Safal Khabar - अन्ततः बन्द गरियो गुगल प्लस, यो के हो र किन बन्द भयो ?
बुधबार, ०१ असोज २०७६ (Wednesday, 18 September, 2019)
अन्ततः बन्द गरियो गुगल प्लस, यो के हो र किन बन्द भयो ?
मङ्गलबार, १९ चैत २०७५, १४ : २७
अन्ततः बन्द गरियो गुगल प्लस, यो के हो र किन बन्द भयो ?

बीबीसी । संसारको दोस्रो सबैभन्दा मूल्यवान ब्रान्डको असफल सामाजिक सञ्जाल गुगल प्लस मङ्गलवार बिहानदेखि बन्द गरिएको छ ।

सन् २०११ मा फेसबुक र ट्विटरलाई चुनौती दिन खोलिएको यो सर्च इञ्जिन गुगलको सामाजिक सञ्जालमा हात हाल्ने चौथो प्रयास थियो।

तर गुगल प्लसलाई भिडिओका लागि चर्चित युट्युबमा जोड्ने प्रयास गरिए पनि प्रयोगकर्ताले यसलाई रुचाएनन्।

nic asia
Yeti Diistillery

सन् २०११ को अन्त्यतिरै यसका आलोचकहरूले यसको 'मृत्यु'को घोषणा गरिसकेका थिए, तर गुगलले सन् २०१८ मा यसका तथ्याङ्क चोरी भएको सार्वजनिक भएपछि मात्रै यसलाई बन्द गर्ने निर्णय गरेको थियो।

के हो गुगल प्लस?

सन् २०११ मा आमन्त्रणबाट मात्रै खाता खोल्न सकिने गरि गुगल प्लस शुरू भएको थियो। वर्षको अन्त्यमा यो सबैका लागि खुला गरिएको थियो।

सामाजिक सञ्जालमा जस्तो लेख्न र तस्बिरहरू सेअर गर्न मिल्ने सुविधा यसमा थियो।

तर गुगलले यसलाई 'सामाजिक तह'को रूपमा परिभाषित गरेको थियो, जुन यसका अन्य सबै उत्पादनहरूसँग जोडिएको थियो।

साथीहरूलाई 'सर्कल'को आधारमा समूह विभाजन गर्न मिल्ने र 'ह्याङ्गआउट' भनिने समूहगत भिडिओ कल गर्न मिल्ने यसका मुख्य सुविधाहरू थिए।

सार्वजनिक गरिएको केही हप्तामै यसमा लाखौं प्रयोगकर्ताहरू जोडिएका थिए। तर तीमध्ये एकदमै कम प्रयोगकर्ताले मात्रै यसलाई प्रयोग गर्नु नै यसको समस्या बन्यो।

"मैले खोल्थेँ र खालि पाना मात्रै देख्थेँ," पाउल टस्सीले फोर्ब्समा एक हप्तापछि नै लेखेका थिए।

"यो ठूलो र खाली उजाड स्थान थियो, जहाँ धेरै मानिसहरूले पाइला टेके तर के रहेछ भनेर बुझ्ने प्रयास गरेनन्।"

असफलताको कारण
"गुगल प्लस पहिलो दिनदेखि नै असफल हुने खालको थियो,," सामाजिक सञ्जाल सल्लाहकार म्याट नाभारा भन्छन्।

"यसको अनुहार, फेसबुक चर्चित भइसकेको अवस्थामा यसको आगमन, बुझ्न गार्हो अनुभव र गुगलभित्रै यसलाई कसरी व्यवस्थापन गर्ने भन्नेको असहमतिले यसलाई असर गर्‍यो।"

गुगल प्लसमा उपनाम प्रयोग गर्न नपाइने कडा नीति थियो र कसैले आफ्नो नाम प्रयोग नगरेमा जीमेल समेत निलम्बन हुने व्यवस्था थियो।

गुगलले अब के गर्छ ?
गुगलले यसलाई सफल बनाउन सन् २०१३ मा यसलाई युट्युबसँग जोड्यो र युट्युबको भिडिओमा प्रतिक्रिया लेख्न गुगल प्लस खाता अनिवार्य बनायो।

गुगल प्लेस्टोरमा मोबाइल एपहरूमा प्रतिक्रिया व्यक्त गर्न पनि गुगल प्लस खाता अनिवार्य थियो।

यसपछि युट्युबमा गरिएका लाइकहरू गुगल प्लसमा देखिन थालेपछि यसमा क्रियाकलापहरू देखिन थाले। र गुगलले यसको प्रयोगकर्ता पचास करोड पुगेको दाबी ‍गर्‍यो।

गुगल प्लसको अवसान
एप्रिल २०१४ मा गुगल प्लसका संस्थापक भिक गुन्ठोत्राले गुगल छोडे।

त्यसपछि गुगल प्लसका सफल सुविधाहरू ह्याङ्गआउट र फोटोज छुट्टै प्रयोग गर्न मिल्नेगरी बनाइयो।

प्लेस्टोर र युट्युबबाट पनि यसलाई बिस्तारै छुट्टाइयो र त्यसपछि सन् २०१८ मा ठूलो मात्रामा यसका तथ्याङ्क चोरिएको पुष्टि भएपछि यसको अन्त्य हुने निश्चित भयो।

गुगलका प्रमुख असफल सेवाहरू
गुगल बज (सामाजिक सञ्जाल), २०१०-२०११
गुगल डिक्सनरी (अनलाइन शब्दकोश), २०१०-२०११
गुगल ल्याब्स (नयाँ एप प्रयोगशाला), २००६-२०११
पिकनिक (तस्बिर सम्पादन), २०१०-२०१२
जाइकू (ट्वीटरजस्तै माइक्रो ब्लगिङ), २००७-२०१२
गुगल रिडर (आरएसएस संग्रह), २०११-२०१३
अर्कुट (सामाजिक सञ्जाल), २००४-२०१४
पिकासा (तस्बिर संग्रह) २००२-२०१६
क्रोमबुक पिक्सेल (ल्यापटप) २०१३-२०१७
गुगल अल्लो (सन्देश आदान प्रदान) २०१६-२०१९

प्रतिक्रिया दिनुहोस