मजस्तो सेलिब्रेटीले चिट चोरेमा अरुले के सिक्ने ?

सफल खबर संवाददाता

विहीबार, ०७ चैत्र २०७५, १६ : ४५
मजस्तो सेलिब्रेटीले चिट चोरेमा अरुले के सिक्ने ?

चितवन । करिश्मा मानन्धरलाई नचिन्ने सायदै होलान् । सेलिब्रेटीको हिसाबले चिनिएकी करिश्मा विगत केही वर्षदेखि राजनीतिज्ञको हिसाबले पनि चिनिएकी छन् । यतिबेला उनको बेग्लै दौडधूप छ । न कुनै चाडले उनलाई छोएको छ, न कुनै चलचित्रको सुटिङले । उनको दौडधूप यतिबेला पढाइमा छ । 
उनी चैत १० गतेबाट सुरु हुने एसईई परीक्षा दिँदैछिन् । त्यसैले उनी यतिबेला चर्चाको शिखरमा छिन् । एकातिर सेलिब्रेटी, अर्कोतिर राजनीतिज्ञ, अनि यो उमेरमा एसईई, छुटै चर्चा छ उनको । ज्ञान लिनेकुरा जन्मेदेखि चितामा नपुगेसम्म लिनुपर्छ, करिश्मा यही भन्दै यतिबेला पढाइमा व्यस्त भइरहेकी छन् ।  
ललितपुरमा जन्मेकी करिश्मा १४ वर्षकै उमेरमा रजत पटमा आइन् । त्यतिबेला आठ कक्षामा थिइन् । रजतपटले उनको पढाइ निल्यो र यतिबेला करिश्मा पढेर सबैको उदाहरणीय पात्र बनेकी छन् । उनको पहिलो चलत्रि २०४२ सालमा निर्माण भएको सन्तान हो । जसमा नायिका करिश्मा थिइन् । कस्तुरी चलचित्रमा काम गरेपछि उनले चलचित्रका निर्देशक विनोद मानन्धरसँग विवाह गरिन् । उनको एक छोरी कविता छिन् । 
प्रत्येक वर्ष करिश्माको घरमा फागु पर्व हुन्थ्यो, यसपटक उनलाई एसईईको तयारीले त्यो अवसर दिएन । अहिले उनी यति व्यस्त छिन्, सबै समय पढाइले खाइरहेको छ । उनले भनिन्, ‘सबै समय पढाइमा दिइरहेको छु, दुई वटा विषयका (गणित र लेखा) शिक्षक घरमा नै आएर पढाइरहनुभएको छ । एक महिनादेखि विद्यालय जान छोडेकी छु ।’ उनलाई सबैभन्दा गाह्रो साइन्स लाग्छ । उनको घोेकेरभन्दा बुझेर पढ्ने बानी छ । उनका अनुसार शिक्षकले पनि घोेकेरभन्दा बुझेर पढ्न सल्लाह दिएका छन् । 
विगत ३ महिनादेखि कतै गएकी छैनन् । न राजनीतिक कार्यक्रममा न फिल्मका कार्यक्रममा । सबै समय पढाइमा लगाएकी छन् । तर पनि एउटा चलचित्रमा उनले अभिनय गर्न भ्याइन् । 
टेस्ट परीक्षामा सोचेअनुरुप नतिजा आएको करिश्माले बताइन् । उनका अनुसार सबैभन्दा कम अंक साइन्समा आएको थियो । उनले अहिलेसम्म चिट चोरकी छैनन् । उनी भन्छिन्, ‘मजस्तो सेलिब्रेटीले चिट चोरेमा अरु विद्यार्थीले के गर्लान् ? मबाट उनीहरुले के सिक्ने ? एसईईमा सोचेजस्तो नतिजा आए करिश्माले के पढ्लिन् ? उनी भन्छिन्, ‘समाजशास्त्र लिएर कलेज पढ्ने विचार गरेकी छु ।’

प्रतिक्रिया दिनुहोस