हिरोइनले कमाउँदा मोडललाई तनाव

सोमबार, ०४ चैत्र २०७५, २१ : २३
हिरोइनले कमाउँदा मोडललाई तनाव

छिल्लो समय लोकदोहोरी क्षेत्रकी एकदमै व्यस्त मोडलमा गनिन्छिन्, करिश्मा ढकाल । केही दिनअघि उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस लेख्दै म्युजिक भिडियोका निर्माताप्रति आक्रोश पोखिन्, ‘फिल्मका हिरोइनलाई एक लाख दिन तयार हुने, हामीलाई २० हजार दिन पनि नाक खुम्च्याउने ?’ 

उनको स्टाटसको आशय थियो, दोहोरी क्षेत्रबाटै दोहोरी कलाकार हेपिएका छन् । ‘परिस्थिति यस्तो थियो कि कुनै दिन लोकदोहोरी कलाकार भनेर हेपिने गरेका थियौँ,’ उनले स्टाटसमा गुनासो गर्दै लेखेकी छन्, ‘अझ नयाँ कलाकारको त कुरै छोडौं । हाम्रा अग्रज कलाकारहरुबाटै नयाँ कलाकार  हेपिएको समाचार पढ्नु परेको थियो । तर अहिले पारिश्रमिकमा पनि हेपिनु परेको छ ।

लोक कलाकारको सहनशीलताको कुनै सीमा छैन । उनीहरुबाट हेपिएर नै भए पनि निरन्तर क्रियाशील रहिरह्यौ तर प्रवृत्ति कस्तो छ भने हेपिने समूहका कलाकार दुई हात जोडेर लम्पसार पर्दै तिनै ‘हेप्ने कलाकार’लाई दोहोरी गीतको भिडियोमा अनुबन्धित गर्न तँछाडमछाड गर्दैछन् । के उहाँहरुलाई आज आत्मसन्तुष्टि मिल्ला ?’ 

केही हप्ताअघि शुक्रवारले दोहोरी र दोहोरीका कलाकारलाई फिल्मकर्मीले हेला गर्ने गरेको विषय उठान गरेको थियो । विषय उठान भएको केही साता नबित्दै मोडल ढकालको यस्तो टिप्पणी आएको हो । ढकालले दोहोरीलाई हेप्ने कलाकारलाई नै ठूलो रकम भुक्तानी गर्दा दोहोरीकै विकासमा संघर्षरत कलाकारको अपमान भएको टिप्पणी गरेकी छन् । ‘हेपिनेले हेप्नेलाई ठूलो रकम भुक्तानी गरेर सन्तुष्ट भइरहँदा आफ्ना लोककलाकार र संस्कृति जोगाउन अहोरात्र खटिने कलाकारको पनि संरक्षण हुनुपर्छ भनेर मनन् गर्ने बेला भयो कि ?’
उनले मलामी पनि स्वतस्फूर्त मात्रै आउँछन् भन्दै किनिएका मलामीलाई मलामी भन्न नहुने टिप्पणी गरेकी छन् । शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस