अन्तर्वार्ता

भरतपुरलाई स्मार्ट सिटी बनाउने सपना छ : मेयर रेणु दाहाल

आइतबार, २४ चैत्र २०७५, १५ : ०३
भरतपुरलाई स्मार्ट सिटी बनाउने सपना छ : मेयर रेणु दाहाल

भरतपुर महानगरपालिकामा निर्वाचन भइरहँदा आफैंमा फरक विषयले निकै चर्चा पायो । मतपत्र च्यातिएको घटनाले लामो समयसम्म विवाद पनि भयो । अन्ततः मेयरमा रेणु दाहालले बाजी मारिन् । निर्वाचनमा जितेपछि दाहालले भरपुर महानगरपालिकालाई समृद्ध र विकसित बनाउन के कस्तो भूमिका खेलिरहेकी छन् त ? समृद्ध महानगर बनाउने उनका भावी योजना, हालसम्मका कार्य तथा चुनौती र समस्यामा केन्द्रित रही राधेश्याम खतिवडाले दाहालसँग गरेको कुराकानी :

आफ्नो कार्यकालको समीक्षा कसरी गर्नुहुन्छ ?

दुई वर्ष पुग्न लाग्यो । धेरै समयपछि स्थानीय तहमा निर्वाचन भएको थियो । नयाँ परिवेशमा आएका थियौं । सुधार गर्नुपर्ने कुरा धेरै थिए । हामीले नियमित कार्यालय सञ्चालनका कामबाहेक महानगरपालिकाको विकास निर्माणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर अघि बढेका थियौं ।

भरतपुर महानगरपालिकामा ठूला पूर्वाधार आयोजनाका काम सुरु भएका छन् । महानगरपालिकाभित्र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका सेवा सुविधा प्रदान गर्न सक्ने गरी तयार गरिएका योजनाका काम अघि बढेका छन् । अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर काम अघि बढाएका छौं । ठूला परियोजनाको काम अघि बढिसकेको छ ।
विज्ञहरूसँगको छलफलपछि नीति बनाउने र नीतिअनुसारको योजना बनाउने र कार्यान्वयनको प्रयासमा हामी छौं । यो महानगरलाई कसरी समुन्नत महानगरपालिका बनाउन सकिन्छ भन्ने विषयमा हामीले यो दुई वर्षको अवधिमा धेरै खोजी, चिन्तन, बहस गरेका छौं ।

तत्कालीन योजनाअनुसार भएका काम केके हुन् ?

हामीले महानगरको आफ्नै पहलबाट बितेको एक वर्षको अवधिमा २२ करोड रुपैयाँ जनसहभागिता जुटाउन सफल भयौं । सय किलोमिटरभन्दा बढी सडक कालोपत्रे ग¥यौं । तत्कालीन योजनाअन्तर्गत हामीले बजार व्यवस्थापन, बजार क्षेत्रमा भइरहेको अव्यवस्थित पार्किङ हटाउने,बजार क्षेत्रको फुटपाथ व्यवस्थापन गर्ने, यातायात क्षेत्रलाई व्यवस्थापन गर्ने काम गरका छौं । महानगरपालिका क्षेत्रमा पर्ने मुख्य बजार क्षेत्र नारायणगढ भरतपुरका बजार क्षेत्रलाई केही हदसम्म सहर अनुकूल व्यवस्थापन गरेका छौं ।

बजार क्षेत्रमा अव्यवस्थित रूपमा हुँदै आएको सवारीसाधन पार्किङलाई हटाएर केही निश्चित स्थानमा पार्किङ गर्ने व्यवस्थापन भएको छ । बजार क्षेत्रमा रहेका फुटपाथलाई हटाएर निश्चित स्थानमा फुटपाथ रहने व्यवस्था मिलाएका छौं । राजमार्ग र व्यस्त बजार क्षेत्रमा चल्ने सवारीसाधनको व्यवस्थापनमा पनि हामी सफल भएका छौं । अटो रिक्सा व्यवस्थापन हामीले सहज रूपमा गरेका छौं । जनप्रतिनिधि निर्वाचित भएर आउँदा कतिपय वडा भाडाका घरमा थिए । अहिले सबैजसो वडा कार्यालयहरू आफ्नै स्वामित्व भएका भवनमा रहेका छन् ।

भरतपुर अस्पतालमा महिला तथा वृद्धहरूलाई ओपीडी टिकट निःशुल्क गरिएको विषय होस् या, पार्किङको व्यवस्थापन, सडक बत्ती व्यवस्थापन, एक घर एक बिरुवा अभियान, मुख्य राजमार्गमा समस्याका रूपमा तीन पांग्रे सवारीसाधन व्यवस्थापन, बजार र राजमार्गको मुख्य २० वटा स्थानमा ट्राफिक आइल्यान्ड निर्माणलगायतका काम भएका छन् ।

महिलासँग मेयर, बालबालिका र वृद्धवृद्धासँग मेयरजस्ता कार्यक्रम सञ्चालन, सार्वजनिक जमिन संरक्षण अभियान, एक वडा एक पार्क र एक वडा एक पोखरी निर्माणको नीतिलाई अघि बढाइएको छ । महानगरलाई वाईफाई जोनका रूपमा विकास गर्ने कार्यारम्भ भएको छ ।

यो अवधिसम्ममा यो महानगरको महŒवलाई कसरी बुझ्नुभयो ?

भौगोलिक हिसाबले देशको बीच भागमा पर्ने चितवन । त्यही चितवनमा रहेको यो भरतपुर महानगरपालिका धेरै हिसाबले सिंगो देशको आकर्षणको क्षेत्रका रूपमा रहेको मैले पाएको छु । धेरै सम्भावना रहेको महानगरपालिका भएका कारण पनि पछिल्लो समय देशको मात्र होइन, केही विदेशी संघसंस्था समेत यहाँ काम गर्नका लागि आकर्षित हुँदै गएको मैले पाएको छु ।

दुई ठूला नारायणी र राप्ती नदी सामिप्यता, विश्व सम्पदासूचीमा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज, नेपालका प्रमुख पर्यटकीय गन्तव्य देवघाट, २० हजारी ताल, पटिहानीलगायत समेत रहेको भरतपुर महानगर प्राकृतिक र धार्मिक दृष्टिकोणले पनि रमणीय र एतिहासिक छ । कृषि, शिक्षा स्वास्थ्यलगायतका विषयमा समेत धेरै सम्भावना छ यो महानगरमा । मेडिकल सिटीका रूपमा अघि बढिरहेको भरतपुर पछिल्लो समय शैक्षिक नगरीका रूपमा समेत चिनिँदै गएको छ ।

 अन्य संघसंस्थाको साथ सहयोग कस्तो पाउनुभएको छ ?

नेपालकै नमुना महानगर बनाउन स्वदेशी र विदेशी संघसंस्थासँगको सम्बन्ध र सहयोगलाई विशेष प्रथामिकता दिएका छन् । हरेक क्षेत्रमा काम गर्नका लागि स्वदेशी तथा विदेशी संघसंस्थाको चासो बढिरहेको छ । पछिल्लो समय चितवनमा ठूलो प्लान्टमा अर्गानिक कृषि प्रविधि ल्याउन, प्रविधिक शिक्षालय बनाउन र विकास निर्माणका लागि चासो बढी रहेको छ ।

महानगरको विकास निर्माणको क्रममा देशभित्रका मात्र होइन विभिन्न विदेशी संघसंस्थाले पनि पछिल्लो समय विभिन्न योजनाका लागि प्रस्ताव गरिरहेका छन् । हामीले महानगरको हितमा हुने योजनालाई अध्ययन गरी अघि बढाउने योजनामा रहेका छौं । साझेदारीका रूपमा काम गर्नका लागि पनि विभिन्न क्षेत्र चासो राख्दै छन् । यसरी, हेर्दा भरतपुरको विकासका लागि विभिन्न संघसंस्थाको साथ महŒवपूर्ण कडीका रूपमा मैले लिएको छु ।

महानगरमा सहभागिताको अवस्था कस्तो छ ?

सामान्य काम गर्न होस् या ठूला योजना सम्पन्न गर्नका लागि किन नहोस् । काममा जनसहभागिता उत्साहजनक पाएका छौं । देशका अन्य क्षेत्रको तुलनामा हामी जनसहभागिताका लागि नमुना छौं भन्ने लाग्छ । यसलाई महŒवपूर्ण उपलब्धिका रूपमा लिएका छौं । एक वर्षमा मात्र जनताको सहभागिताबाट हामीले २२ करोड रुपैयाँ जनसहभागिता जुटाएर महानगरको लगानीमा सय किलोमिटर सडक कालोपत्रे गर्न सफल भइसकेका छौं । न्यूनतममा ३० प्रतिशतदेखि अधिकतम ७० प्रतिशतसम्म जनसहभागिता रहेको छ । जिल्लाका सबै राजनीतिक दल, अन्य सरोकारवाला पक्ष, विभिन्न संघसंस्थाको विकास निर्माणका काममा सहयोग समर्थन पाएको छु । महानगरभित्र रहेका कर्मचारीको तहबाट पनि राम्रो सहयोग छ ।

प्रचण्डको साथले थप सहयोग भएको भन्छन् नि ?

हो, उहाँको साथ र सहयोगलाई कसैले नजरअन्दाज गर्न मिल्दैन । राष्ट्रिय स्तरको नेता यही महानगर क्षेत्रमा रहनुले साथ सहयोग छ । धेरै फरक परेको छ । उहाँको साथले पनि महानगरभित्रका ठूला आयोजनाले गति लिन थालेका छन् । गौरव गर्नलायक योजनाको काम अघि बढाउने क्रममा उहाँको धेरै साथ रहेको छ ।

राष्ट्रिय स्तरको शीर्ष नेतृत्व यो जिल्लाले पाउनु सकारात्मक पक्ष हो । उहाँका कारण धेरै कुरामा हामीलाई सहज भएको छ । यहाँको विकास योजना र बजेट ल्याउने विषयमा पनि मन्त्रालय र मन्त्रीहरूले पनि सकारात्मक मैले पाएको छु । देशकै चिन्ता गर्नुपर्ने व्यक्ति हो उहाँ । त्यसैले हामीलाई केही साथले पनि थप ऊर्जा मिलेको छ । जिल्लावासीहरू सबैमा उहाँको यस जिल्लामा रहेको उपस्थिति र सहभागिताले थप हौसला मिलेको छ भन्ने मलाई लाग्छ । हामी उहाँकै मार्गनिर्देशनमा छौं ।

बहुचर्चित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला समयमै निर्माण सम्पन्न हुने आधार के हुन् ?

केही निर्माणको कामसमेत सुरु भइसकेको छ । सहयोगका लागि विभिन्न स्थानमा सहयोग जुटिरहेको छ । लगभग ३० बिघा क्षेत्रफलमा बन्ने रंगशाला निर्माणका लागि लगभग ३ अर्ब रुपैयाँ लगानी हुने र एसियाकै नमूना रंगशाला बन्नेछ । सरकारले आफैं बनाउनुपर्ने भन्दै केही आवाज पनि नआएका होइनन् तर साझेदारीमा पनि यति ठूलो योजना सम्पन्न गर्न सकिन्छ भन्ने उदहारण हुनेछ यो काम । त्यसैले यो महाअभियानमा आर्थिक, भौतिक, नैतिक जे सकिन्छ त्यो सहयोग गर्न अपिल पनि गर्दछु ।

नमुना सिटी हल निर्माण प्रक्रिया कहाँ पुग्यो ?

परिकल्पना पहिल्यैको भए पनि जमिनको विषयमा विवाद भएका कारण केही समय अन्योलमा रहेको सभागृह निर्माणको काम पनि अघि बढेको छ । सहरी विकास तथा भवन निर्माण विभागको सहयोगमा सभागृह निर्माणका लागि जिल्ला समन्वय समितिको परिसरमा रहेको चार बिघा चार कठ्ठा जग्गा महानगरपालिकाको नाममा हस्तान्तरण भइसकेको छ ।

सिटी हल निर्माणका लागि नक्सांकनका लागि प्राविधिक टोली आएर काम सुरु गरिसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागमार्फत ५१ करोड रुपैयाँ विनियोजन गरिसकेको र अपुग हुने रकमका लागि संघीय सरकारबाट उपलब्ध गराउने प्रतिबद्धता भइसकेको छ । चैत महिनासम्ममा डीपीआर दिएमा असारमा शिल्यान्यास गर्न सकिने गरी तयारीमा लागेका छौं ।

गौरव गर्न लायक अन्य योजनाहरू केके हुन् ?

हो, हामीले सुरु गरेका केही योजना गौरव गर्न लायक छन् । नारायणगढ बजारको लायन्सचोकमा बहुउद्देश्यीय व्यावसायिक भवन बनाउने कामको प्रक्रिया पनि महानगरले अघि बढाएको छ । केही समय अघिसम्म फलफूल तथा तरकारी बजार रहेको त्यस क्षेत्रमा ८० करोड रुपैयाँ बराबरको लागानीमा पार्किङसहितको बहुतले भवन बनाउनेछौं । विस्तृत अध्ययन गरी नक्सांकनको काम अन्तिम चरणमा पुगेको छ । व्यस्त बजारनजिकै आधुनिक शैलीमा बहुउद्देश्यीय व्यावसायिक भवन निर्माण भएपछि नारायणगढ बजार थप व्यवस्थित हुनेछ ।

महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सडकको स्तर उन्नति, कालोपत्रे र सडक विस्तारको कामलाई प्रथामिकतामा राखेका छौं । महानगरको योजनामा परेका सघन सहरी विकास कार्यक्रमअन्तर्गत १३ वटा सडक कालोपत्रे निर्माणका लागि सम्झौता भई काम थालेका छौं । महानगरभित्र रिङरोड र लिंकरोड निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभागले भरतपुर महानगरमा १ अर्ब ५० करोड खर्च गर्न सक्नेगरी काम अघि बढाएको छ । रिङरोड र लिंकरोडका लागि बाटाका लागि बोलपत्र आह्वान भई ठेकेदार कम्पनीले काम अघि बढाइसकेका छन् ।
भरतपुरस्थित केन्द्रीय बसपार्क र नारायणगढमा रहेको बसपार्कलाई थप व्यवस्थापन गर्ने योजना हामीले अघि बढाएका छौं । कुनै समय दक्षिण एसियाकै नमुना बसपार्क भनिएको केन्द्रीय बसपार्कको व्यवस्थापनदेखि थप भौतिक पूर्वाधार विकास गरी नमुना बसपार्क बनाउने गरी काम अघि बढिसकेको छ ।

महानगरपालिकाले नगर वनलाई गौरवको आयोजनाका रूपमा विकास गर्दै छौं । नगर वन, रानीपोखरी, लक्ष्मीनारायण मन्दिरमा पार्क निर्माणका लागि लगभग १४ करोड खर्च गर्नेगरी काम अघि बढाएको छ । नारायणी नदी किनारमा रहेको नगर वनलाई गौरवको आयोजनाका रूपमा विकास गरी अन्तर्राष्ट्रिय पर्यटकहरूलाई समेत आकर्षित गर्ने गरी पर्यटकीय क्षेत्र बनाउँछौं ।

अन्त्यमा महत्वपूर्ण केही छ कि ?

लामो समयपछि स्थानीय तहको निर्वाचन भयो । हामी आउँदा धेरै प्रणाली विकास गर्न आवश्यक थियो । हामीले विभिन्न विज्ञहरूसँग छलफल गरी योजना बनाएका छौं । भरतपुरलाई स्मार्ट सिटी बनाउनेगरी काम अघि बढाएका छौं । हामीले के गरेका छौं, त्यो अहिले नै देखिने विषय होइन । अब दुई वर्षपछि बल्ल महानगरको विकास देखिन्छ । अहिलेसम्म विकासका रूपमा सडकलाई प्रथामिकतामा राखिएको जस्तो बुझिन्छ । तर, अन्य धेरै कामहरू प्नि भएका छन् । त्यसलाई हेर्न, बुझ्न र अनुभूति गर्न अब दुई वर्ष कुर्नैपर्छ । भरतपुर महानगरपालिका देशकै नमुना सहर बन्ने कुरामा म ढुक्क छु । हाम्रो सपना भरतपुर महानगर स्मार्ट सिटी नै हो । - राजधानी राष्ट्रिय दैनिकबाट

प्रतिक्रिया दिनुहोस