भन्सालीको ‘इन्शाअल्लाह’ मा सलमान र आलिया

एजेन्सी

मंगलबार, ०५ चैत्र २०७५, १४ : २८
भन्सालीको ‘इन्शाअल्लाह’ मा सलमान र आलिया

‘हम दिल दे चुके सनम’ को २० वर्षपछि भेट्रान निर्देशक सञ्जय लीला भन्साली र बलिउड सुपरस्टार सलमान खानबीच टिमअप भएको छ । यो भन्सालीको ड्रिम प्रोजेक्ट बताइएको छ । केही दिनदेखि फिल्मको नाम र लिड अभिनेत्रीलाई लिएर कयौं चर्चा चलिरहेको थियो । अब आधाकारिक रुपमा भन्सालीले सलमानको अपोजिटमा अभिनेत्री आलिया भट्टलाई कन्फर्म गरेका छन् । 
 
फिल्मकोे टाइटल पनि घोषणा गरिएको छ । फिल्मको नाम ‘इन्शाअल्लाह’ जुराइएको छ । यो सलमान र आलियाको पहिलो फिल्म हुनेछ । दुबैले ट्विटरमार्फत् साथमा फिल्म गर्न लागेको जानकारी दिएका छन् । सञ्जयसँग पनि आलियाले पहिलो पटक काम गर्न लागेकी हुन् । यो एक लभस्टोरी बेस्ड फिल्म हुने बताइएको छ । आलियाले भन्सालीसँग काम गर्न निकै उत्साहित रहेको बताएकी छन् । 
 
उनले लेखेकी छन्, ‘उहाँले मलाई भन्नुभएको थियो ‘खुल्ला आँखाले सपना देख’ र मैले गरेँ । सञ्जय सर र सलमान खानको साथ म्याजिकल छ । ‘इन्शाअल्लाह’ को यो सुन्दर यात्रामा उहाँहरुको साथमा जोडिन मलाई निकै प्रतिक्षा छ ।’ दोस्रो ट्विटमा उनले लेखेकी छन्, ‘म ९ वर्षको थिएँ जब म पहिलो पटक सञ्जय लीला भन्सालीको अफिस गएको थिएँ । निकै नर्भस थिएँ । उहाँसँग काम गर्न मैले प्रार्थना गरेको थिएँ । र, लामो प्रतिक्षा गरेको थिएँ ।’ 
 
यो फिल्ममा फिमेल लिड रोलमा प्रियंका चोपड़ा, दीपिका पादुकोण, कटरीना कैफ, जाह्नवी कपूरको नाम पनि चर्र्र्चामा थियो । अभिनेत्री ऐश्वर्या रायलाई पनि भन्सालीले फिल्म अफर रहेको बताइएकोे थियो । २० वर्षपछि सलमान र भन्सालीको टिमअप र पहिलो पटक सलमान र आलियाले सँगै काम गर्ने भएपछि निर्माण नहुँदै ‘इन्शाअल्लाह’ दर्शकमाझ प्रतिक्षीत फिल्म बनेको छ । 

प्रतिक्रिया दिनुहोस