बाहिरी चक्रपथ

भूमाफियाको चलखेलले बाहिरी चक्रपथको काम अलपत्र

आयोजनाको साढे ६ किलोमिटरभित्र २ हजार ९ सय कित्ता जग्गा खण्डीकरण

सफल खबर संवाददाता

विहीबार, १४ चैत्र २०७५, १३ : ०८
भूमाफियाको चलखेलले बाहिरी चक्रपथको काम अलपत्र

काठमाडौँ । काठमाडौं उपत्यकामा विस्तार गर्ने भनिएको ७२ किलोमिटर दूरीको बाहिरी चक्रपथ आयोजना अलपत्र परेको छ । करिब २० वर्षअघि व्यवस्थित शहरको सोचसहित अघि बढाउन खोजिएको बाहिरी चक्रपथ आयोजनालाई भूमाफियाले जग्गाको भाउ बढाउने अस्त्रको रुपमा उपयोग गर्दा आयोजना नै अलपत्र परेको हो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पालामा आयोजना अघि बढाउन भन्दै जग्गा बेचविखनमा रोक लगाइएको थियो । तर बेचविखन रोक्न आवश्यक कानुनी संरचना तयार नपारेकोले जग्गा बेचविखन तीब्र रुपमा भयो । बाहिरी चक्रपथ आयोजनाको जग्गा अधिग्रहण गरेर आयोजनालाई अघि बढाउने निर्णय भई आयोजनाको पहिलो खण्डको जग्गा रोक्का गर्ने सूचना प्रकाशन गरिदिन जिल्ला प्रशासन कार्यालयमा प्रस्ताव पठाए पनि निर्णय कार्यान्वयन भएको छैन ।

जिल्ला प्रशासन कार्यालयले ‘जग्गा प्राप्ती ऐन २०३४ अनुसार रोक्का गर्ने’ भन्ने वाक्यांश थपेर ल्याएमात्रै रोक्काका लागि सूचना निकाल्न सकिने बताएर भूमाफियाको पक्षमा काम गरेको देखिन्छ । आयोजनाले प्रस्ताव तयार पारेर स्वीकृत गराउँदा जग्गा प्राप्ती ऐन छुटेका कारण जग्गा रोक्काको प्रक्रिया अघि बढ्न नसकेको बताएको छ ।

बाहिरी चक्रपथको नाममा भूमाफियाले हुने नहुने सबै खालको चलखेल गरेका कारण आयोजनाको भविष्य नै अन्यौलमा परेको छ । राजधानीको बसोबासलाई व्यवस्थित बनाउन अघि बढाइएको भनिएको बाहिरी चक्रपथ आयोजना नबन्ने जस्तो देखिएको छ । बाहिरी चक्रपथ बन्ने स्थानको जग्गा ससाना टुक्रामा बिक्री भएकाले आयोजनानै अनिश्चित बनेको सम्वद्ध निकायले समेत स्वीकार गरेको छ ।

बाहिरी चक्रपथ आयोजनाको साढे ६ किलोमिटरभित्र २ हजार ९ सय कित्ता जग्गा खण्डीकरण भएको पाइएको छ । भूमाफियाले तीन आनाभन्दा कममा पनि जग्गा टुक्रा पारेर बिक्री गरेको पाइएको छ । आयोजनाभित्र परेका क्षेत्रमा तीन÷चार आनामा कित्ताकाट भएको भेटिएपछि ल्याण्डपुलिङमार्फत व्यवस्थापन गर्न कठिन हुने निष्कर्ष आएको छ ।
बाहिरी चक्रपथमा मात्रै हजारौ संख्यामा कित्ताकाट भएको उपत्यका विकास प्राधिकरणले जनाएको छ । आयोजनाको एलाइन्मेन्ट नै परिवर्तन हुने भएकाले सर्वसाधारणको पैसा फस्ने देखिएको छ । केही महिनाअघि चाइना इन्जिनियरिङ कर्पोरेशनले चक्रपथ आयोजनाको एलाइन्टमेन्ट परिवर्तन गरेर बाहिरी चक्रपथ निर्माणको प्रस्ताव गरेको थियो । तर सो प्रस्तावलाई अर्थ मन्त्रालयले अस्वीकार गरेको छ ।

कस्तो बन्नेछ बहिरी चक्रपथ ?
बाहिरी चक्रपथ ८ लेनको बन्नेछ। सडकका दुवै भागमा साइकल ट्रयाकका साथै ग्रिन बेल्टसहितको फुटपाथ निर्माण हुने बताइएको छ। फुटपाथसहित ५० मिटरको बाटो बन्ने छ भने बाटोको दुवैभागमा २ सय ५०–२ सय ५० मिटरको जग्गा विकास योजना बन्नेछ।

चक्रपथले काठमाडौँ उपत्यकाका तीन वटै जिल्लालाई छुनेछ, भने तराई जोड्ने फास्ट ट्रयाकका साथै अरनिको, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गसँग जोडिने छ। यसका साथै चक्रपथमाचारवटा फ्लाइओभर बन्नेछ।  ७२ किलोमिटर दूरीको बाहिरी चक्रपथको निर्माणका लागि साढे ६ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ।

पहिलो खण्डमा चोभारदेखि गाम्चाहुँदै सतुंगल सम्मको ६ किलोमिटर सडक निर्माण गरिने भनिएको थियो। गत वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकबाट पहिलो खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत भइसकेको छ। तर, पहिलो खण्डको जग्गामा कित्ताकाटको समस्या देखिएपछि निर्माण कार्य अगाडि बढ्न सकेको छैन। पहिलो खण्डको ६ दशमलव ६ किलोमिटर जग्गामा २ हजार ९ सय ५३ वटा सानाकित्ता परेपछि त्यसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल भइरहेकाले निर्माण कार्य रोकिएको काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपाने बताउँछन्।

करोडौँ रुपैयाँ खर्च गरी तयार गरिएको बाहिरी चक्रपथ निर्माणसम्बन्धी डिजाइनलाई आयोजनाको दराजमा थन्क्याइएको छ । यस अवधिमा सरकारले अध्ययन परामर्श तथा कर्मचारी तलबका लागि भनेर करिव ४० करोड रुपैयाँ खर्च गरिसकेको छ । विस्तृत अध्ययन प्रतिवेदन भइसक्यो । त्यसले छुने जग्गामा भौतिक परिवर्तन गर्न वा घर बनाउन पाउनु नपर्ने हो । त्यसैले त्यहाँ धेरै पहिले नै जग्गा रोक्का हुनुपथ्र्याे । जग्गा रोक्का गरिएको छैन तर घर निर्माण गर्न नगरपालिकाहरूले अनुमति दिइरहेकै छन् । अहिले पनि ती जग्गामा धमाधम घर बनिरहेका छन् । ती घरलाई भत्काएर बाहिरी चक्रपथ निर्माण गर्ने कुरा अब त्यति सजिलो छैन ।

सरकारले उपत्यकाभित्रका तीन वटै जिल्लालाई छुने गरी ५० मिटर चौडा बाहिरी चक्रपथ निर्माण गर्ने परिकल्पना गरेको थियो । कागजी योजना अनुसार बाहिरी चक्रपथको लम्बाइ ७२ किलोमिटरको छ । हाल भएको चक्रपथको लम्बाइ २७.२ किलोमिटरको छ ।

प्रतिक्रिया दिनुहोस