सिरहा । क्रिश्चियन संस्थाले गरेको निःशुल्क शिविरमा शल्यक्रिया गराउँदा कम्तीमा ५ जनाको आँखाको ज्योति गुमेको छ। शल्यक्रियाका लागि कोरियाबाट स्वास्थ्यकर्मीको टिम ल्याइएको थियो। तिनले दिएका झोल दबाईमा पनि के लेखिएको छ, बुझिँदैन।
फाल्गुन १३ देखि १५ सम्म राखिएको शिविरमा ७७ जनाको शल्यक्रिया भएको थियो। तीमध्ये अधिकांशमा महिना नबित्दै आँखामा गम्भीर समस्या देखिएको थियो। कर्जन्हा नगरपालिका ८ थल्हा र आसपासमा सोमबार अन्नपूर्ण पोस्ट् पुग्दा ५ जनाको ज्योति गुमेको पाइयो। अन्य गाउँबाट उपचार गराएकाहरूको अवस्था खुल्न सकेको छैन।
ज्योति गुमाउनेमा थल्हाका कलम हुसैन, रामझरी पासमान, देवलाल राउत, गौतारीका गोलियादेवी पासमान र विन्देश्वरी पासवान छन्। उनीहरूले फाल्गुन १५ गते फुलकुमारी महतो मेमोरियल अस्पतालमा भएको शिविरमा मोतिबिन्दुको शल्यक्रिया गराएका थिए।
ध्येय धर्म प्रचार
शिविर आयोजना गरेका आरटीएन स्कुलमा २ सय ९० विद्यार्थी निःशुल्क पढ्छन्। शर्त छ– अभिभावक क्रिश्चियन हुनुपर्ने। धर्मकै प्रचार स्वरुप स्कुलले शिविर आयोजना गरेको हो। उक्त स्कुललाई ‘गुड पिपुल नेपाल’ नामको एनजिओले आर्थिक सहयोग गरिरहेको छ।
शिविरमा चिकित्सकको लापरवाहीले नभएर विरामी आफै लापरवाही गरेको हुन सक्ने आरटीएन स्कुलका उपाध्यक्ष नागेन्द्र पासमानले दाबी गरे। शिविरका लागि स्वास्थ्य मन्त्रालयबाट स्वीकृति पनि लिएको उनले बताए। आफुहरु क्रिश्चिन भएपनि स्कुलमा धर्म प्रचारभन्दा सेवाका लागि गरिब विद्यार्थीहरुलाई पढाउने गरेको उनको जिकिर छ।
फुलकुमारी अस्पतालले स्थान मात्रै उपलब्ध गराएको मेडिकल डाइरेक्टर डा. शिवशंकर साहले बताए। ‘हामी आयोजक होइनौं। स्थान मात्र उपलब्ध गराएको हो’, उनले भने, ‘चिकित्सक, औषधी र उपचार सामग्री सबै कोरियाबाटै ल्याएका हुन्।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, २६ चैत्र २०७५, ०६ : ५३
लेखकबाट थप