एक करोडमा एक किलोमिटर सडक

सुमन गैरे

आइतबार, १७ चैत्र २०७५, १३ : १८
एक करोडमा एक किलोमिटर सडक

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र सडक निर्माणले तिव्रता पाउन थालेका छन् । केन्द्रीय बस टर्मिनल चोकदेखि शरदपुरतर्फको मूल सडकको पुनः पिच निर्माणको काम सुरु भएको छ । 
भरतपुर महानगर र लक्षित उपभोक्ताको लगानीमा निर्माण गर्न लागिएको सडकको ठेक्का वसन्त कन्स्ट्रक्सन प्रालिलाई परेको छ । महानगरको ७० प्रतिशत र स्थानीय उपभोक्ताले ३० प्रतिशत बेहोर्ने गरी बनाइन लागेको सडकको निर्माण सम्पन्न गर्न वसन्त कन्स्ट्रक्सनलाई एक करोड रुपैयाँको टेन्डर परेको निर्माण व्यवसायी विजय श्रेष्ठले बताउनु भयो । 

एक किलोमिटर ५५ मिटर लम्बाई, ८ मिटर चौडाई र ४० मिलिमिटर मोटाईमा गर्नुपर्ने पिचको लागि हाल बेसको गिटी झार्ने काम सुरु भएको छ । निर्माण म्याद फागुन महिनामै सकिएको यो सडकले अहिले आएर गति लिन थालेको छ । नहरको जग्गाको विषयमा स्थानीय उपभोक्ताबीच विवाद बढेपछि लगातार काम गर्न नपाएपछि समयमै निर्माण सम्पन्न गर्न नपाएको निर्माण व्यवसायी श्रेष्ठको भनाइ छ । 

जेठ मसान्तसम्म म्याद थपको लागि महानगरमा निवेदन दिएको र वैशाख महिनाभित्रै निर्माण सम्पन्न गर्ने श्रेष्ठको भनाइ छ । थपिएको म्याद अगावै गुणस्तरीय निर्माण सम्पन्न गर्नका लागि सहजीकरण गर्ने वडा अध्यक्ष यमलाल कँडेलले बताउनु भयो । गुणस्तरीय सडक निर्माणको लागि बुद्धि ढकालको अध्यक्षतामा नमुना पिच निर्माण उपभोक्ता समिति गठन गरिएको छ । 

यसैगरी भरतपुर–९ मा रहेको केन्द्रीय बस टर्मिनल परिसरमा पुनः पिच निर्माण कार्य सुरु भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना चितवनको निगरानीमा बनाउन लागिएको बसपार्क पुनः निर्माणको लागि रविना कन्स्ट्रक्सन प्रा.लि. काठमाडौँलाई ठेक्का परेको छ । कुल १४ करोड २४ लाख ७७ हजार १ सय ९८ लागत अुनमान गरिएको निर्माण कार्यको लागि भ्याटसहित ९ करोड १८ लाख २३ हजार ३ सय रुपैयाँको सम्झौता भएको आयोजना प्रमुख कुमार घिमिरेले बताउनु भयो । 

नेपाल सरकारको बजेटमा निर्माण गर्न लागिएको आयोजनाको सम्झौता गत पुस १६ गते गरिएको थियो । २०७७ साल पुस १५ गतेभित्र निर्माण कार्य सम्पन्न गर्नु पर्ने सम्झौतापत्रमा उल्लेख छ । हाल बसपार्कको भुइँ भत्काएर बेस तयार गर्ने काम सुरु भएको छ । रड बुनेर पिच ढलाई गर्ने, टुटेफुटेका संरचनाको पुनर्निर्माण गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस