व्यवहार समेत रक्षात्मक हुन पुगेको छ । प्रचण्डलाई कुनै पनि निर्णयका बारेमा जानकारी नै नदिने, निर्णय गर्नुभन्दा पहिले केही नबताउने र निर्णय भएपछि मात्रै त्यो पनि सञ्चारमाध्यमबाट थाहा पाउनु पर्ने अवस्था रहेको छ । ओलीको ज्यादती बढ्दै गएपनि नेकपाका नेताहरु प्रचण्ड, माधवकुमार नेपाल, वामदेव गौतम, झलनाथ खनाल लगायतले विरोध नगर्नु आश्चर्यजनक हुन पुगेको छ ।

केपी ओलीको खास मान्छे भन्ने गृहसचिव प्रेमकुमार राईको तरिका पनि उस्तै रहेको छ । विभागीय मन्त्रीलाई जानकारी गराउनु पर्ने विषयमा समेत उनले कुनै जानकारी नै नदिने गरेका छन् । सोझै प्रधानमन्त्रीलाई भन्ने र विभागीय मन्त्रीलाई कुनै महत्व नै नदिने विशेष क्षमता राईसँग रहेको छ । पछिल्लो पटक मुख्यसचिव हुने भन्दै दौडिएका राई त्यता काम नहुने देखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने भन्दै प्रधानमन्त्री ओलीको विशेष चाकडीमा लागेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस