विप्लव समुहले भन्यो केपी–प्रचण्डको हत्या गर्ने कुनै योजना छैन

पार्टीमाथि दमन र षड्यन्त्र गर्न झुटो प्रचार गरियो

सोमबार, ०४ चैत्र २०७५, १९ : २५
विप्लव समुहले भन्यो केपी–प्रचण्डको हत्या गर्ने कुनै योजना छैन

काठमाडौँ । विप्लव नेतृत्वको नेकपाले प्रधानमन्त्री केपी शर्मा ओली र (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हत्या गर्ने योजना बनाएको कुरा झुटो भएको बताएको छ । आफ्नो पार्टीले व्यक्ति हत्या गर्ने मान्छे खटाएको भन्दै गरिएको प्रचार झुटो भएको स्पष्ट पारेको छ । 

केही दिनदेखि प्रधानमन्त्री ओली, (नेकपा)का अध्यक्ष प्रचण्डको हत्या गर्ने योजना बनाइएको भनेर गरिएको प्रचारप्रति खेद व्यक्त गरेको छ । नेकपाले त्यस्तो कुनै योजना नभएको दाबी गरेको छ । केही दिन पहिले प्रचण्डले एक सार्वजनिक कार्यक्रममा आफ्नो हत्या गर्न विप्लवले मान्छे खटाएको बताएका थिए । 

नेकपाको कार्यालयले आफ्नो पार्टीमाथि दमन गर्न षड्यन्त्रस्वप उक्त प्रचार गरिएको बताएको छ । कार्यालयबाट प्राप्त जानकारीअनुसार आफ्नो पार्टीले अहिलेसम्म कुनै व्यक्तिको पनि हत्या गर्ने योजना बनाएको छैन । सरकार र आसेपासेहरुले बदनाम गर्ने उद्देश्यले उक्त अफवाह फैलाएको नेकपाले आरोप लगाएको छ । 

“पछिल्लो क्रममा नेकपालाई दमन गर्ने षड्यन्त्रबमोजिम यस्ता तथ्यहीन, भ्रामक कुराहरू आइरहेका छन् । यो कुरामा कुरामा कत्ति पनि सत्यता रहेको छैन । जनता र राष्ट्रका पक्षमा सङ्घर्ष गर्दै आएको एउटा क्रान्तिकारी पार्टीलाई बदनाम गर्न अनावश्यक लाञ्छना लगाएर धमिलो पानीमा माछा मार्ने योजना यो सरकार र उसका आसेपासेले अफवाह फैलाएका हुन” सफल खबरलाई प्राप्त जानकारीमा भनिएको छ । 

उक्त जानकारी अगाडि भनिएको छ, “नेकपाले देशलाई युद्धमा धकेलेर जनतामा त्रास फैलाई तर मार्ने देशीविदेशी प्रतिक्रियावादीको घिनलाग्दो खेल सुरु भएको छ । यसलाई सबै देशभक्त, सच्चा लोकतन्त्रवादीहरूले मौकामा भण्डाफोर गर्नु पर्दछ ।”

नेकपाले कुनै बेला प्रचण्डले व्यक्ति हत्याको कुरा गर्ने गरेको बताएको छ । योजनाबद्ध रुपमा झुटो समाचार बनाइएको बताउँदै नेकपाले भनेको छ, “बरु प्रचण्ड नै यसरी व्यक्तिहत्याका कुरा गर्दथे । अहिले देश र जनताप्रति गरेको गद्दारी र यो सरकारप्रति जनताको दिनानुदिनको आक्रोशलाई कम गरी लुटको स्वर्ग बचाइ राख्न योजनाबद्ध यस्ता समाचारहरू बनाइएका छन् ।”

केही संचारमाध्यमहरुले प्रकाण्डको डाइरीको हवाला दिँदै प्रधानमन्त्री ओली, प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको हत्या गर्ने योजना बनाएको भन्दै समाचार प्रकाशित गरेका थिए । प्रधानमन्त्री ओलीले पनि आफूसहितका नेताहरुको हत्या गर्ने योजना बनाएकोले प्रतिबन्ध लगाएको बताउँदै आएका छन् ।
 

प्रतिक्रिया दिनुहोस