‘बुलबुल’ नेपाल–अमेरिका फिल्म फेस्टिभलमा

मंगलबार, ०५ चैत्र २०७५, १० : ५०
‘बुलबुल’ नेपाल–अमेरिका फिल्म फेस्टिभलमा

काठमाडौं  ।  नेपाल–अमेरिका फिल्म महोत्सवमा नेपाली फिल्म ‘बुलबुल’ छनोट भएको छ। महोत्सवको ओपनिङ फिल्मको रूपमा ‘बुलबुल’ प्रदर्शन हुँदैछ। महोत्सवका निर्देशक पूर्णसिंह बराइलीका अनुसार ‘बुलबुल’ पहिलो फिल्मको रूपमा समावेश गरेको जानकारी गराए। ‘सन् २०१९ को जुन २८ देखि ३० सम्म मेरिल्याण्डमा आयोजना हुने महोत्सवमा समावेश हुने ‘बुलबुल’ पहिलो फिल्म भएको छ। कथावस्तु र प्रस्तुतिका आधारमा यो फिल्म छनोट गरेका हौं,’उनले भने । यो महोत्सवको तेस्रो संस्करण हो । गत वर्ष निर्देशक नवीन सुब्बाले निर्देशन गरेको फिल्म ‘गुडबाई काठमाडौं’ ओपनिङ फिल्मका रूपमा प्रदर्शन भएको थियो।

गत महिना महोत्सवको आयोजकले महोत्सवका लागि आवेदन खुला गरिएको थियो । महोत्सवमा फिल्म, सर्ट फिल्म, डकुमेन्ट्री र एनिमेसन लगायतका फिल्महरु प्रदर्शन हुनेछन् । आयोजक नेपाल–अमेरिका फिल्म सोसाइटीका अनुसार सन् २०१७ पछि निर्माण भएका नेपालसहित अमेरिका र दक्षिण एसियामा बनेका फिल्महरु महोत्सवमा सहभागि हुन सक्नेछन् । महोत्सव अवधिभर फिल्मका विभिन्न विषयहरुमा छलफल र कार्यशाला हुनेछन्। 

‘महोत्सवमा नेपाल बाहेक अमेरिका, दक्षिण एसियाका फिल्महरु सहभागी हुन सक्नेछन् । महोत्सव अवधिभर नेपाल र अन्तर्राष्ट्रिय फिल्महरु प्रदर्शन हुनेछन्,’महोत्सवका निर्देशक बराइलीले भने,‘महोत्सवमा नेपाली फिल्म र अमेरिकी नेपाली डायस्फोरासम्बन्धी छलफलसमेत हुनेछ।’ 

प्रतिक्रिया दिनुहोस