प्रदीप र जसिताले पोखरामा मनाए होली

बुधबार, ०६ चैत्र २०७५, १६ : ५२
प्रदीप र जसिताले पोखरामा मनाए होली

काठमाडौं । यही चैत २२ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘लभ स्टेशन’ टिमले पोखरा पुगेर होली मनाएको छ । 
चलचित्रका नायक प्रदीप खड्का र नायिका जसिता गुरुङले एक–अर्कालाई रंग र अविर दलेर होली पर्वको शुभकामना आदानप्रदान गरेका छन् । फिल्मका निर्माता गोविन्द शाहीले पनि आफ्ना नायक–नायिकालाई रंग दलेर होली मनाए । 
मंगलबार पोखरा पुगेको ‘लभ स्टेशन’ टिम बुधबार दिउँसो पोखरा लेकसाइडमा कान्तिपुर मिडिया गु्ररुपले आयोजना गर्ने होली हंगामा कार्यक्रममा सहभागी हुँदैछ । 
बुधबार बिहानै तालबहारी मन्दिर दर्शन गरेका प्रदीपले पोखराका दर्शकको माया सधैँ आफूलाई रहने विश्वास राखे । ‘यसबर्ष पोखराका दर्शकसँग होली मनाउने अवसर मिल्यो खुसी लागेको छ’, प्रदीपले भने । 
नायिका जसिताका लागि भने यस वर्षको होली विषेश छ । किनकि, उनी १३ वर्षपछि आफ्नो जन्मथलो पोखरामा होली मनाउँदैछिन् । ‘म पोखरामै जन्मिएकी हुँ, त्यसैले पनि पोखरासँग आत्मिय सम्बन्ध छ, आज होली पोखरामै खेल्न पाइयो निकै खुसी छु’, जसिताले भनिन् । यस्तै, निर्माता शाहीले पोखरा माया गर्नेहरुको स्टेशन भएका कारण पोखरेली दर्शकलाई ’लभ स्टेशन’ मनपर्ने बताए । 
उज्जवल घिमिरे निर्देशित यो फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्लेलगायतको अभिनय छ । आलोक शुक्लाको छायांकन रहेको फिल्ममा शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । यसमा अर्जुन जिसी र लोकेश बज्राचार्यको सम्पादन छ ।
 

प्रतिक्रिया दिनुहोस