ओझेलमा परेका प्रितम र आयुष

विहीबार, ०७ चैत्र २०७५, ११ : ४७
ओझेलमा परेका प्रितम र आयुष

काठमाडौँ । श्रृंखला खतिवडा मिस नेपाल भइन् । सम्पूर्ण मिडियामा छाइन् ।  उनका विषयमा समाचारमा मिस नेपालसँगै जोडियो उनका नेता बुवा आमा बिरोध खतिवडा र मुनु सिग्देललाई । मिस वल्र्डमा भाग लिन चीन जाने भइन् । नेपाली सञ्चारमाध्यम हात धोएरैपछि लाग्यो । केही टाइटल जित्दै प्रतिस्पर्धाको अन्तिम चरणसम्म पुग्दा देशको नेतृत्वमा रहेका उनका बाबु आमा छोरी भेट्न कार्यक्रम स्थल सम्मै पुगे प्लेन चढेर ।

सोही प्रतिष्पर्धामार्फत छानिएर अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन गएका थिए, मिस नेपाल अर्थ प्रिया सिग्देल र मिस नेपाल युनिभर्स मनिता देवकोटा । अझ मनिताको त यस प्रतियोगितामा नयाँ सहभागिता नेपालबाटै साथ सहयोगको अझ बढी खाँचो त उनलाई थियो । एक कार्यक्रममा प्रियाले त भनेकी थिइन् मैले आफुले प्राप्त गरेको उपाधिको बारेमा पटक पटक बोल्न पर्यो । जब कि पत्रकारलाई हामी केका लगि गएका थियौ भन्ने सम्म थाहा रहेन छ । आक्रोश अस्वाभाविक थिएन ।

यही बेवास्थाको भुमरीमा फसेका छन् भारतीय रियालिटी शो ‘सारेगमप’ लिटिल च्याम्पका अब्बल नेपाली प्रतिष्पर्धी प्रितम आचार्य । सुनसरीको इटहरीका स्थानीय बासिन्दा आचार्यको विषयमा नेपाली सञ्चारमाध्यम बेखबर जस्तै छन् । भारत र सम्पूर्ण विश्व कै ध्यान उनीतर्फ रहेको समय नेपालमा भने उनको बारेमा खासै चर्चा भएको देखिदैन ।

नेपाली मुलका भारतीय प्रशान्त तामांगलाई नेपाली भन्दै भोट गरेर जिताउने नेपालीको जोश प्रितमको विषयमा भने एकजुट नभएको भान हुन्छ । कक्षा ७ मा पढ्ने प्रितम झैँ अब्बल आयुष केसी पनि यो प्रतियोगितामा सहभागी छन् । दुवैको आवाजले सुन्ने सबैको मन जितेको छ । जजहरुको वाहवाही बटुलेका यी दुइको पोशाकको चर्चा समेत जुरी मेम्बर बीच चल्ने गर्छ ।

तर नेपाल र नेपालीको पहिचान जनाउने पोशाकको सम्मान र प्रचार गरे पनि भारतमा झैँ सम्मान पाउन सकेका छैनन् अझै सम्म आफ्नै देशमा । श्रृंखलाका आमा बाबुको पहुच थियो छोरी भेट्न चीनसम्म पुगे र हौसला बढाउने भरपुर प्रयास गरे । तर सामान्य पारिवारिक पृष्ठभूमिका आयुष र प्रितमको भाग्य कहाँ त्यस्तो हुने । भारतसम्म पुगेर समर्थन गर्ने र जित्नका लागि हौसला दिने अवस्था पनि असम्भव जस्तै नै छ ।
अगिल्लो एपिसोडमा प्रितमले उत्कृष्ट प्रस्तुती दिएर १०० मा १०० प्रतिशत ल्याएका छन् भने उनले जज, जुरी मेम्बर र टोटल धमाल फिल्मका युनिट सम्पुर्णबाट स्ट्याण्डिङ ओभिएसन समेत पाएका थिए । यस किसिमका प्रतिभाशाली व्यक्तिको खोजि र सम्मानमा कन्जुस्याई किन र ?
 

प्रतिक्रिया दिनुहोस