Safal Khabar - कथा : गोहो
बुधबार, ०४ असार २०७६ (Wednesday, 19 June, 2019)
कथा : गोहो
आइतबार, १७ चैत २०७५, १६ : १५
कथा : गोहो

– जिके पोख्रेल
मधुले आकाशतिर हेरी। बादलको एउटा मुस्लो भौतारिएझैं देखिइरहेको थियो। कहिले गँगटोजस्तो भइरहेको थियो, कहिले अक्टोपसजस्तो। कहिले चारैतिर ठूला राष्ट्रले बेरेर लुकाएको नेपालको मानचित्रजस्तो देखिन्थ्यो। फेरि चारैतिर फैलिएका बादलका राक्षसी बाहु एकाएक कच्याककुचुक हुन्थे। क्षणको क्षणमै एउटै गुजुल्टो हुन्थे।

जनमैत्री अस्पताल छेवैमा कपडा उद्योग थियो। मधुको अफिस भनौ या काम गर्ने ठाउँ। बालाजु औद्योगिक क्षेत्र। ज्याला मजदूरी ठीकैको थियो। बाँच्न पुग्दो आडभरोसाकै भनौ। उसले स्नातकसम्मको पढाइ यही आयको सहायताले सम्भव बनाएकी थिई।

हरेक दिन बिहान ठ्याक्कै सात बजे मधु अफिसका लागि आफ्नो कामको सुई घुमाउँथी। साँझ सात बजेसम्म काममा व्यस्त रहन्थी। तर, उसको दिनचर्या भने कछुवा गतिमा चल्थ्यो।

एक दिन विष्णुमती पुलको मुखैमा उसले एक अनौठो लोग्ने मानिस देखी१ त्यो लोग्ने मानिस ऊतिरै फर्किएर साँढेले गाईको बाटो छेकेझैं छेकेर उभियो१

मधुलाई अनौंठो लाग्यो। मनमा डर पलायो। त्यसअघि उसलाई त्यसरी कसैले बाटो छेकेको थिएन। ऊ त्यो मानिससँग केही बोलिन। हेर्दा पनि हेरिन। वास्ता नगरी सरासर अघि बढी। तर, त्यो मानिस पनि निकै ज्याद्रो रहेछ। गार्मेन्टको गेटैसम्मै पुग्यो।

मधु सधैँ झैं सरासर गएर गार्मेन्टको गेटभित्र छिरी। दिनभरिका लागि जून लुकेझैं लुकी ऊ। साँझ घाम डुब्ने वेलामा गार्मेन्टको त्यही अग्लो गेटबाट झुल्किई।

गेटबाट बाहिरिनेबित्तिकै देखा पर्‍यो, बिहान देखिएको पुरुष१ मुसा ढुकेको बिरालोजस्तै ढुकेर उभिइरहेको थियो।

मधुलाई देख्नेबित्तिकै मुस्कुराउन खोज्यो। केही बोल्न खोजेझैं गर्‍यो। धित मरुन्जेल हेर्न खोजेझैं पनि गर्‍यो। तर, अहँ केही गर्न पनि सकेन।

ंंं

दिन बिते, हप्ताहरू बिते र महिना बित्यो। तर, त्यो मधुलाई पछ्याउने पुरुषको क्रियाकलाप बितेन१

मधुलाई त्यो मानिसले यति विघ्न पछ्याएको मन परेको थिएन। उसको त्यो प्राकृतिक सौन्दर्यको विनासपछि आजसम्म मधुले कसैलाई प्रेम प्रस्ताव राखेकी थिइन। कसैले राखिहाले त्यसलाई उल्लीबिल्ली पारिदिने गरेकी थिई।

मधु अनुहारले सुन्दरी थिइन। उसको घाँटीदेखि कानसम्मै तन्किएर बसेको खत छ। डढेघाउको कालो खाटोजस्तो। घाँटीदेखि मास्तिरको भाग खुम्चिएको छ। गुजमुज्ज परेर बसेको माकुरोजस्तो। ओठको माथिल्लो भागको बीचैमा पर्नेगरी कुलेसो काटेजस्तै देखिन्छ।

मधुको गालामा बर्खे तलाउजस्तै खोपिल्टो छ। त्यसैले ऊ ऐना हेर्दिन। हेरिहाली भने उसलाई आफ्नो अनुहार दशाको फोटोकपीजस्तै लाग्छ।

एक दिन उसले त्यो समस्यादेखि छुट्कारा खोज्ने निधो गरी। ‘बिरामी’ भएको समाचार पठाई र दुई दिन अफिसै गइन।

तेस्रो दिनको बिहान सधैंभन्दा आधा घण्टा ढिलो गरेर काममा हिँडी। विष्णुमतीको किनारमा पुगेपछि ऊ अचम्मित भई१

त्यो मानिस आज पनि त्यहीँ भेटियो१

ंंं

मधुलाई पटक्कै थाहा छैन, विष्णुमतीले किन यो अभिशप्त यात्रा गरिरहेछरु उसलाई विष्णुमतीको फोहोर झन् पछि झन् बढी गनाउन थाल्यो। खोला किनारको सिनोमा र्याल चुहाइरहेका कुकुर र काग देखेर पिच्च थुकी मधुले।

पुलको मुखैनिर बाटोमा उभिएर उसले दक्षिणतिर हेरी। आठ–दश घरमुन्तिर भ्याली कोल्ड स्टोर देखापर्‍यो। आकाशै छेडुँलाजस्तो गरी लम्किरहेको।

मधु अचानक झसङ्ग भई। दिनहुँ देखिने चिन्नु न जान्नुको पुरुषले उसैलाई हेरिरहेको रहेछ। त्यसको हेराइले मधुलाई शीताङ्ग बनायो। आँधीबेहरी मडारियो उसको मनमा।

“बैनी, ए बैनी१” बाँस चिरेजस्तो आवाजले मधुलाई बोलाइरहेको थियो।

मधु पनि कम थिइन, मकै पढ्केजस्तो आवाज निकाली, “के भनेकोरु”

त्यो पुरुष अक्क न बक्क भयो। उसको मुखबाट कुनै आवाज निस्किएन।

त्यसपछि मधु आफैँ बोली, ‘‘केटी पछ्याउँदै हिँड्नेरु काम छैनरु”

“एउटा कुरा गर्नुथ्यो।।।,” बल्लतल्ल ऊ रोक्किई–रोक्किई बोल्यो। यो आवाज निकाल्न उसलाई निकै ठूलो सकस परेको बुझिन्थ्यो ।

बाइसधारा जाने बाटो छोडेर औद्योगिक क्षेत्रभित्र पस्ने गेटनजिकै पुगेपछि मधु गार्मेन्टभित्र छिरी। तर, उसले काम गर्ने जाँगर देखाइन। घुमिरहेको चर्खा हेरिरही। मनमनै सोचिरही– मान्छेको जीवन चर्खाझैँ घुम्छ। पालैपालो आउँछन् सुख र दुःख। यही सुनेकी हो। तर, आफ्नो भने विगत बाह्र वर्षदेखिको अनुभव र भोगाइ एकसमान छ। किन होला, कहिल्यै उसले जीवनमा सुख र खुसी अनुभव गर्न नपाएकोरु

उफ१ उसको मन हावा लागेको सल्लोघारीझैँ सुसाइरह्यो। कामतिर पटक्कै ध्यान गएन।

“हेर्दा त त्यस्तो खराबजस्तो देखिँदैन,” मनमनै अनौठो मानिसको स्केच बनाई।

त्यो दिनभरमा उसले निष्कर्ष निकाली, बेनामीबाट छुट्कारा पाउनै भए पनि उसलाई नभेटी नहुने भयो।

तर, त्यो अनौठो पुरुषलाई भेट्ने साहस जुटाउन मधुलाई निकै दिन कुर्नुपर्‍यो।

ंंं

एक हप्तापछि।।।

मधुले उसको नाम–थर, वतन पालैपालो सोधी।

– सूर्यप्रसाद न्यौपाने

– पाँचथर, ओयाम, ७

“मलाई नै किन पछ्याउनुभयो तपैँलेरु”

“एक्सिडेन्ट भ’को गाडीको छेउमै सडकको कुलेँसामा स्कुलको आइडी कार्ड भेट्याथेँ। त्यै भ’र,” बिस्तारै बोल्यो सूर्यप्रसाद।

“मसँग एक्सिडेन्टमा पर्या अरू पनि त थे, तिनको पिछा गरे भै’गो नि,” मधुले प्रतिप्रश्न गरी।

उनीहरू बालाजु चोकमा उभिएरै कुरा गरिरहेथे। सूर्यप्रसाद बसपार्कछेउ राखेको बेञ्चको एक कुनामा बस्यो। कुहिनाले घुँडामा टेको लगायो। दुवै हत्केला गालामा डाम बस्ने गरी टाँस्यो। भुइँतिर एकोहोरो हेरिरह्यो।

“तर त्यो एक्सिडेन्ट आफैँ भएको थिएन। गराइएको थियो,” मधुले जिकिर गरी।

“था’छ,” सूर्यप्रसादले आफ्नै अनुहारमा ग्रहण निम्त्यायो। रानीवनमाथिको डाँडाबाट पारि गाउँतिर पाहुना लाग्न हिँडेको घामतिर हेर्‍यो र भन्यो, “सायद त्यस दिन मैले त्यो गाडीमा बम नफ्याँकेको भए।।।।”

“हँ १’ आफ्नो सुन्दर अनुहारलाई चुरे पर्वतझैँ खोचैखोच बनाइदिने पहिरो आज आएझैँ भयो मधुलाई। एकाएक भाउन्न भयो।

ंंं

पहिले–

एसएलसी सेकेण्ड डिभिजनमा पास गरी मधुले। परीक्षा दिएका छब्बीस जनामध्ये नौजनाले मात्र पास गरेका थिए। त्यति थोरैमध्ये पर्दाको हर्ष मधुले जीवनको कुनै भाँडामा थुनेर राख्न सकिन।

घरबाट जम्मा पैँतालीस मिनेट पैदल हिँड्दा यसै वर्ष खुलेको उमाविमा पढ्न पाइन्थ्यो। तर, पहिलेदेखि पढाइआएका तिनै अल्छी मास्टरले नै पढाउँथे। दिनभर जोतिएका गोरुझैँ थकित भएर कक्षाकोठामा छिर्थे। उसलाई गाउँकै उमाविमा पढेर जीवन सुध्रेला भनेर पटक्कै विश्वास लागेन।

घरबाट सदरमुकाम पुग्न चार घण्टा पैँतालीस मिनेट लाग्थ्यो। पैँतालीस मिनेट हिँडेपछि चारघण्टा गाडी चढ्नुपर्थ्यो। गाउँको काखैमा खुलेको कलेज छोडेर सदरमुकाम जान्छु भन्दा बाबुआमाले दिँदैनन् भन्ने कुरा मधुलाई राम्रैसँग हेक्का थियो।

मधुले एक दिन साँझ खोले पकाउँदै गर्दा आमासँग भनी, “आमा म फिदिम जान्छु ल पढ्नरु”

“के भन्छे योरु” प्रश्न भुइँमा झर्न नपाई डब्बीको खोलेभन्दा बढी फतफताइन् आमा, “पर्दैन थर्पूमै पढ्। कल्ले तेत्रो पोइसा आफल्न सक्छ, फिदिममा पढ्नलाई।”

आमाका कुराले मधुको कलिलो रहरको मुनामा ठुङ हान्यो। मधुलाई थाहा थियो, आमाले नमानेपछि बुबाले झन् मान्नुहुन्न।

बुबालाई बाथरोगले समातेको धेरै भयो। त्यसपछि घरव्यवहार आमाको जिम्मामा आएको थियो। हिउँद लाग्यो कि बुबाका खुट्टा सुन्निएर कान्निएको भैँसीको थुनजस्ता हुन्थे। भद्धा र मोटा देखिन्थे।

मधुलाई बुबाको सम्झना आयो। रनन्न भयो।

चालीस–पैँतालीस वर्षको उमेरमै बुबाले दीर्घरोगको करेसामा नाबो बाली गोड्दै बस्नुपरेको थियो। अस्पताल गए पनि केही महिनाको लागि मन बुझाउनी मात्र हुन्थ्यो। फेरि अर्को साल उस्तै गरी बढेर आउँथे खुट्टा र हात्तीका जस्तै हुन्थे।

उसको सदरमुकाममा पढ्ने मनले केही गर्दा विश्राम लिने छेकछन्द देखाएन। जुका परेको घाइते पाडोझैँ बुर्कुसी मारेको छ, मारेको छ गर्न थाल्यो।

साँझ पर्‍यो।

घरमा सबै भेला भए। बर्खा छिप्पिसकेको थियो। यतिवेला घाँस काट्न टाढा जानुपर्दैन थियो। खेतमै लुँडी थियो।

बेलुकाको खाना ऊ आफैँ पकाउँदै थिई। फर्सीका मुन्टा र भिण्डी मिसाएर तरकारी पकाएकी थिई। भात छड्किन थालेपछि फाममा मोही छ कि छैन भनेर हेर्न गई। अलिकति अमिलो भइसकेको मोही रहेछ। एक बटुको पानी थपी र बेस्सरी हल्लाई।

“होइन काँ गई यो मधुरु भातको पानी जिम्लिस’को। अघि कतिखेर भातको पानी उम्लिएर पोखिइसकेछ। चुलाँ तातो भुतभुते मत्तै छ,” बुबा भात छड्किएझैँ छड्किन थाले।

बिरामी मान्छे। उसै पनि कमजोरीले गालेको थियो। बल्लबल्ल रोगबाट तङ्ग्रिएका बाबुलाई केही भन्नु उचितै लागेन मधुलाई। ङिच्च दाँत देखाई। चुलाको छेउमा काठको पिरामा बसी।

ठोसठास पारेको दाउरामा सोतेले खलाँती लगाउँदै भनी, “बुबा म फिदिममा पढ्छु लरु”

बुबाको अनुहार शान्त देखियो। उसले बुबाको अनुहारतिर फर्किएर हेर्न सकिन। कुनै ठूलो ढुङ्गो बुबाको घाइते खुट्टामाथि बजारेझैँ लाग्यो उसलाई। त्रस्त भई। एक डल्लो परेर चुलाको रापनजिकै बसिरही।

बाबु निकैबेर बोलेनन्। ऊ केही नबोली बसिरहेकी थिई।

आमा आइपुगिन्।

“येल्ले बुबासँग फिदिम पढ्छु भनी कि क्याओरु” एकपल्ट हान्ने भैँसीले हेरेजसरी मधुलाई हेरिन् र फेरि भनिन्, “यो घरको सुसेधन्दा चैँ कल्ले हेर्छरु अल्कता पखेटा पलाएपछि बाउआमाको वास्ताव्यास्ता छैन।”

उही एउटै कुरामा दिनरातको किचलो कति गर्नुरु मधुको दिमागमा फिदिममा पढ्ने सपनाको ताँदो छिन्यो। उसको सपना बत्तिएर हुण्डरीको बीचमा परेको ढुकुरको बच्चोजसरी बिलौना गर्न थाल्यो।

ंंं

दाजुचाहिँ मलेसिया गएको ६ महिना भएको थियो। गाउँमा हुँदा दाजु र बहिनीको र्याङकोठ्याङ मिल्दैनथ्यो। मधु दाजुको कुरो आयो कि ‘लाउरेले के हेर्थ्यो चेलिबेटी’ भनेर ओठ लेब्य्राउँथी।

“दाजुसँग सल्ला गर। पठाउँछु भनो भने पढ्लिस्,” पहिलोपल्ट बुबाको बक फुट्यो।

बुबाको कुराले मधुको सपनाको आँधीबेहरी केही मत्थर भयो। तर, दाजुले पढ्न खर्च देला भन्ने सय मनमा एक मन पनि थिएन।

सधैँका आधारमा हेर्ने हो भने अब दुई दिनपछि फोन गर्ने पालो थियो। नभन्दै च्याङ्थापु जाने हुलाकी आइपुग्यो।

ढोकाबाहिरैबाट कराउँदै फर्किहाल्यो, “भोलि दिउँसो एक बजे पोषराजको फोन आउँछ अरे।”

फोन वार्ताले दाजुबहिनीको सबै रिसइबी पखालिदियो। बेलुका फर्केर आँउदा दाजुको सत्तोसराप गर्ने मधु रुँदैरुँदै आई।

“किन रो’की ओए अलच्छिनीरु” आमाले सात्तो टिपिन्।

“रुवायो घोइरेले।”

“के भनेररु”

“तँलाई पोइसा नदेर कुनचिँ रखौटीलाई दिन्छु भन्या तैँलेरु मैले त पढ्न सकिनँ। तँ जाँ पढ्छेस् पढ्। तैँले पढ्छु भनुन्जेल पढाउँछु भनो।”

“अनि झन् खुसी हुनुपर्दैन राँडरु”

“मैले बित्थामा उसलाई गाली गरेँ। घोइरे।”

घोइरेको मायाले अन्तमा सबैलाई रुवायो। घरका सबै पोषराजलाई घोइरे भन्थे। ऊ एकदमै कम बोल्थ्यो। सालघारीतिर एकोहोरो हेरिरहन्थ्यो। काम भए एक दुई घण्टामै पाकपुक पार्थ्यो। काम नभए भलिबल खेल्न हाइस्कुल जाने गर्थ्यो।

घोइरेको फोनले समस्या हल गर्‍यो। मधु फिदिम पढ्न जान पाउने भई।

ंंं

मार्कसिट आइपुग्न पन्ध्र दिन लाग्यो। नागरिकता बनाउन गाविसबाट सिफारिस बनाई। घोइरेले अठार हजार हालिदिएछ। दुई हजार घर खर्चका लागि छुट्याए। अरू मधुले डेराका सामान किन्ने र तीन महिनाको खर्च भनेर छुट्याए।

चार बजे नै उठेर हिँड्न सम्भव थिएन। खाथपामा काकाको डेरा थियो। त्यहीँ बसेर भोलिपल्टको गाडी चढी।

थर्पूदेखि बस बिहानै चार बजे छुट्यो। डेढ घण्टामा गाडी गोपेटार आइपुग्यो। पन्ध्र मिनेट जति बस्यो। चारजना मान्छे चढे गोपेटारमा। गाडीले डेग चल्ने छेकछन्द अझैं देखाएन।

झिसमिसे उज्यालो खस्यो भुइँमा। घोप्टेभीर र परेवाडाँडोले छेकेर बीचमा थुनेको थियो गोपेटार बजारलाई।

गोपेटारमा यात्रु थप्यो। अझैं ड्राइभरको लाद्रो भरिएन। पन्ध्र मिनेट रोक्ने भनेको गाडी आधा घण्टा रोकियो। यात्रु झगडा गर्न थालेका थिए।

यत्तिकैमा एक मिनेटको अन्तरालमा दुईवटा डरलाग्दा आवाज आए। गोपेटार बिउँझिनुअघि नै सामसुम भयो। गाडीको स्टार्ट बन्द गरेर ड्राइभर ओर्लियो। ऊ ओर्लिएको मात्र के थियो, नजिकै डाङडाङ र डुङडुङ गर्न थाल्यो।

गोली पड्किएको आवाज सेकेन्डसेकेन्डमा आउन थाल्यो।

तीन–चार घरपर्तिर सशस्त्र प्रहरीको अस्थायी क्याम्प बसेको थियो। त्यही क्याम्पमा माओवादीले आक्रमण गरेका रहेछन्।

गड्याङगुडुङपछि गाडीका स्टाफ नजिकैको गुरुङ्नीको चिया पसलमा लुकिसकेका थिए। जति गाडीमा थिए ती सबै बेसहारा छाडिएका थिए।

लगभग आधा घण्टापछि बन्दुकको आवाज आउन कम भयो। उज्यालो भइसक्यो। पहिलेकै ठाउँतिर संसारै थर्किनेगरी ड्यामड्याम आवाज आयो। त्यस्तो भयानक आवाज बाटो खन्ने मान्छेले ब्लास्टिङ पड्काउँदा मात्रै आउँथ्यो।

मधुले गाडीबाट निस्किएर बाटामास्तिरको घरतिर जाने विचार गरी। उसले गाडीबाट भुइँमा खुट्टा टेकेकी मात्र थिई गाडी नै उछिट्टियो। पहिले घोप्टेभीरमा पड्किएझैँ भयानक आवाजसहित गाडी पड्कियो।

ंंं

बाटो ध्वस्त भइसकेको थियो। ताप्लेजुङ र फिदिम दुवैतिरबाट आउने सेना रोक्न माओवादीले बम पड्काएका रहेछन्।

घोप्टेभीर र परेवाडाँडा दुवैतिरबाट बाटो थुनिएको थियो।

दिनभरि गोपेटार मौन रह्यो। वाकीटकी बोकेका दुईजना प्रहरीबाहेक कसैले ओहोरदोहोर गर्ने आँट देखाएनन्। कोही घरबाट बाहिर निस्केनन्।

साँझ पर्ने वेलामा घोप्टेभीरको बाटो पन्छाएर फिदिमबाट सशस्त्रको गाडीमा पचास–साठीजना आर्मी र प्रहरी आइपुगे।

मधु बेलुकातिर भिडन्त भएको एक सय मिटरमाथि घाइते अवस्थामा भेट्टिई। उद्दारकर्मी र मानवअधिकारवादीको टोलीले खोज्दै जाँदा भेटिएकी थिई। चितुवाले घिसारेको घाइते बाख्रो खोज्दै गएझैँ रगत चुहिएको गोहो पछ्याउँदै जाँदा भेटिएकी थिई ऊ।

उसलाई कसले त्यहाँ पुर्यायो भन्ने कुरा कसैले भन्न सकेन।

दुई महिनाको उपचारपछि मधुलाई घर फर्काइयो। उसको शरीरको देब्रे भाग सबै जलेको थियो। घाँटी र गालाको बीचमा थैलीको मुखझैँ मुजा परेका थिए।

मधु एक वर्षपछि कसैलाई थाहा नदिई घर छोडेर हिँडी।

– भिडन्तमा एउटा माओवादीमात्रै बाँच्यो रे।

– भिडन्तमा एउटा पुलिस हवल्दारले दर्जनभन्दा बढी माओवादीलाई एउटै बमले उडाइदियो रे।

– त्यो भिडन्तमा एउटा माओवादीले एउटी केटीको लास बोकेर भाग्यो रे।

– ६८ जना बसका यात्रु, प्रहरी र माओवादी गरेर सयौँ मान्छे मरे अरे।

– एउटी केटी मात्र बाँची अरे।

– त्यो बम काण्डपछि बम हान्ने केटोचाहिँ बौलाएको छ अरे।

यो घटना माथिका अरे बनेर लामो समय गाउँगाउँ चहारिरह्यो। यी उडिहिँड्ने अरेहरूले दिएको निष्कर्ष थियो– त्यसपछि गोपेटार बजारजस्तो रहेन।

ंंं

“मैले त्यसो गर्नु हुँदैनथ्यो,” सूर्यप्रसाद न्यौपाने मधुका अघिल्तिर क्षमा माग्न झोली बोकेर उभिएको महन्तझैँ शान्त उभिएको थियो।

“के गर्नुपर्थ्यो तरु” मधुले सोधी।

मधुको आवाजमा भूकम्प गइरहेको थियो। ओठ काँपिरहेका थिए। रिसले आँखाबाट रगत चुहिएलाजस्तो भएको थियो। ऊ निकैबेर घोरिई। रुन सकिन। हाँस्न सक्ने अवस्थै थिएन। मधुको अवस्था देखेर सूर्यप्रसाद आफैँ घाइते भइसकेको थियो।

“म अब यसरी पश्चात्तापमा जल्न चाहन्नँ,” सूर्यप्रसाद बोल्यो।

उसको मुखबाट माघको मौसम चिर्दै लेकमा खसेको तुसारोजस्तो चिसो बोली बुर्र झर्‍यो।

मधुको आक्रोशको तापमानले घट्ने नामै लिएन। झन्झन् बढ्यो, साँझपख टाइफाइडले अँठ्याएको बिरामीको शरीरमा ज्वरोजसरी।

मधुले चिच्याएर भनी, “तपाईं यहाँबाट गइहाल्नुहोस्। मलाई तपाईंको मुख हेर्नु छैन। टेर्नुभएन भने पुलिस बोलाउँछु।”

“पुलिसरु” सूर्यप्रसाद एक छिन टोलायो र भन्यो, “के गर्न सक्छ र पुलिसलेरु दुवै हात पछाडि लगेर बाँधेको कैदीझैँ कमजोर छ हाम्रो देशको पुलिस। त्यसमाथि मलाई के कुराको डररु”

“हो नि, किन लाग्थ्यो डर१ बम त खल्तीमा बोकेर हिँडेको गौरवशाली इतिहास भएको मान्छेलाई।”

“मैले त्यसो भन्न खोजेको होइन। पश्चात्तापले जलेर अब ममा कुनै जिउँदो सपना छैन। बस१ आफूले गरेको गल्तीमा प्रायश्चित गर्ने मौका पाऊँ।”

यति भनिसकेर कुकुरले लखेटेको स्यालझैँ त्रस्त भयो। मधुले सूर्यप्रसादको कुरा सुन्ने विचार गरेकै थिइन। तर, ऊ उठेर हिँडिहाल्न पनि सकिन। बरु सूर्यप्रसादले आफ्नो गुह्य इतिहास बान्ता गरेको सुनिरही। 

हो, बम मैले हानेको हुँ। तर, पत्याऊ त्यसपछिको घटना मैले देख्नुपर्छ भन्ने सोचेकै थिइनँ। लडाइँमा हिँडेको भन्नु मात्रै थियो। मृत्युसँगको त्यो भेट मेरो पहिलो थियो। मान्छेहरू चिच्याउँदै मर्दै गरेको देख्दा तत्कालै विचलित भएँ।

बाटामास्तिरबाट गाडीमा बम फ्याँकेर बारीको डिलमा गएर बसेँ। कारबाही पूरा नभई त्यहाँबाट नहिँड्नु भन्ने उर्दी थियो।

गाडीसँगै धेरै मान्छे धूजाधूजा भएर च्यातिए। मन थाम्नै सकिनँ। बाटामा झरेँ । गुरुङको दोकानको पेटीमा रगतको आहालमा कोही छटपटाइरहेको थियो– सर्पको मुखबाट भाग्यवश फुत्केर आएको मुर्छित भ्यागुत्तो छटपटाएझैँ।

टाउकामा बाँधेको रातो तारा भएको फेटा र कम्ब्याट ड्रेस हत्तपत्त फुकालेँ । क्षतविक्षत भएको गाडीतिरै फ्याँकिदिएँ। यसो गर्दा कोही आइपुगिहालेमा बम हान्ने मान्छे मर्‍यो भनेर सबै विश्वस्त हुन्छन् भन्ने लाग्यो।

एउटा मरेको मान्छेनजिकै झोला थियो। त्यसै झोलाबाट एउटा पाइन्ट निकालेर लगाएँ। हो अब म माओवादी रहिनँ।

ढुक्क भएँ। घाइतेलाई घिसार्दै सुरक्षित स्थानतिर लैजानुपर्छ भन्ने सोचेँ। तर, कता लाँदा सुरक्षित हुन्छ भन्ने हेक्का रहेन।

चितुवाले घिसारेको घाइते बाख्राको झैँ शरीरबाट रगत चुहिरहेको थियो। त्यतिखेर मलाई लाग्यो– म आफैँ चितुवा हुँ र एउटा निरीह बाख्राको शिकार गरेर जङ्गलतिर लैजाँदै छु।

खै के सोचेँ– लाग्यो एकपटक घाइतेको अनुहार हेर्नुपर्यो। अनुहारै नचिनिने गरी रगत लतपतिएको थियो। बिस्तारै

रगत पुछेँ।

तिमी हौ भन्ने चिनेँ। मेरो बाँकी रहेको चेतना मुर्छित भयो। पोषराजले विदेश जाने बेलामा भनेको थियो– तँ मेरा साथीहरूमा मिल्ने साथी होस्, मधुले पढेनपढेको विचार गर्दै गर्नू। मलाई खबर गर्दै गर्नू।

त्यसपछि म धाइफल तोडेर भाग्न थालेँ। जति भाग्न खोज्यो उति खुट्टा भासिएजस्तो हुन थाल्यो। जति दौडियो उति पछाडि सरेजस्तो हुन थाल्यो। पात्लेका ओसिएका पातमा चिप्लिँदै बेहोसबेहोस दौडिरहेँ।

त्यसै पनि मेरो होस् ठीक ठाउँमा थिएन। कतिबेर कुदेँ थाहा छैन।

होस् खुल्दा म अस्पतालमा थिएँ। तीन दिनपछि होस् खुलेको भन्ने सुनेको हुँ।

अरू धेरै कुरा सुनेँ । तर, जे सुनेँ त्यसले मलाई बाँच्न भने सजिलो भयो– सबै भन्थे, यस्तो सोझो र इमानदार मान्छे के भएर बौलायोरु

एकातिर आफ्नै पार्टीकाले कठोर कारबाही गर्लान् भन्ने डर थियो। अर्कातिर गाउँलेले थाहा पाए भने गाउँमै बसिनसक्नु हुन्छ भन्ने पीर। तर, वेलावेलामा गाउँतिर भने निस्किन थालेको थिएँ।

छ महिनापछि, एक दिन मन मिचेर पोषराजलाई भेट्न गएँ। नून खाएको कुखुरोजसरी पिँढीमा झोक्राएर बसेको थियो। मैले सोध्नै परेन। आफैँ सुनायो– गोपेटारको बम काण्डपछिको तिम्रो अवस्था। तिमी घरबाट भागेर हिँडेपछि खोज्दैखोज्दै आएको रहेछ। काउन्टरमा तिमीले काटेका टिकटको फोटोकपी गरेर लगेको रहेछ। आफैँले देखायो र पिर्लिक्क आँशु झार्‍यो।

पोहोर भेट भएको थियो। भन्थ्यो– बहिनीले छोडेर गइहाली, अचेल तिहारमा उसको फोटो र यही टिकटलाई माला र टीका लगाइदिन्छु। उसैले भनेपछि म तिमीलाई खोज्दै काठमाडौँ आइपुगेको हुँ। यतिका वर्षपछि बल्ल भेटेँ। आशा मारिसकेपछि।

पोषराजको पारा देखेर मलाई अचम्म लाग्छ। उसले आजसम्म बिहे गरेकै छैन। भन्छ– बहिनी बिदा नगरी म बिहा गर्दिनँ।

म मेरो लागि भन्दिनँ मधु, तिमी आमा र दाइको लागि घर जाऊ।

बौलाउनभन्दा बौलाएको अभिनय गर्न सजिलो हुँदो रहेछ– जसरी बाँच्नभन्दा बाँचेको अभिनय गर्न सजिलो हुन्छ। त्यही भएर आजसम्म कहिले बाँचेको त कहिले बौलाएको अभिनय गरिरहेको छु।

मलाई लाग्छ– अब तिमीले पनि मलाई माफी दिइनौ भने जीवनभर मेरो कर्मको रगतपच्छे गोहोमा भौँतारिइरहने छु।

सूर्यप्रसाद बोल्न सकेन योभन्दा बढी। नङले बसिरहेको सडकपेटीको बेन्च कोपट्याउन थाल्यो।

ंंं

मधुले केही भनिन। यसपटक सूर्यप्रसादप्रति कुनै सहानुभूति देखाइन। जुरुक्क उठेर आफ्नो बाटो समाती।

सूर्यप्रसादले अपलक हेरिरह्यो। उसले सोच्यो– मधुको जीवन पनि बाँच्नभन्दा बाँचेको अभिनय गर्नमा अभिषप्त छ।

(चैत २३ गते सार्वजनिक हुँदै गरेको कथा संग्रह गोहोबाट। १० कथा समेटिएको कथा संग्रहको मूल्य ३५० रुपैयाँ छ।)

प्रतिक्रिया दिनुहोस