जीवनभर अरुकै लागि सोच्ने अधिवक्ता रहेनन्

शनिबार, १६ चैत्र २०७५, १७ : ३२
जीवनभर अरुकै लागि सोच्ने अधिवक्ता रहेनन्

भरतपुर । वीरेन्द्र बहुमुखी क्याम्पखी, भरतपुरका भौतिकशास्त्रका प्राध्यापक एवम् विधि र विज्ञानका भण्डार मानिने अधिवक्ता कोषराज काफ्लेको ५६ वर्षको उमेरमा निधन भएको छ ।

२०१९ असार १९ गते जन्मिएका काफ्लेको त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेकोमा शुक्रबार राति ९ बजे निधन भएको हो ।

प्राध्यापनभन्दा बढी अदालती बहसका कारण चर्चित काफ्लेले अन्यायसँग लड्दालड्दै आफ्नो स्वास्थ्यका बारेमा सोच्ने फुर्सदसमेत पाएका थिएनन् । सिकिस्त बिरामी हुँदासमेत उपचारमा नअलमलिने उनी जीवनको अन्तिम सेकेन्डसम्म कानुनी स्वयंसेवामा सक्रिय रहे ।
उनका श्रीमती र दुई छोरी छन् । तर, उनले कहिल्यै पारिवारिक जीवनमा भुलेनन् । सधैँभरि वकालत र सार्वजनिक हितको विषयमा सोच्ने उनी काठमाडौँमा एक्लै बस्दै आएका छन् ।

उनलाई नजिकबाट बुझेका पत्रकार एकल सिलवालका अनुसार, काफ्लेले सार्वजनिक जग्गा, भूसंरक्षण, वातावरणलगायतका मुद्दा मामिलाहरुमा बहस गर्दै आएका थिए । अन्यायमा परेका पीडित व्यक्तिहरु खोजेर आफैँले खर्च गरेर पनि उनले मुद्दा लडेर न्याय दिलाएका थिए ।

पत्रकार सिलवालका अनुसार २५ वर्षअघिदेखि मुद्दाको बहस पैरवी गर्दै आएका काफ्लेले संवैधानिक अदालतबाट अस्थायी शिक्षकलाई स्थायी, कर्मचारीलाई न्याय, बाढीपीडितलाई क्षतिपूर्तिलगायत ८० लाख मानिसहरु लाभान्वित भएका छन् ।

उनले अख्तियार दुरुपयोग आयोगमा ४०० भन्दा बढी निवेदन र उजुरी दिएका थिए । जसमध्ये डा भक्तमान श्रेष्ठको भ्रष्टाचारको विषय पनि एक थियो ।

आरामको ख्याल नगरी अन्याय र अत्याचारमा परेका व्यक्तिहरुका लागि समय दिएका उनले आफ्नो ‘बायोग्राफी’ भन्दा अरुकै लागि मह¤व दिएर आफ्नो जीवनलीला समाप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस