पदबाट हट्ने भएपछि मन्त्रीहरु त्राहीमाम्

सफल खबर संवाददाता

आइतबार, १० चैत्र २०७५, १४ : ४३
पदबाट हट्ने भएपछि मन्त्रीहरु त्राहीमाम्

काठमाडौँ । दुईतिहाईवाला ओली सरकारमा रहेका मन्त्रीहरुमध्ये केही मन्त्रीको पद धरापमा परेपछि उनीहरुबीच त्राहीमाम्को अवस्था सिर्जना भएको छ । मन्त्री पद छाड्नु पर्ने भयले केही मन्त्रीले सार्वजनिक कार्यक्रममै रोइलो मच्चाउन सुरु गरेका छन् ।

चालु आवकाको बजेट कार्यान्वयनको अवस्था हेर्ने हो भने मन्त्री रघुवीर महासेठले सम्हालेको यातायात मन्त्रालयको हालत चौपट रहेको छ । कुनै पनि आयोजनामा ठोस प्रगति भएको छैन । पछिल्लो पटक चीनसँग भएका सम्झौता तथा सहमति समेत कार्यान्वयन गर्न कुनै चासो दिएका छैनन् उनले । महत्वपूर्ण र ठूला भौतिक पूर्वाधार निर्माणको काम समेत अगाडि बढ्न सकेको छैन । रेलमार्ग, सडक , पुल तथा अन्य भौतिक पूर्वाधारको काम समेत अगाडि बढेको छैन ।

कमाउने धन्दामा महासेठको टिम नै परिचालित छ । पैसा दिएपछि सात खत समेत माफ हुने शैलीमा मन्त्री महासेठ प्रस्तुत भएका छन् । मन्त्री पद गुम्ने भएपछि उनी सरकार सफल भएपनि असफल भएपनि आफ्नो केही नहुने भन्दै प्रस्तुत भएका छन् । पछिल्लो पटक सरकार पुनर्गठनको विषयमा राजनीतिक बजारमा राम्रै हल्ला आयो । महासेठ समेत बर्खास्तीमा पर्ने अवस्था आएको भन्दै त्यसको सूचना प्रधानमन्त्री निवास बालुवाटारबाट सञ्चारमाध्यममा चुहाइयो । पानी छाम्ने ध्येयका साथ उक्त सूचना समाचारको बजारमा चुहाइएको थियो ।

सडकको ठेक्का होस् वा पुलको, जहाँबाट पनि उनलाई पैसा चढाउनु पर्छ । आयोजना स्वीकृतिमा होस् महासेठको भाग छुट्याउनु नै पर्छ । नयाँ आयोजनाको तयारी होस् वा कुनै डीपीआरको काम नै किन नहोस्, उनी आफ्नो भाग लिइहाल्छन् । उनलाई भाग दिनु नै पर्छ । जसरी भएपनि पैसा कमाउने र राज्यलाई खुलमखुल्ला लुटपाट गर्ने विशेष दख्खल छ भन्छन् उनलाई चिन्ने जान्ने नेता तथा कार्यकर्ता । मन्त्री महासेठको काम गर्ने शैली छैन, कर्मचारीलाई परिचालन गर्ने हुती छैन ।

सरकारले यातायात क्षेत्रको एकाधिकार हटाएको भन्दै सरकारको सफलताको सूचीमा यो विषयलाई महत्वका साथ समेटेको छ । तर मन्त्री महासेठ यातायात व्यवसायीको मागभन्दा चार कदम अगाडि बढेर सार्वजनिक यातायातको भाडा बढाउन लागेका छन् । एकाधिकार चलाउने यातायात व्यवसायीको माग अनुसार देशभरका समितिको नाममा रहेको खाताबाट रकम निकाल्न समेत दिएका छन् । केही नेपाल ऐन संशोधन मार्फत कम्पनी ऐनको केही प्रावधान समेत संशोधन भयो । तर महासेठले पुनः व्यवसायीको हित हुने गरी सार्वजनिक सवारी साधनलाई कम्पनीमा जान दिइएको म्याद पुनः थप गरिदिएका छन् । उनले व्यवसायीसँग न्यूनतम एक लाखदेखि पाँच लाख रुपैयाँसम्म घुस लिएको चर्चा सिंहदरबारभित्र हुने गरेको छ ।

यिनै महासेठ मन्त्रीबाट बर्खास्तीमा पर्ने सम्भावना बढेर गएपछि जनकपुर पुगे । एउटा सार्वजनिक कार्यक्रममा झण्डै रौएनन् । भाषण गर्दै उनले भने, ‘मलाई मन्त्रीबाट हटाइँदैछ भन्ने सुनेको छु । नेपाल सतीले सरापेको देश नै रहेछ । मैले राम्रो काम सुविचारित तवरले गर्दा समेत मन्त्रीबाट हटाउन लागिएको छ ।’ उनले त्यत्तिमात्रै भनेनन् । आफूलाई मन्त्रीबाट हटाइए त्यसको परिणाम समेत राम्रो नहुने भन्दै धम्की समेत दिन भ्याए । मन्त्रीबाट हट्ने भएपनि उनी सार्वजनिक कार्यक्रममा रुन नै खोज्नु र मुर्छा नै पर्न खोज्नुले पनि उनले के कति मात्रामा बदमासी गरेका रहेछन् भन्ने पुष्टि भएको जानकारहरु बताउँछन् ।

आपतमा अर्थमन्त्री
रक्षामन्त्री इश्वर पोखरेलदेखि अर्थमन्त्री डा. युवराज खतिवडाको अवस्था पनि उस्तै रहेको छ । अर्थमन्त्री डा खतिवडाले राजश्व समेत उठाउन सकेका छैनन् । विकास निर्माणमा विनियोजन गरिएको बजेट समेत कार्यान्वयनमा जान सकेको छैन । समृद्धिको नारा दिने प्रधानमन्त्री केपी शर्मा ओली अर्थमन्त्री खतिवडाको कार्यसम्पादन विवरण हेर्दा हैरान भएका छन् ।

अर्थमन्त्री डा. खतिवडा सबैभन्दा बढी असफल भएपछि उनलाई जसरी पनि हटाउनै पर्ने बाध्यतामा सरकार पुगेको छ । तर प्रधानमन्त्री ओली भने पूर्वमाओवादी केन्द्र निकटका मन्त्री हटाइहाल्ने र पूर्वएमालेका तर्फबाट सरकारमा सहभागी भएकाप्रति कमजोर तवरले प्रस्तुत भएपछि कसैको केही लाग्दो रहेनछ भन्ने पनि पुष्टि भएको छ । यसको साथै प्रधानमन्त्रीमा अझै पनि विगतको तुषले त काम गरिरहेको छैन भन्ने आशंका जन्माइदिएको छ । हटाउने हो भने सबैलाई एकमुष्ठ हटाएर नयाँ सेट ल्याउने हिम्मत प्रधानमन्त्रीले गर्नुपर्नेमा एकाध मान्छेलाई मात्रै हटाएर सरकारको गति बढ्ने देखिँदैन ।

बर्खास्तीको सूचीमा यादव र पण्डित पनि
धनुषाबाटै निर्वाचित मातृकाप्रसाद यादवले समेत मन्त्रीबाट हट्नु पर्ला भनेर ठूलो गुनासो गरेका छन् । उनले पनि आफूले राम्रो काम गरेको दाबी गरेका छन् । कार्यसम्पादन क्षमता नै नभएका, कुनै पनि देखिने काम नगरेका र कुनै पनि अर्थमा मन्त्री हुन लायक नभएको भन्दै सामाजिक सञ्जालमा मातृकाको चर्को आलोचना हुने गरेको छ ।
स्वकीय सचिव सन्तोष विष्टले मन्त्रीको नाम लिँदै चन्दा उठाएको विषय समेत मातृकाको हकमा नयाँ विषय होइन । जायज काममा समय नदिने, उद्योगी व्यवसायीको पीर मर्का नबुझ्ने र केवल एकांकी स्वभावका मातृकाका कारण पनि सरकार बदनाम भएको निष्कर्षमा नेकपा र पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ओली र अर्का पार्टी अध्यक्ष प्रचण्ड समेत पुगेका छन् ।

ओली सरकारका अर्का मन्त्री लालबाबु पण्डित पनि बर्खास्तीको सूचीमा रहेका छन् । कर्मचारीलाई काम चोर भन्दै गाली गर्ने गाली शिरोमणिको रुपमा स्थापित भएका लालबाबु पनि पछिल्लो दिनमा साइकल मन्त्रीको उपमा दिएर कमाउ धन्दामा लागेका छन् ।
कर्मचारीको समायोजन, सरुवा बढुवा तथा पोस्टिङमा समेत लालबाबुले घुस लिने गरेको चर्चा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा हुने गरेको छ । पैसा बेगर कुनै पनि निर्णय नगर्ने र साइकल मन्त्रीको परिचयमा धब्बा लगाएका लालबाबुलाई हटाउने र उनको स्थानमा अर्का सक्षम व्यक्तिलाई ल्याउने तयारीमा प्रधानमन्त्री लागेका छन् ।

थममाया थर्थर
कार्यसम्पादनमा असाध्यै कमजोर रहेकी महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको अवस्था पनि उस्तै रहेको छ । मन्त्रीबाट जागिर खोसिने भएपछि उनी समेत मैले के गल्ती गरेको थिए र ? भन्दै सार्वजनिक स्थलमा नै रुवाबासी गर्न थालेकी छिन् । महिला भएकै आधारमा आफूलाई खेदियो भन्दै थापाले समेत घुर्की देखाउन थालेकी छिन् ।

ओली सरकारको मन्त्रिपरिषद्मा रहेका धेरैजसो मन्त्रीको कार्यसम्पादन क्षमता असाध्यै कमजोर रहेको छ । उनीहरु विगतको चल्ते, चलाते सरकारको शैलीमा प्रस्तुत भएका छन् । उनीहरुलाई जनताको चाहना र आवश्यकताको विषयमा सोच्ने फूर्सद नै नभएको जस्तो देखिन्छ ।

विश्वास गरिएका, आफ्ना ठानिएका र राम्रा काम गर्छन् भन्ने अपेक्षा राखिएको मन्त्रीहरु नै खराब भएपछि कसैको केही लाग्दो रहेनछ । कार्यक्षमता कमजोर भएका मन्त्रीलाई हटाउँछु भन्दा म त बिरामी पो पर्छु कि अथवा, म नभए आकाश नै खस्छ भने जसरी मन्त्रीहरु नै स्वयम् प्रस्तुुत हुनुले उनीहरु पद र प्रतिष्ठाप्रति कुन हदसम्म आशक्त रहेछन् भन्ने पुष्टि भएको छ । यस्तो अवस्थाले सरकारले साँच्चै जनताको सेवा गर्ने हो र आर्थिक समृद्धिको लक्ष्य पूरा गर्ने हो भने कामचोर र कमाउ धन्दामा लागेका मन्त्रीलाई तत्काल बर्खास्त गरेर नैतिकता देखाउनुपर्ने अवस्था आएको जानकारहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस