नेपाली फिल्मका लोकप्रिय पाँच होली गीत (भिडियो)

बुधबार, ०६ चैत्र २०७५, १४ : ११
नेपाली फिल्मका लोकप्रिय पाँच होली गीत (भिडियो)

काठमाडौं । फागुन शुल्क पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व बुधबार काठमाडौं उपत्यकालगायतका पहाडी जिल्लाहरुमा मनाइँदैछ । विभिन्न रंग तथा पानी खेलेर फागू मनाउने चलन छ । वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई विदाई गर्ने यो पर्वमा गाइने होली गीतमा युवायुवती खुलेर हास्ने र रंग छ्यापाछ्याप गरेर खुसी साटासाट गर्ने गर्दछन् । 
 होलीको गीतबाट रंगहरुको पर्व फागू पूर्णिमा लगभग असम्भव छ । होलीको गीतबाट पर्वमा झनै डबल मज्जा आउँछ । नेपाली फिल्ममा विभिन्न कालखण्डमा केही गीत फिल्मांकन गरिएको छ, जुन होलीमा आधारित छ । फिल्ममा होली पर्व र मस्ती देखाउने चलन नयाँ होइन निकै पुरानो हो । यो प्याकेजमा हामीले होलीको अवसरमा नेपाली फिल्ममा समावेश होलीका लोकप्रिय पाँच गीत प्रस्तुत गरेका छौं । 
 

१. बसन्ती: फागू हो फागू हो

 

बरिष्ठ अभिनेता तथा निर्देशक नीर शाह निर्देशित फिल्म बसन्तीमा समावेश फागू हो फागू हो बोलको होली गीत दशकपछि पनि उतिक्कै लोकप्रिय छ । हरेक वर्ष होलीको समयमा यो गीत निकै घन्किने गरेको छ । गीतको शब्द नीर शाह आफैंले लेखेका हुन् भने संगीत शम्भुजित बाँस्कोटाले गरेका छन् । निरुता सिंह, करिश्मा मानन्धरलगायतका कलाकारहरु गीतमा फिचर्ड छन् ।

२. बटरफ्लाईः होली रे 

गत वर्ष प्रदर्शनमा आएको फिल्म बटरफ्लाईमा समावेश होली रे गीत पनि होलीको रमझममा अत्याधिक बज्ने गीतमा पर्दछ । अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारी फिचर्ड गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीको स्वर छ । प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा विकास चौधरीको संगीत छ । फिल्मका निर्देशक ओम प्रतिक हुन् । 

 

३. गाजलुः रंग रंगा

अभिनेता अनमोल केसी अभिनीत फिल्म गाजलुमा पनि एक होली गीत समावेश छ । हेमराज विसी निर्देशित यस फिल्मको रंग रंगा गीत होलीको दिन राम्रै धन्किने गरेको छ । जैन जेको शब्द तथा संगीत रहेको गीतमा शिवानी मोक्तानको स्वर छ । गीतको भिडियोमा फिल्मका लिड कलाकारहरु अनमोलसँगै गौरव पहारी, मेनुका प्रधान, सलोन बस्नेत, सृष्टि श्रेष्ठलगायत फिचर्ड छन् । 

 

४. संरक्षणः होरीमे गोरी

पुर्णेन्द्र झा निर्देशित फिल्म संरक्षणमा समावेश होरीमे गोरी बोलको होली गीत तराई क्षेत्रमा होलीको बेला निकै बज्ने गीत मध्येको एक हो । किनकि, गीतको शब्द भोजपुरीमा छ । तर, फिल्म भने नेपाली भाषामा निर्माण भएको थियो । गीतमा नेहा प्रियादर्सन र प्रवेश मल्लिकको आवाज, धिरेन्द्र प्रेमर्षीको शब्द र संगीत प्रवेश मल्लिकको रहेको छ । सौगात मल्ल र अशिष्मा नकर्मी गीतमा फिचर्ड छन् । 

५. फागुः आउ न आउ खेलौँ होली

फिल्म फागुमा समावेश होली गीत आउ न आउ खेलौँमा मिना निरौला, मनोज महत्तो, रञ्जित कुमार सहानीको स्वर छ । दयाराम पाण्डेको शब्द रचना रहेको गीतमा बसन्त सापकोटाको संगीत छ । गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरु शिल्पा पोखरेल र सुवास पराजुली प्रस्तुत छन् । फिल्मलाई सम्झना उप्रेती रौनियारले निर्देशन गरेकी हुन् । 

प्रतिक्रिया दिनुहोस