कविता : तिमी नै मुक्तिदाता

सोमबार, २५ चैत्र २०७५, १४ : ५७
कविता : तिमी नै मुक्तिदाता

– शान्ता सिम्खडा

दुइदिनको जिन्दगी मस्तीले बिताउन पर्छ भन्नेहरू हो
जिन्दगीको मस्ती लुट्न
बार, भट्टी वा रेस्टुरेन्टमा
रक्सी, वीयरका बोतल रित्याएर
जिन्दगीको खुसी सिंचित गर्नेहरू हो
बिना नसा मदहोस भएर हेर
आफ्नै अन्तरको मधुशालामा डुबेर हेर
थाहा पाउनेछौ जिन्दगीको स्वाद
अनि मस्ती

आफ्नै मलामी बनेर
आनन्दकै नाउँमा
चुरोट, गाँजाको धुँवामा
आफ्नो जिन्दगीलाई सल्काएर उडाउनेहरू हो
तपको ज्वालामा आफूलाई जलाएर हेर
आफ्ना अन्तरमा भएका
काम, क्रोध, लोभ, मोह, मद्, मात्स्चर्य
अनि अहंकारका
काला विषालु सर्पहरूलाई
जो बारबार टाउको उठाउँदै
तिमी र तिम्रो सत् अस्तित्वको बिचमा आउँछन्
हो तिनीहरूलाई तपको ज्वालाले
जलाएर धुवाँ बनाइहेर
अनि मात्र तिमीले दर्शन गर्नेछौ
तिम्रै सत्, चित्, आनन्द स्वरुपको

जिन्दगीको स्वतन्त्रतालाई
छाडा वृतिमा ढाल्नेहरू हो
स्वतन्त्रतालाई नरनारी बिचको
सम्बन्धमा मात्रै परिभाषित गर्नेहरू हो
एक पटक
हो मात्रै एक पटक
आफूभित्रको पुरुष (चेतना)
र स्त्री (प्रकृति) चेतन शक्तिलाई
समागम गराएर हेर
ब्रह्म चिन्तन, भक्ती, करूणालाई स्खलित गराएर हेर
अनि मात्रै देख्न सक्नेछौ
सृष्टिको सुन्दर अनुहार
अनि मात्र प्राप्त गर्नेछौ
पूर्ण स्वतन्त्रता र मस्ती
कहिल्यै नरित्तिने आनन्दको
अमृतकुण्डमा डुब्नेछौ
अनि सिंचित गर्नेछौ
आनन्दले
आफूलाई अनि सारा संसारलाई
तिमी मुक्तिको अंश बन्नेछौ
र तिमी नै मुक्तिदाता पनि ।

प्रतिक्रिया दिनुहोस